गोरखापत्र राज्यको सम्पत्ति
गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २९ गते
मन्त्रीपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधान न्यायाधीश खिलराज रेग्मीले गोरखापत्र राज्यको सम्पत्ति भएकाले यसको संरक्षण गर्ने दायित्य सबैको भएको बताउनुभएको छ ।
उहाँले गोरखापत्र संस्थानमा आयोजित ऐतिहासिक तस्बिर प्रदर्शनी अवलोकन गर्दै नेपाली पत्रकारिताको धरोहरका रूपमा रहेको गोरखापत्रले तस्बिरको संरक्षण र सुरक्षण गरी आगामी पुस्ताप्रति गुन लगाएको उल्लेख गर्नुभयो । पत्रकारिताको क्षेत्रमा १२४ वर्षदेखि सफल रहेको गोरखापत्र दैनिक राज्यकै सम्पत्ति हो भन्दै यसको संरक्षण र संवर्धन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । संस्थानद्वारा आयोजित तस्बिर प्रदर्शनीमार्फत नेपाली समाज आर्थिक, सामाजिक, कृषि, राजनीतिकलगायत विविध क्षेत्रमा रूपान्तरण हुँदै आएको सङ्क्षिप्त र तथ्यगत झलक दिन प्रदर्शनी सफल भएको उहाँले बताउनुभयो ।
पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “गोरखापत्रले समाचारमार्फत सत्य सूचनाको गौरवलाई कायम राख्न सफल भएको छ । त्यसै गरी तस्बिरमार्फत तत्कालीन समयका राष्ट्रिय
अन्तर्राष्ट्रिय, सामाजिक गतिविधि, प्राकृतिक विपत्ति र राजनीतिक परिवर्तनलगायत समाजका हरेक गतिविधिलाई तस्बिरमा संरक्षण गर्न सफल भएको छ ।” उहाँले हाल समाचार दिने थुप्रै माध्यमको विकास भए पनि गोरखापत्र नै नपल्टाई, नहेरी चित्तै नबुझ्नेसमेत बताउनुभयो ।
उहाँले आगामी दिनमा तस्बिर प्रदर्शनी गर्दा विषयगत वर्गीकरणसहित आर्थिक, सामाजिक, राजनीतिक परिवर्तन, प्राकृतिक विपत्लगायतका तस्बिर छुट्याएर राख्न सके अवलोकन गर्न आउनेले सजिलै बुझ्न सक्छन् भन्ने सुझावसमेत दिनुभयो । सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।