काठमाडौं, असार २९ गते। नेपालका सुदीन रोकायाले शुक्रबार चौथो इन्डो-नेपाल सोतोकान कराँते प्रतियोगिताको उद्घाटनको दिन मिनी सब जुनियरतर्फ पुरुष २० केजी तौल समूहमा स्वर्ण जितेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् -राखेप) को कभर्डहलमा भएको फाइनलमा सुदीनले नेपालकै प्रतीक त्रिपाठीलाई पराजित गरे।
नेपाल सोतोकान कराते संघ -एसकेआई) द्वारा आयोजित प्रतियोगिताको मिनी सब जुनियरकै पुरुष २५ केजीमा नेपालका आदित सुवेदी र भारतका अभिजित सिंह तथा ३० केजीमा नेपालका अभिनाष दाहाल र भारतका सान्तानु फाइनलमा पुगे।
सब जुनियर १२ वर्षमुनि २५ केजीमा नेपालका नवीन पुन र भारतका अभुनव जाखर, ३० केजीमा नेपालका अभूषण राजथला र भारतका करणवीर, ३५ केजीमा नेपालका सुनी घोली र भारतका विराट, ४० केजीमा नेपालका आशीष भण्डारी र भारतका अमित गिल तथा ४५ केजीमा नेपालका कालस शर्मा र भारतका हर्पित सिंह उपाधि भिडन्तमा पुगेका छन्।
त्यसैगरी, जुनियर पुरुषको १६ वर्षमुनि ३५ केजीमा नेपालका आशीष पाल र भारतका जगजित सिंह, ४५ केजीमा नेपालका आकाश पाल र भारतका अमरवीर सिंह तथा ५५ केजीमा नेपालका निराजन श्रेष्ठ र भारतका राहुलले फाइनल यात्रा तय गरे।
सिनियर पुरुषको १६ वर्षमाथि ५० केजीमा नेपालका अविन नकर्मी, ५५ केजीमा नेपालका शैलेश राई तथा ६० केजीमा नेपालका शुभ थापाले फाइनलमा स्थान सुरक्षित गरे।
प्रतियोगितामा नेपालका २५१ तथा भारतका ६५ गरी कूल ३१६ खेलाडी सहभागिता रहेको आयोजक संघका अध्यक्ष हेमकुमार श्रेष्ठले जनाएका छन्। शनिवारसम्म चल्ने प्रतियोगितामा ४५ स्वर्ण समावेश छ।