"यस्तो बेला गोरखापत्र र द राइजिङ नेपालले सत्य सम्प्रेषण गर्नुपर्छ"

भउचप्रसाद यादव

काठमाडौँ, पुस १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मूलधारका सञ्चारमाध्यमले सत्यतथ्य तोडमोड गरी समाचार सामग्री सम्प्रेषण

गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

सत्तारूढ नेकपा स्थायी कमिटीको जारी बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे भएको छलफल र हालै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)बारे सम्प्रेषित समाचार तथ्यमा आधारित नरहेको उहाँले बताउनुभयो । एमसीसी नेपालको विकासमा सहयोग गर्ने अमेरिकी परियोजना हो, जसले अन्तरदेशीय प्रसारण लाइन र सडक स्तरोन्नति दुई क्षेत्रमा काम गरिरहेको छ । 

नेकपा स्थायी कमिटीको सोमबारको बैठकमा एमसीसीका सम्बन्धमा भएको छलफलबारे विभिन्न सञ्चार माध्यममा आएको समाचार र समाचारको शीर्षकले जनतामा भ्रम सिर्जना गरेको उहाँले बताउनुभयो ।

“एमसीसीको सम्बन्ध भारतसँग पनि जोडिएको छ, यस परियोजनाको मुख्य उद्देश्य नै नेपाल र भारतमा उत्पादित विद्युत् एकअर्काबीच आदानप्रदान गर्नु हो,” उहाँले भन्नुभयो, “त्यसका लागि भारत सरकारसँग छलफल गर्ने र सहमति लिने कुरा स्वाभाविक हो ।”

नेकपा बैठकमा भएका एमसीसी लगायतका विषयलाई प्रवाह गर्नेबारेमा मिडिया चुकेको, ‘हेडलाइनकारिता’ गरेको र तथ्य लुकाएको भन्दै यस्तो बेला गोरखापत्र र द राइजिङ नेपालले सत्य सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । “नेकपाको बैठकमा यदि एमसीसीमै विवाद भएको हो भने मिडियाले यसबारे तथ्य पस्किनुपर्दथ्यो तर त्यस्तो गरिएन,” उहाँले भन्नुभयो ।

गोरखापत्र संस्थानबाट प्रकाशित ‘द राइजिङ नेपाल’ले ५४ वर्ष पूरा गरेका अवसरमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीको स्थायी कमिटी सदस्यले बैठकमा आफ्नो विचार राख्नु र एउटा मन्त्रीले मन्त्रिपरिषद् बैठकमा बोल्नु फरक विषय रहेको स्पष्ट पार्नुभयो । विसं २०२२ पुस १ गतेदेखि अङ्ग्रेजी भाषाको अखबारका रूपमा यसको प्रकाशन सुरु भएको थियो । गोरखापत्र संस्थानद्वारा प्रकाशित सो अखबारको संस्थापक सम्पादकका रूपमा वरुणशमशेर राणा हुनुहुन्थ्यो ।

“मन्त्रीद्वारा त्यसको विरोध थियो वा कुनै राजनीतिक पार्टीको स्थायी कमिटीको मानिसद्वारा पार्टीको बैठकमा राखेको कुराको फरकपन थियो ?” उहाँले भन्नुभयो, “मेरो बुझाइमा यदि क्याबिनेटमा त्यो विरोध हुन्छ भने त्यो एउटा मन्त्रीद्वारा विरोध हुन्छ, होइन भने स्थायी कमिटीको सदस्यद्वारा असन्तुष्टि वा विरोध भएको हुन्छ ।” हामीले प्रस्तुत गरिने विषयवस्तुले पनि लोकप्रियता वा जिम्मेवारी बोध निर्धारण गर्ने गरेको उहाँले बताउनुभयो ।

नेपालले अनुचित ढङ्गले ‘एमसीसी’ स्वीकार्न नसक्ने मन्त्री बाँस्कोटाले स्पष्ट पार्नुभयो । अमेरिकाले आफ्नो मापदण्डअनुसार प्रजातन्त्र, सुशासन र मानव अधिकार भएको मुलुकमा ‘एमसीसी’ परियोजनाअन्तर्गत सहयोग गर्ने गर्दछन् । नेपालले यी मापदण्ड पूरा गरेकै कारण अमेरिकी यो सहयोगभित्र परेको हो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “यदि ‘एमसीसी’ परियोजना लागू गर्न सकिएन भने अब नेपालमा लोकतन्त्र छैन, नेपालमा सुशासन रहेन, मानव अधिकार रहेन भनेर ठूलो कोकोहोलो मचाइन्छ, यही मिडिया बर्बराउने छन् ।” तथ्यमा नउभिने र पूर्वदृष्टिकोणबाट अभिप्रेरित भएका ‘सोकल्ड’ बुद्धिजीवी वा लेखकहरू यसमा झुम्मिने गर्दछन् ।

