गोरखापत्रसँग सहकार्य गर्दै प्रदेश सरकार
जनकपुरधाम समाचारदाता
जनकपुरधाम, असार १४ गते
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले आगामी दिनमा गोरखापत्र संस्थानसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । गोरखापत्र संस्थानका केन्द्रीय टोलीसँग शुक्रबार भएको छलफलमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारले गरेका गतिविधि जनतासमक्ष ल्याउन र प्रदेशमा भइरहेका भ्रम उत्पन्न गर्ने प्रवृत्तिलाई न्यूनीकरण गर्नसमेत गोरखापत्रसँग सहकार्य गर्न आवश्यक रहेकाले संस्थानसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको हो। मुख्यमन्त्री सिंहले प्रदेशमा भएका राम्रा कामको दस्ताबेजीकरण गर्नका लागि पनि गोरखापत्रसँग सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले प्रदेश डायरीमार्फत मधेश प्रदेशलाई थप प्रभावकारी बनाउन सकिने उल्लेख गर्नुभयो। युट्युब जस्ता सामाजिक सञ्जालमार्फत भ्रामक र नकारात्मक खबर भाइरल हुने गरेकाले त्यस्ता कार्यलाई निरुत्साहित गर्दै प्रदेशमा भएका गतिविधिलाई पारदर्शी बनाउन पनि गोरखापत्रसँगको सहकार्य जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो। गोरखापत्रसँग सहकार्य गरेर तयार पारिएको दस्ताबेजीकरणबाट मधेश प्रदेशको विकासमा समेत सहयोग पुग्ने मुख्यमन्त्री सिंहले बताउनुभयो। गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले राष्ट्रिय राजनीतिमा मधेशको विशेष महत्त्व रहेको हुँदा थप गृहकार्य गरेर मधेश सरकार र गोरखापत्र संस्थान अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले यहाँका संस्कृति, सम्पदा, पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रवर्धनमा पनि गोरखापत्रको मुख्य भूमिका रहेको हुँदा संस्थान मधेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो। यस्तै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले प्रदेश सरकारले गरेका राम्रा कामलाई प्रकाशन गर्न गोरखापत्रसँग स्वामित्व खोज्नुपर्ने बताउनुभयो। उहाँले मुख्यमन्त्रीसमक्ष प्रदेशका आयोजना, नीति निर्माण, कानुन निर्माण र पत्रकारिता जगत्लाई थप सबल बनाउनका लागि सहकार्य गर्न आग्रह गर्नुभयो। उहाँले गोरखापत्रमा मधेश सरकारको गतिविधि झल्किने विशेषाङ्क निकाल्न सकिने पनि बताउनुभयो। मुख्यमन्त्री सिंहसँगको छलफलमा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले अन्य प्रदेशमा जस्तै गोरखापत्र संस्थान मधेश प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताउनुभयो।