गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २४ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रह्मले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको बताउनुभएको छ ।
उहाँले हिजो राणा र राजाको शासनमा राज्यको इसारामा चल्नुपर्ने बाध्यता बोकेका गोरखापत्रका सञ्चारकर्मी आज लेख्नका लागि स्वतन्त्र रहेको उल्लेख गर्नुभयो । गोरखापत्र प्रकाशनको १२५ औँ
वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६३ औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित विशेष समारोहमा उहाँले त्यस्तो बताउनुभएको हो ।
“राणा र राजतन्त्रकालमा शासकविरोधी कुनै सङ्केतसम्म पनि छाप्न नपाइने स्थिति थियो । अहिले हामी स्वतन्त्र छौँ । अहिले प्रधानमन्त्रीबाट गोरखापत्रलाई कुनै दबाब, निर्देशन, इसारा केही जाँदैन । तपाईंहरू आफ्नो ब्रह्मले देखेको जेसुकै लेख्न स्वतन्त्र हुनुुहुन्छ,” उहाँले भन्नुभयो,
“निरङ्कुशताको तरबारबाट गोरखापत्र सधैँ प्रताडित हुन्थ्यो, अहिले स्वतन्त्र छ ।”
गोरखापत्रले सरकार, देश र जनताप्रतिको बफादारितालाई पालना गर्दै आएको उल्लेख गर्दै उहाँले मुलुकको सभ्यता र संस्कृतिका क्षेत्रका साथै अर्थतन्त्र र नेपाली भाषाको विकासमा गोरखापत्रले महŒवपूर्ण योगदान पुर्‍याएको भन्दै प्रशंसासमेत गर्नुभयो । इतिहासका अनेक घटनाको साक्षीका रूपमा गोरखापत्रले राष्ट्रलाई योगदान गरेको चर्चा गर्दै उहाँले अहिले सरकारले लिइरहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा गोरखापत्रले पहिलो दिनको पहिलो अङ्कको प्रकाशनमै ‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद द:ुखभाग्जन:’ को उद्घोषबाट आरम्भ गरेको स्मरण गर्नुभयो ।
गोरखापत्रले सिङ्गो समाजको साँच्चै सेवा गरेर गुन लगाएको बताउँदै उहाँले अब यसका अगाडि ‘पपुलिस्ट’ प्रवृत्तिका सञ्चार माध्यमसँगको चुनौती सामना गर्नुपर्ने अवस्था रहको बताउनुभयो । उहाँले भन्नुभयो, “जसरी पनि नकारात्मक टिप्पणी गर्ने, कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्रहत्या गर्ने, आज एउटा झुटलाई सही भनेर फैलाउने र भोलि त्यसलाई पुष्टि गर्ने प्रवृत्ति बोकेका सञ्चार माध्यमसँग गोरखापत्रले सामना गर्नुपर्ने छ ।”
उहाँले अगाडि थप्नुभयो, “गोरखापत्रले पत्रकारितामा एउटा मानक तय गरेको छ । यो कमाइको भाँडो होइन, जनतालाई सूचना, मनोरञ्जन दिने र भाषा, कला र संस्कृतिको योगदान गर्ने संस्था हो । भविष्यका लागि आइपर्ने चुनौतीको सामना गर्न यो सक्षम रहोस् ।” अब प्रविधिले फड्को मारेको र डिजिटल युगमा एआईको प्रयोग गरेर छिटो काम गर्न सकिने अवस्था आएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले एकसाथ परिवर्तन नभए पनि गोरखापत्रमा बिस्तारै परिवर्तन भइरहेको बताउनुभयो । १०४ वर्षको उथलपुथल, राजा र राणाको पारिवारिक द्वन्द्व स्वार्थलाई देखेको गोरखापत्रले आजको परिवर्तनलाई अङ्गीकार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भाषाको उचाइ नघटाउन आग्रह
फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले मिडियाले नेपाली भाषाको उचाइ घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । नेपाली भाषामा अनेक सम्मानार्थी शब्द रहेको उल्लेख गर्दै उहाँले अहिलेको मिडियाले तल्लोस्तरको भाषा प्रयोग गर्ने गरेको आरोप लगाउनुभयो । नेपाली भाषा विश्वकै धनी भाषा रहेको उल्लेख गर्दै उहाँले अङ्ग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउन सम्बन्धित सबैसँग आग्रहसमेत गर्नुभयो । उहाँले नेपाली संस्कार र संस्कृति अनुसार सम्मानको भाषा बोल्नुपर्ने भन्दै हजुरबुवा र नातिका लागि एउटै भाषा प्रयोग गर्न नहुने सुझाउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ । मैले राम्रोसँग याद गरेको छैन, गोरखपात्रले ‘राष्ट्रपतिले भन्नुभयो’ भन्छ कि ‘भने’ भन्छ ? नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे, यो नेपाली भाषा होइन ।” प्रधानमन्त्री ओलीले नेपाली भाषामा भएको समृद्धि अरू भाषामा नभएको दाबीसमेत गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले गोरखापत्र दैनिक १२५ औँ वर्ष प्रवेश गरेको अवसरमा प्रकाशित स्मारिका ‘युग साक्षी’ को लोकार्पण गर्नुहुँदै पूर्वप्रधान सम्पादक विजय चालिसेलाई रामचन्द्र–इन्दु गौतम पत्रकारिता पुरस्कारलगायत विभिन्न कर्मचारीलाई पुरस्कृत र सम्मान गर्नुभएको थियो ।
सार्वजनिक सेवा प्रकाशनमा जानुपर्नेमा जोड
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गोरखापत्र संस्थान अब सार्वजनिक सेवा प्रकाशनमा जानुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “गोरखापत्रले सबै किसिमको शासन प्रणाली बेहोरेको छ । अब बेहोर्न कुनै नयाँ शासन प्रणाली छैन । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई जस्तै अब गोरखापत्र पनि सार्वजनिक सेवा
प्रकाशनमा जानु पर्छ ।”
सञ्चारमन्त्री गुरुङले जनताको हकहितलाई सुनिश्चित गर्ने राज्यको दायित्व भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यता बचाउनका लागि गोरखापत्रले महŒवपूर्ण भूमिका
खेल्नुपर्नेमा जोड दिनुभयो ।
संस्थानमा भएका समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “१२५ वर्ष भनेको दुर्लभ अवसर हो । हामीसँग अहिले केही समस्या छन् तर यो वर्षभित्र केही समस्याको
समाधान गर्न सक्छौँ ।”
सञ्चारमन्त्री गुरुङले गोरखापत्रमा भवन र कर्मचारीको बढुवाको सवालको समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गोरखापत्र संस्थानमा भवनको समस्या छ । गोरखापत्रमा कर्मचारी बढुवा हुन नसकेको सात/आठ वर्ष भइसक्यो । यो अर्को समस्या हो ।” मन्त्री गुरुङले कर्मचारीको थाकेको ज्यानले मात्र गोरखापत्रलाई गति नदिने भन्दै बढुवा र वृत्ति विकासमा सव्रिmय हुनुपर्नेमा जोड दिनुभयो । मान्छेले अवसर प्राप्त गरेपछि त्यो समयमा काम गर्नुपर्नेमा जोड दिँदै उहाँले अवसरलाई अधिकतम प्रयोग गर्न संस्थान नेतृत्वलाई सुझावसमेत दिनुभयो ।
छपाइको काम नेपालमै सुरु भएको छ
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले बैङ्क नोटबाहेक सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको जानकारी दिनुभयो । उहाँले नोटबाहेकका सबै छपाइका सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताउनुभयो । जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उहाँको भनाइ छ । पासपोर्टलगायत सुरक्षाका कुनै पनि सामग्री छपाइका लागि अब विदेश जानु नपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “सुरक्षण मुद्रणको प्रबन्ध भइसकेको छ । जनशक्तिको हिसाबले प्रबन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दै छौँ । अबदेखि यस्ता चिज छाप्नका लागि विदेश जानु पर्दैन । त्यो काम मन्त्रालयले सुरु गरिसकेको छ ।”
सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थान विरासत र इतिहासको हिसाबले समृद्ध रहेको चर्चा गर्दै सूचना र प्रविधिको क्षेत्रमा देखिएको परिवर्तन अनुसार कार्यशैली बदल्नुपर्नेमा जोड दिनुभयो ।