सार्वजनिक संस्थाबिच सहकार्यमा जोड
गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २० गते
राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सरकारी स्वामित्वका सार्वजनिक निकायबिच सहकार्यमा जोड दिनुभएको छ ।
आइतबार गोरखापत्र संस्थान परिसरमा जारी तस्बिर प्रदर्शनी अवलोकन तथा छलफलका क्रममा उहाँले आममानसमा आवश्यक सेवासुविधा प्रवाहका लागि निर्दिष्ट उद्देश्य बोकेका सार्वजनिक संस्थाबिच सहकार्य हुँदा सबैको सेवा प्रवाह प्रभावकारी हुने धारणा उहाँले राख्नुभयो ।
आगामी दिनमा राष्ट्रिय वाणिज्य बैङ्क र गोरखापत्रबिच वित्तीय साक्षरतामा सहकार्य गर्नुपर्ने भन्दै उहाँले दुई सार्वजनिक संस्थाबिच वित्तीय सूचना आदानप्रदानलाई महìव दिनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थानका प्रकाशनको गुणस्तरमा आइरहेको सुधारबारे चर्चा गर्दै राज्यको लगानी भएका संस्थाबिच सहकार्य हुँदा राज्यको असल चित्र निर्माणमा समेत योगदान पुग्ने जिकिर गर्नुभयो ।
उहाँले पछिल्लो समयमा गोरखापत्रका प्रकाशनमा समयसापेक्ष नयाँ प्रविधिको प्रयोग बढाउँदै लगेको सन्दर्भ औँल्याउँदै निष्पक्ष पत्रकारितालाई गोरखापत्रले सधैँ आत्मसात् गर्दै अघि बढ्ने विश्वास दिलाउन चाहन्छु भन्नुभयो ।
सुवेदीले बैङ्कका प्रमुख कार्यकारीका रूपमा हालै नियुक्त हुनुभएको खनाललाई सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।