नेपालको दीर्घकालीन पुनर्निर्माण तथा विकासमा सहयोग गर्न प्रमको आग्रह
काठमाडौँ, कात्तिक १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनलाई शान्ति प्रक्रिया पूरा भएपछि पनि नेपाललाई नबिर्सन र नेपालको दीर्घकालीन पुनर्निर्माण तथा विकासको काममा सहयोग जारी राख्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले नेपालको दुईदिने भ्रमणका लागि शुक्रबार साँझ राजधानी आइपुग्नुभएका महासचिव बानसँगको भेटमा सो कुरा बताउनुभएको प्रधानमन्त्रीका विदेश मामिलासम्बन्धी सल्लाहकार हीराबहादुर थापाले भेटपछि पत्रकारहरूलाई जानकारी गराउनुभयो ।
भेटमा महासचिव बानले सेना समायोजनका लागि विशेष समिति गठन भएको सुन्दा आफूलाई खुसी लागेको बताउँदै समितिले कसरी काम गर्छ भन्ने विषयमा जिज्ञासा राख्नुभएको थियो ।
त्यसको प्रत्युुत्तरमा प्रधानमन्त्री 'प्रचण्ड'ले सेना समायोजनका लागि संविधानमा व्यवस्था भए अनुसार विशेष समिति बनेको र त्यसले अब छिट्टै काम थाल्ने बताउनुभएको सल्लाहकार थापाले जानकारी दिनुभयो ।
नेपालले शान्तिसेनामा योगदान दिएकोमा त्यसको प्रशंसा गर्दै महासचिव बानले नयाँ स्थानहरू सोमालिया र चादमा पनि नेपाली शान्तिसेना पठाइदिए हुन्थ्यो भन्ने आशा व्यक्त गर्नुभएको श्री थापाले पत्रकारहरूलाई जानकारी गराउनुभयो ।
प्रत्युत्तरमा प्रधानमन्त्री प्रचण्डले सोमालियामा अहिले राष्ट्रसङ्घको पूर्णरूपमा 'अथोराइजेशन' भइनसकेकाले यसलाई विचार गर्न सकिने र राष्ट्रसङ्घको पूर्ण 'अथोराइजेशन' हुने बित्तिकै नेपाल सकारात्मक हुने बताउनुभएको र चादको हकमा भने राष्ट्रसङ्घको पूर्ण अथोराइजेशन भएकोले त्यसमा नेपाललाई आपत्ति नहुने हुँदा सोही अनुसार विचार गरिने बताउनुभएको सल्लाहकार थापाले बताउनुभयो ।
अनमिनको भविष्यका बारेमा प्रधानमन्त्री प्रचण्डले अहिले विशेष समिति बनेको र समितिले छिट्टै काम थाल्ने भएकाले समितिले कतिको गतिमा काम गर्छ त्यसका आधारमा थप्ने नथप्ने कुराको टुङ्गो लाग्ने बताउनुभएको पनि थापाले जानकारी गराउनुभयो ।
समायोजनको काम विशेष समितिले सोचेको समयमा गर्न नसके अनमिनको म्याद थप हुन पनि सक्छ भन्ने कुराको सङ्केत पनि बानसँगको भेटमा प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।
महासचिव बानले आगामी जनवरी महिनाको २५ तारिखमा अनमिनको म्याद सकिने भएकाले यस विषयमा आधिकारिक रूपमा चाँडै नै भन्दिनुपर्ने र सो विषय सुरक्षा परिषद्मा पनि पेस गर्नुपर्ने कुरा राखेपछि प्रधानमन्त्रीले विशेष समितिले काम थालेपछि त्यसको एक दुईवटा बैठकले धेरै कुराको समाधान हुने अवस्था हुने र त्यसपछि मात्र म्याद थप गर्नुपर्ने नपर्ने कुरा भन्न सक्ने अवस्था हुने स्पष्ट गर्नुभएको बताउनुभयो ।
सो अवसरमा महासचिव बानले गत सेप्टेम्बर २७ मा न्युयोर्कमा प्रधानमन्त्रीसँग भेटघाट भएको स्मरण गराउनुभएको र प्रधानमन्त्रीले सोही भेटघाट र छलफलको निरन्तरताको क्रममा यो भ्रमण भएको र यसले शान्ति प्रक्रियाबारे छलफल गर्ने थप मौका मिलेको बताउनुभएको थियो ।
यसैबीच महासचिव बानले एक विज्ञप्ति जारी गरी नेपालजस्तो मौलिक शान्ति प्रक्रिया र राष्ट्रिय मेलमिलापबाट राजनीतिक र सामाजिक रूपान्तर प्रक्रियामा अघि बढिरहेको तथा राष्ट्रसङ्घको एक महìवपूर्ण सदस्य मुलुक
नेपालमा आउन पाउँदा आफू निकै हषिर्त भएको बताउनुभएको छ ।
आफूले महासचिव हुनुअघिदेखि नै नेपालको शान्ति प्रक्रियाका विभिन्न चरणका उपलब्धिहरूलाई गहिरो चासोका साथ हेर्दै आएको र यसमा राष्ट्रसङ्घले खेलेको भूमिकालाई आफूले व्यक्तिगत रूपमा नै समर्थन गरेको बताउनुभयो ।
उहाँले हामीले धेरै प्राप्त गरिसके पनि अझै धेरै बाँकी रहेको र अझै चुनौतीहरू बाँकी रहेको र यो भ्रमण छोटै भए पनि ऐतिहासिक परिवर्तनको प्रक्रियाबाट अगाडि बढिरहेको मुलुकको परिवर्तन अनुभव गर्ने अवसर बन्ने कुरामा आफू विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
उहाँले शान्ति प्रक्रियामा नेपाली जनताले हासिल गरेको उपलब्धिलाई अन्तर्राष्ट्रिय जगत्ले प्रशंसा र सम्मान गरेको र समग्र शान्तिपूर्ण रूपमा गत चैतमा संविधानसभाको निर्वाचन सम्पन्न भएकोमा आफू सबैलाई बधाई ज्ञापन गर्न नेपाल आएको बताउनुभयो ।
महासचिव बान शुक्रबार नै राष्ट्रसङ्घको विशेष विमानबाट राजधानी आइपुग्नुभएको हो । उहाँलाई विमानस्थलमा परराष्ट्रमन्त्री उपेन्द्र यादवले स्वागत गर्नुभएको थियो ।
सो अवसरमा नेपाली सेनाको एउटा टुकडीले उहाँलाई सलामी अर्पण गरेको थियो । महासचिव बानले विमानस्थल तथा प्रधानमन्त्रीसँगको भेटपछि पनि पत्रकारहरूलाई कुनै प्रतिक्रिया दिनुभएन ।
महासचिव बान शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले आयोजना गर्नुभएको रात्रिभोजमा पनि सरिक हुनुभयो ।
उहाँले शनिबार राष्ट्रपति डा. रामवरण यादव, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री उपेन्द्र यादव तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गर्नुहुने कार्यक्रम छ ।
उहाँ शनिबार नै एक पत्रकार सम्मेलनको आयोजना गरी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको भ्रमणमा जानुका साथै भैरहवाबाटै विशेष उडानबाट बङ्गलादेशको राजधानी ढाकातर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।
यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिवहरू उ थान्त, कुर्त वाल्डहाइम, हाभियर पेरेज द कोयार र कोफी अन्नानले नेपालको भ्रमण गरिसक्नुभएको थियो । बान नेपालको भ्रमण गर्ने पाँचौँ महासचिव हुनुहुन्छ ।