नेपाली पत्रकारिताको अग्रणी प्रकाशन गोरखापत्र दैनिक १२४ औँ वर्षमा प्रवेश गरेको छ । गोरखापत्र प्रकाशनको १२४ औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यव्रmमका वक्ताहरूले सरकार र जनताबिचको पुलको भूमिका निर्वाह गर्ने अभियानमा गोरखापत्र र सहप्रकाशनहरू मानकका रूपमा स्थापित भएको बताउनुभएको छ । साथै गोरखापत्रलाई समय अनुसार प्रविधिमूलक बनाउनुपर्नेमा पनि उहाँहरूले जोड दिनुभयो ।
समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र नेपालको राजनीतिको विभिन्न कालखण्डको प्रत्यक्षदर्शी भएको सम्झना गर्नुभयो । लामो समयदेखि ‘पत्रिका भन्नु नै गोरखापत्र’ भनेर हेर्दै आएको सम्झना गर्दै मन्त्री शर्माले भन्नुभयो, “गोरखापत्रको विरासत सबैलाई थाहा छ । गोरखापत्र पत्रिका प्रकाशन भएर पत्रकारितामा जग हालेको दिन हो । आजको दिनमा हामी लोकतन्त्र, गणतन्त्र र समावेशिताको युगमा छौँ । गोरखापत्रले सरकारको आधिकारिक सूचनासँगै सरकार र जनताबिचको पुलका रूपमा काम गर्नु पर्छ ।”
नेपाली भाषा र साहित्यको संरक्षण र संवर्धनमा यसको भूमिका महत्त्वपूर्ण भएको धारणा व्यक्त गर्दै उहाँले गोरखापत्रले समय अनुकूल पाठक बढाउन सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आम मानिसमा विस्तार भएको सूचनाको पहुँच अनुसार गोरखापत्रले पाठक बढाउन सक्नु पर्छ । गोरखापत्रको इतिहास जस्तै वर्तमान र भविष्यलाई गर्विलो बनाउनु जरुरी छ । संस्थान आर्थिक र जनशक्ति व्यवस्थापनमा पनि सव्रिmय हुनुपर्ने छ ।”
गोरखापत्रलाई व्यवस्थित बनाउन र अगुवा बनाउन यसका गुणका आधारमा स्थापित गर्न नयाँ ढङ्गको जनशक्ति आवश्यक भएकोमा उहाँले जोड दिनुभयो । गोरखापत्रको संरचनात्मक अवस्था, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको लेखाजोखा गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।
संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र एउटा अड्डा मात्र नभएर नेपाली पत्रकारिताको गौरवशाली संस्था र पत्रकारिताको पाठशाला पनि हो भन्नुभयो ।  “हामीले राजनीतिक परिवर्तन र सामाजिक इतिहासलाई हेर्दा गोरखापत्र जीवन्त साक्षीका रूपमा देख्न सक्छौँ । इतिहासका उकाली र ओराली यो संस्थाले भोगेको छ । हामीले समय अनुसार परिमार्जन गर्नुपर्ने आवश्यकता छ,” अध्यक्ष सुवेदीले भन्नुभयो ।
उहाँले गोरखापत्रका राज्य धर्म, नागरिक धर्म र बजार धर्म गरेर तीन वटा धर्म रहेको चर्चा गर्दै राज्य धर्म गोरखापत्रको पहिलो धर्म भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सरकारको प्रतिपक्षको जिम्मेवारीमा सचेत भएको र यसलाई गम्भीरतापूर्वक निर्वाह गरेका छौँ ।”
दोस्रो धर्म नागरिक भएको र नागरिकलाई जवाफ दिनुपर्ने अवस्थामा गोरखापत्र प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नागरिकप्रतिको जवाफदेहितालाई सदैव ख्याल गरेको उहाँले बताउनुभयो । अध्यक्ष सुवेदीले बजार धर्म अनुसार गोरखापत्र र यसका अन्य प्रकाशन बजारमा टिक्न र बिक्न सक्ने ढङ्गले योजना बनाएर अगाडि बढेको जानकारी दिनुभयो ।
उहाँले गोरखापत्रलाई नयाँ समय अनुसार प्रविधिमूलक बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । “१२४ वर्षको इतिहास बोकेर भूगोलपार्कको जीर्ण भवनमा कोचिएर कहिलेसम्म हाम्रा सहकर्मी बस्नुपर्ने हो ?” कार्यक्रममा उपस्थित सञ्चारमन्त्री र सचिवसमक्ष प्रश्न गर्दै अध्यक्ष सुवेदीले भवन निर्माणका लागि बजेट प्राथमिकताका साथ विनियोजनका लागि पहल गरिदिन अनुरोध गर्नुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र सबैको हो भन्ने अनुभूति गराउने जिम्मेवारी संस्थानको रहेको बताउनुभयो । गोरखापत्र समाजको ऐना मात्र नभएर हरेक नेपालीको जीवनसँग जोडिएको धारणा व्यक्त गर्दै उहाँले लोक सेवाको तयारीदेखि एसएलसीको नतिजासम्ममा गोरखापत्र जोडिएको बताउनुभयो । गोरखापत्र समय अनुकूल हुनुपर्ने अभियानमा लागेको जानकारी दिँदै उहाँले जवाफदेही, विश्वसनीय र सामाजिक दायित्वसहितको माध्यम गोरखापत्र र यसका प्रकाशन हुने विश्वास व्यक्त गर्नुभयो ।
गोरखापत्रका प्रधान सम्पादक शिवकुमार भट्टराईले गोरखापत्रले विभिन्न भाषालाई प्राथमिकता दिइराखेकोमा यसलाई अझै बढाउँदै जाने तथा डिजिटलाइजेसनलाई थप प्रभावकारी बनाउने बताउनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले गोरखापत्रमा आलोचनात्मक चेतसहितका समाचार आउन थालेकामा खुसी व्यक्त गर्नुभयो ।