गोरखापत्र अनलाइन
काठमाडौँ, माघ २५ गते
गोरखापत्र संस्थानले ‘गर्दैै सिक्दै’ तेस्रो शृङ्खला अन्तर्गत शुक्रबार एआई (आर्टिफिसियल इन्टेलिजेन्स) एप्लिकेसन र यसको इम्प्याक्ट
(प्रभाव) बारेमा एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा ब्रोडवे इन्फोसिस प्रालिका एआई प्रशिक्षक सन्देश भट्टराईले प्रशिक्षण दिनुभयो । उहाँले एआई एप्लिकेसनको प्रयोग नेपालमा भर्खरै भएकाले यसबारेमा धेरैलाई सुसूचित गर्न आवश्यक रहेको बताउनुभयो । मानिसले निर्माण गरेको एप्लिकेसन एआई भएकाले यसले इन्टरनेटमार्फत बनावटी डाटाबारेमा मात्र जानकारी दिने बताउनुभयो । एआईको प्रयोग विश्वभरि बढ्दो मात्रामा भइरहेको भए पनि नेपालमा शुभारम्भ मात्र भएको उहाँको भनाइ छ ।
एआईले जुनसुकै शीर्षकमा सहजै जानकारी दिने भए पनि यसले दिने जानकारीबारे शतप्रतिशत विश्वास गर्न सक्ने अवस्था नरहेको प्रशिक्षक भट्टराईले बताउनुभयो । एआईले जानकारी सहजै दिने भए पनि मान्छेको सिर्जनालाई भने यसले क्षयीकरण गर्ने गरेको उहाँको भनाइ छ । एआईले हाम्रो कामलाई सहज बनाउने भए पनि यसमै निर्भर हुन नहुने उहाँले सुझाव दिनुभयो । सो अवसरमा प्रशिक्षक भट्टराईले च्याट जिपिटी, जेमिनी, डिपसिक, परप्लेक्सिटी, क्लाउड, क्यानभा, ज्यास्परको प्रयोगबारे जानकारी गराउनुभएको थियो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले एआईको प्रयोग र यसको महत्त्वबारे आधारभूत जानकारी दिन संस्थानले कार्यक्रम आयोजना गरेको बताउनुभयो । सो अवसरमा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, गोरखापत्रका प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, संस्थानका प्रशासन विभाग प्रमुख रेखादेवी श्रेष्ठ, सञ्चालक समितिका सदस्य राजुकुमार महतसहित विभागीय प्रमुख र पत्रकारको सहभागिता थियो ।