‘समृद्ध देश निर्माण अभियान तीव्र’
गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १५ गते
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समृद्ध देश बनाउने अभियान तीव्र रूपमा अगाडि बढिरहेको बताउनुभएको छ । उहाँले संविधानमा व्यवस्था गरिएको हक, नागरिकका अधिकार, लैङ्गिक विभेद, जातीय विभेद, छुवाछुतसम्बन्धी कानुन कार्यान्वयन गर्दै जाँदा जनताको अवस्था परिवर्तन गर्न सक्नेमा आशावादी रहेको बताउनुभएको हो ।
गोरखापत्र संस्थान फोटोग्राफी शाखाले मङ्गलबार आयोजना गरेको फोटो पुस्तक ‘परिवर्तित नेपाल’ को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवस्था परिवर्तनको आन्दोलनमा योगदान गर्नुहुने सबैप्रति सम्मान पनि व्यक्त गर्नुभयो । गणतान्त्रिक व्यवस्था संस्थागत गर्दै थप उपलब्धिका लागि लाग्नुपर्ने भन्दै उहाँले देश र जनताको हक अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रमा सबैले हातेमालो गरी सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षलाई व्यवहारमा ल्याउनु पर्छ । साथै शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुङ्गोमा पुयाएर नागरिकमा नयाँ आशा र विश्वासको प्रसार गरिने छ ।”
सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले फोटो पत्रकारिता विधा एउटा उत्कृष्ट विधा भएको बताउनुभयो । फोटो पत्रकारिताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने भूमिका निर्वाह गर्ने भन्दै उहाँले पत्रकारले खिच्ने तस्बिरले समाज रूपान्तरणमा ठुलो प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो । तस्बिरले समाजको चित्र उतार्ने काम गर्ने भएकाले नकारात्मक सन्देश जाने तस्बिर प्रवाह गर्न नहुने तर्क उहाँले गर्नुभयो । आफूले गीत रचना गर्ने जानकारी दिँदै उहाँले कार्यक्रममा ‘गणतन्त्र जिन्दावाद’ बोलको गीत पनि सुनाउनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले ‘परिवर्तित नेपाल’ पुस्तकले नेपाली समाजको चित्र र चरित्र उतारेको धारणा व्यक्त गर्नुभयो । उहाँले गोरखापत्र संस्थानको प्रकाशन देशको हरेक घटनाको साक्षी रहेको जानकारी दिँदै गोरखापत्रले नेपाली इतिहास संरक्षणको काम गर्दै आएको बताउनुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकारितामा तस्बिरको विशिष्ट महत्त्व रहेको बताउनुभयो । उहाँले गोरखापत्रको प्रकाशन सबै नेपाली जनताको सम्पत्ति भएको र गोरखापत्रका प्रकाशनलाई अभिलेखीकरण गर्ने काम निरन्तर भइरहेको जानकारी दिनुभयो । गोरखापत्रले केन्द्रीय कार्यालयसँगै पोखरा र धनगढीमा पनि फोटो प्रदर्शनीको काम गरिरहेको र धनगढीमा जेठ १५ देखि १७ गतेसम्म प्रदर्शनी हुने उहाँले बताउनुभयो ।
गोरखापत्रका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले पुस्तकले नेपालको चित्र उतार्ने काम गरेको चर्चा गर्दै पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा फोटोग्राफी विधा र यसको महत्त्वबारे बताउनुभएको थियो ।
यसै गरी फोटोग्राफी शाखा प्रमुख रामप्रसाद हुमागाईंले २०३० देखि २०६० सालसम्मका तस्बिर पुस्तकमा समेटिएको जानकारी दिनुभयो । उहाँले २०५० सालभन्दा अगाडिका तस्बिर गोरखापत्रसँग मात्र भएकाले यसलाई महत्तका साथ हेरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा अग्रज फोटो पत्रकारहरू विनोद जोशी, देवेन्द्रमान सिंह, प्रकाश माथेमा, राजेन्द्र चित्रकार, नरेश श्रेष्ठ, दीपेन्द्र वज्राचार्यले अनुभव सुनाउँदै आफूले गरेको फोटो पत्रकारिताबारे चर्चा गर्नुभयो । उहाँहरूले पहिले कसरी फोटो छाप्ने र कत्तिको कठिनाइ थियो भन्ने विषयबारे
जानकारी दिनुभयो ।