गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २ गते
गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक सरोज अधिकारी सेवा निवृत्त हुनुभएको छ । उहाँलाई संस्थानमा आयोजित कार्यक्रममा बिदाइ गरियो । त्यस अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले अधिकारीले इमानसाथ कर्तव्य निर्वाह गरेको बताउनुभयो । उहाँले गोरखापत्रबाट प्राविधिक रूपमा बिदाइ भए पनि अधिकारीलाई सधैँ सदस्यका रूपमा
सम्झिने बताउनुभयो ।
अध्यक्ष सुवेदीले गोरखापत्रका पूर्वसम्पादक, अध्यक्ष, महाप्रबन्धक कर्मचारीले अवकाश पाएर बिदा भए पनि पुनः संस्थानमा आउने र भेटघाट गर्ने वातावरण बनाउने उल्लेख गर्नुभयो । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले एउटै व्यक्तिले ३६ वर्षसम्म काम गर्नुलाई गौरवका रूपमा लिनुपर्ने बताउनुभयो ।
गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनले गोरखापत्रबाट ऊर्जाशील सकारात्मक सोच भएका पत्रकारलाई बिदाइ गर्दा दुःख लागेको बताउनुभयो । गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले अधिकारीले दिल दिमागदेखि नै निरन्तर पत्रिकामा काम गरेर नयाँ पुस्तालाई समेत ऊर्जाशील बनाउने काम गरेको उल्लेख गर्नुभयो ।
गोरखापत्रका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेतले ३६ वर्षदेखि पत्रकारिता क्षेत्रमा उत्तिकै ऊर्जाशील व्यक्तिका रूपमा अधिकारी रहनुभएको उल्लेख गर्नुभयो । दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलियाले प्रविधिक रूपमा बिदाइ भए पनि संस्थानले एउटा विज्ञका रूपमा सधैँ उहाँलाई सम्झिरहने बताउनुभयो । गोरखापत्र सञ्चालक समितिका सदस्य एवं अर्थ विभाग प्रमुख राजुकुमार महतले असल पत्रकारका रूपमा  अधिकारीलाई सधैँ सम्झिरहने बताउनुभयो ।
सेवा निवृत्त हुनुभएका अधिकारीले आफू सेवाबाट अवकाश भए पनि संस्थानलाई आवश्यक परेमा स्वयंसेवकका रूपमा सहयोग गर्न तयार रहेको बताउनुभयो । नायब कार्यकारी सम्पादक अधिकारीलाई सम्पादन विभागका तर्फबाट पनि मङ्गलबार एक कार्यक्रमबिच बिदाइ गरिएको थियो ।