गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २ गते
गोरखापत्र संस्थानले सुरु गरेको डिजिटल अर्काइभिङ प्रक्रिया सिङ्गो राष्ट्रकै सम्पत्ति रहेकाले यसको संरक्षण गर्नुपर्ने भन्दै नबिल बैङ्कले प्रशंसा गरेको छ ।
बैङ्कका अध्यक्ष उपेन्द्र पौड्यालले १२४ वर्ष यात्रा पूरा गरेको गोरखापत्र संस्थानले आफ्ना प्रकाशन र अहिलेसम्मका तस्बिर डिजिटल अर्काइभिङ गर्न थालेकोमा प्रशंसा गर्नुभयो ।
बैङ्कले आफ्नो ४० बर्से यात्रा सम्पन्न गर्ने क्रममा गोरखापत्र संस्थानसँग तस्बिर प्रदर्शनीमार्फत व्यावसायिक साझेदारी गरेको सन्दर्भ पारेर बुधबार संस्थानका पदाधिकारीसँगको भेटमा पौडेलले यस्तो धारणा राख्नुभएको हो ।
नेपालको सिङ्गो इतिहास झल्काउने डिजिटल अर्काइभिङ जस्तो महत्त्वपूर्ण प्रोजेक्टमा नबिल बैङ्क साझेदारी गर्न तयार रहेको भन्दै उहाँले यसका लागि आवश्यक गृहकार्य गर्न आफ्नो टिमलाई
निर्देशन दिनुभयो ।
नेपालमा बैङ्किङ व्यवसाय सुरु गर्दा पत्रिका भनेकै गोरखापत्र रहेको स्मरण गर्दै त्योबेला गोरखापत्रमा छापिएका तस्बिर र समाचार बैङ्क मात्रै नभएर सिङ्गो राष्ट्रकै सम्पत्ति भएको
उहाँले बताउनुभयो ।
पुराना घटना, तस्बिर र त्योबेलाका समाचार अहिले प्रदर्शनीमार्फत अनुभूत गर्न पाउनु सबैका लागि रुचिकर हुने गरेको भन्दै गोरखापत्रमा छापिएका तस्बिर र पुराना अङ्कको डिजिटल अर्काइभिङको छुट्टै महत्त्व भएको उहाँले बताउनुभयो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले बैङ्कको ४० औँ वार्षिकोत्सवका अवसरमा नेपालको जेठो पत्रिका गोरखापत्रसँगको सहकार्यमा फोटो प्रदर्शनी गरिनु बैङ्कका लागि महत्त्वपूर्ण क्षण रहेको बताउनुभयो ।
नबिल बैङ्कमा जागिरका लागि दरखास्त भर्दै गरेको फोटोसमेत प्रदर्शनीमा भेटिएको भन्दै उहाँले पुराना तस्बिरले समय कसरी दु्रततर रूपमा अगाडि बढेको रहेछ भन्ने पनि अनुभूत गराएको बताउनुभयो । गोरखापत्रसँगको सहकार्यबाट उत्साहित भएको उहाँले बताउनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सु्वेदीले संस्थानको सानो सहयोग मात्रै पनि दुवै संस्थालाई जोड्ने कडी बनेको बताउनुभयो । निजी क्षेत्रको पहिलो बैङ्कका रूपमा चार दशक इतिहास बोकेको बैङ्क र मुलुकको सिङ्गो इतिहास बोकेको गोरखापत्रबिचको सहकार्य आफैँमा महत्त्वपूर्ण क्षण रहेको उहाँले बताउनुभयो ।
गोरखापत्रले दैनिक सूचना र समाचार दिनुका साथै पुराना महìवपूर्ण इतिहासको संरक्षण गर्ने जिम्मेवारी पनि बोकेको भन्दै अध्यक्ष सुवेदीले संस्थानका सबै प्रकाशनलाई डिजिटल अर्काइभिङमा लैजान लागेको बताउनुभयो ।
गोरखापत्रप्रति पुरानो ढाँचा भनेर मूल्याङ्कन गर्ने गरिए पनि पछिल्लो समय गोरखापत्रमा धेरै परिवर्तन भएको उहाँले बताउनुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले संस्थान र बैङ्कबिचको सुखद सहकार्यको निरन्तरतामा जोड दिँदै संस्थान पछिल्ला दिनमा व्यावसायिक बन्न थालेको भन्दै बजारमा आफ्नो प्रभावकारी उपस्थिति देखाउन अग्रसर
रहेको बताउनुभयो ।
आगामी दिनमा नबिल बैङ्क र गोरखापत्रबिच वित्तीय साक्षरतामा सहकार्य गर्नुपर्ने भन्दै उहाँले दुई सार्वजनिक संस्थाबिच वित्तीय सूचना आदानप्रदानलाई महत्त्व दिनुपर्नेमा उहाँले
जोड दिनुभयो ।
गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले पछिल्ला वर्षमा गोरखापत्र दैनिकले सरकारी मुखपत्र मात्रै नभएर व्यावसायिक पत्रकारिता प्रदर्शन गर्दै आएको बताउनुभयो ।  
नबिल बैङ्क ४० वर्ष पूरा गरी ४१ औँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सवकै दिन शुक्रबारदेखि बैङ्क परिसरमा गोरखापत्र संस्थानसँगको सहकार्यमा फोटो प्रदर्शनी चलिरहेको छ । नेपालको आर्थिक तथा सामाजिक रूपान्तरण झल्काउने चार दशकको नेपाल फोटो प्रदर्शनीमा राखिएको छ । बैङ्कको केन्द्रीय कार्यालय दरबारमार्गमा चलिरहेको फोटो प्रदर्शनी आगामी आइतबारसम्म चल्ने बैङ्कले जनाएको छ ।
सो अवसरमा राइजिङ नेपालका सम्पादक भीमसेन थपलिया, व्यापार विभाग प्रमुख गङ्गा पन्थी, फोटोग्राफी प्रमुख रामप्रसाद हुमागाईं, बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र भूपेन्द्र पाण्डे, प्रमुख बजार अधिकृत कृष्ण सुवेदीलगायतको उपस्थिति रहेको थियो ।