‘साग’बारे पूर्वाग्रहित पत्रकारिता

केही मिडियाले नेपालमा हालै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) ‘सुपर फ्लप’ भो भन्दै पूर्वाग्रहित पत्रकारिता गरेको बताउँदै मन्त्री बाँस्कोटाले ती मिडियाले यो सरकार मन पराउँदैनथ्यो वा ‘साग’मा नेपालले हासिल गरेको सफलता चाहँदैनथ्यो भन्नुभयो । १३औँ एसियाली खेलकुदमा नेपालले पहिलोपटक ५१ वटा स्वर्ण पदक प्राप्त गर्दै दोस्रो स्थान ल्याउन सफल भएको थियो ।

‘नेसनल प्राइड’का रूपमा रहेको खेलकुदमा समेत विभाजित अहिलेको हाम्रो पत्रकारिताको कुन विषयलाई ‘मेन स्ट्रिम जर्नालिज्म’ भन्ने प्रश्न गर्दै उहाँले अहिलेको ‘मेन स्ट्रिम जर्नालिज्म’ले न पाठकलाई सत्यतथ्य बताउन सक्दछ न आफ्नो गल्ती स्वीकार्न सक्दछ, यो तहबाट हामी मुक्त हुनुपर्दछ भन्नुभयो ।

मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध, सन्धि सम्झौता र सम्पूर्ण राष्ट्रिय हितका लागिसमेत मिडियाको महìवपूर्ण भूमिका हुने गरेको बताउँदै उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा समेत मिडिया विभाजित देखिएकोमा चिन्ता व्यक्त गर्नुभयो । लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा सरकारले केही पनि गर्न सकेन भनेर ‘मेन स्ट्रिम’का मिडियाले तीन–तीनपटक लेखेको बताउँदै उहाँले त्यस्ता मिडियाले सरकारले केही पनि गर्न सकेन भनेर स्थापित गर्न खोजेको आरोप लगाउनुभयो ।

पछिल्ला समय गोरखापत्र दैनिकलगायत संस्थानका अन्य प्रकाशनको समाचार सामग्री पठनीय र स्तरीय बन्दै गएको बताउँदै गोरखापत्रका प्रकाशनहरूको समाचार सामग्रीलाई थप ओजपूर्ण बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले समाचारको विषयवस्तुलाई पठनीय बनाउने तथा पाठ्य सामग्रीमा सुधार ल्याउने प्रयास निरन्तर भइरहेको बताउनुभयो ।

“कुनै बेला ‘गोरखापत्र’को काम सरकारको गलत काम छोप्नु थियो होला तर अहिले हामीले त्यस्तो प्रवृत्तिमा परिवर्तन गरेका छौँ” भन्दै उहाँले आलोचनात्मक चेत हामीले गुमाएका छैनौँ, आमजनताप्रति वफादार हुने गरी अगाडि बढेका छौँ, यो कुनै दलको, सरकारको होइन, जनताको पत्रिका हो भन्नुभयो ।गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक गोपाल खनालले गोरखापत्रमा काम गरेको दस महिनाको अवधिमा आफूले ठूलो सम्पत्ति आर्जन गरेकोजस्तो अनुभव भइरहेको बताउँदै यस अवधिमा देशप्रति वफादार रही पत्रकारिता गरेको स्पष्ट पार्नुभयो ।

गोरखापत्र दैनिक र द राइजिङ नेपाललगायत संस्थानका प्रकाशनहरूले राज्यले गर्ने कामलाई प्रवाह गर्नुपर्ने बताउँदै उहाँले गोरखापत्र वा द राइजिङ नेपाल सरकारी सञ्चारमाध्यम नभई राष्ट्रका मुखपत्र रहेको धारणा व्यक्त गर्नुभयो । सो अवसरमा ‘द राइजिङ नेपाल’को विकासमा योगदान पु¥याउने डा. तारानाथ शर्मा, पी. खरेल, जवाहरकृष्ण मानन्धर, लोकदीप थापा, विजयलाल श्रेष्ठ, आदित्यमान श्रेष्ठ, प्राध्यापक देवराज दाहाल लगायतलाई सम्मान गरिएको थियो ।

त्यसैगरी सो अवसरमा आयोजित ‘द राइजिङ नेपाल देन, नाउ एन्ड नेक्स्ट’ विषयक अन्तक्र्रियामा प्राध्यापक देवराज दाहालले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ, द राइजिङ नेपालका प्रधान सम्पादक जगदीश पोखरेलका साथै पूर्वसम्पादकहरू र लेखकहरूले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।