गणतन्त्र खतरामा भन्ने भाष्य गलत
गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २३ गते
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानमा भएका व्यवस्था र नागरिकका अधिकारलाई वास्तविक रूपमा लागु गर्न सके देश स्वर्णिम युगमा प्रवेश गर्ने बताउनुभएको छ ।
पूर्वराष्ट्रपति डा. यादवले बुधबार गोरखापत्र संस्थानमा आयोजित ऐतिहासिक फोटो प्रदर्शनी अवलोकन गर्दै इतिहासको सङ्घर्षलाई स्मरण गरेर वर्तमानमा रूपान्तरण गरी भविष्य निर्माण
गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “धेरैको बलिदानले संविधान निर्माण भयो । सङ्घीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व, मौलिक हक, प्रेस स्वतन्त्रतासहित सम्पूर्ण अधिकार संविधानले प्रत्याभूत गरेको छ । संविधान अनुसारै दलहरूले देशलाई अघि बढाएमा हामी स्वर्णिम युगमा जान सक्छौँ ।”
डा. यादवले संविधान निर्माण भएपछि दुई पटक निर्वाचन सम्पन्न भएको र देश व्रmमशः आर्थिक र सामाजिक परिवर्तनतर्फ अग्रसर भएको बताउनुभयो । उहाँले विधिको शासनलाई प्राथमिकता दिएर राजनीतिक रूपमा देखिएका सङ्व्रmमणलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले सुशासन, लोकतान्त्रिक मूल्य र नागरिकका चाहनाबमोजिमको राजनीतिक व्यवहार गर्न दलहरूलाई सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो पुस्ताले देशमा राजनीतिक व्यवस्थापनमै आफ्नो जीवन खर्च गर्नुपरेको थियो । लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था विश्वकै उत्कृष्ट व्यवस्था हो । हामीले देशमा स्थापना पनि गरेका छौँ । मेरै हातले जनताको नासो संविधान जारी भयो । अब सुशासन र समुन्नतिमा ध्यान दिनु पर्छ ।”
उहाँले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले राज्यको अनुभूति दिलाउने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिस्तारै काम हुँदै छ । नागरिकलाई दिने सेवासुविधा प्रभावकारी भएको छ । अझै व्यवस्थित र छिटोछरितो बनाउनु पर्छ ।” डा. यादवले नेताहरूको बोली र व्यवहारलाई जनताले विश्वास गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले नेताको बोलीलाई जनताले विश्वास गर्थे । अहिले गर्न सकेका छैनन्, व्यवहारबाटै काम गरेर नेताहरूले जनताको मन जित्नु पर्छ ।”
‘संविधानमाथि खतरा छैन’
डा. यादवले अहिले केही समूहले भनेजस्तो संविधान र लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको भाष्य गलत रहेको बताउनुभयो । उहाँले प्रविधिसँग जोडिएको युवा पुस्तालाई समेटेर देश बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको युवा पुस्ताले लोकतन्त्रको लडाइँ देखेको छैन तर २००७, २०१५ को निर्वाचन, २०१७, २०४६ र २०६२÷६३ मा जनताको सङ्घर्ष बिस्तारै बुझाएर प्रविधिसँग जोडिएर अरू देशकै युवा जस्तो बन्ने चाहनालाई पनि समेटेर दलहरू तदारुकतासाथ अघि बढ्नु पर्छ ।”
इतिहास समेटिएका तस्बिर
डा. यादवले गोरखापत्र संस्थानको १२४ वर्षको इतिहासमा देशले धेरै ठुलो उतारचढाव बेहोरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै राष्ट्रको जीवनमा उतारचढाव हुन्छ । राणाकालदेखि पञ्चायतकाल, २०४६ र २०६२÷०६३ पछिको लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको कालखण्डमा घटनाक्रमलाई ती ऐतिहासिक तस्बिरमार्फत प्रस्तुत गरिएको छ । यसलाई जोगाउनुहोस् ।”
उहाँले तत्कालीन समयमा खिचेका गोरखापत्रका तस्बिरको प्रदर्शनीले त्यतिबेलाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक घटनाक्रमको सिलसिलालाई त्यही समयको वास्तविक दृश्यमार्फत प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासको कडीलाई पुस्तौँपुस्तासँग जोड्ने माध्यमकै रूपमा फोटोको सङ्कलनले प्रस्तुत गर्छ । यसलाई जोगाउनु पर्छ । डिजिटल प्रविधिको युगमा सम्पूर्ण तस्बिरसङ्ग्रह संरक्षण गर्नुहोला ।”
चुरे जोगाउन पहल गर्नु पर्छ
डा. यादवले तराई मधेशको पानीको स्रोत चुरे संरक्षणमा जोड दिनुभएको छ । उहाँले चुरेको जङ्गलदेखि हिमालसम्म वातावरणको रक्षा गर्न समयमै काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “चुरे क्षेत्रका वनजङ्गल मासिएका छन्, त्यहाँबाट निस्कने नदीनालाका ढुङ्गा, बालुवा, गिट्टीको अनियन्त्रित दोहन भइरहेको छ, यसले दूरगामी असर मुलुकलाई पार्ने देखिन्छ । सरकारले यसको संरक्षणमा ध्यान दिनु पर्छ ।”उहाँले पर्यावरणमैत्री विकासमा ध्यान दिनुपर्ने बताउँदै आर्थिक नीति, परराष्ट्र नीति, पर्यावरण, शिक्षा, स्वास्थ्य, कृषि नीतिका सन्दर्भमा संसद्मा गम्भीर बहस गरेर निष्कर्षमा पुग्न राजनीतिक दलहरूलाई सुझाब दिनुभयो ।