विराटनगर, असार २९ गते। कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा आएका पूर्वका दश उद्योगलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले कारबाही गरेको जानकारी दिएको छ।
गैरकानुनी रूपमा सञ्चालित झापाको कञ्चनजंघा सिमेन्ट उद्योगसहित पूर्वका दश उद्योग कारबाहीमा परेका हुन्। कार्यालय प्रमुख शशिभूषण यादवको नेतृत्वमा खटिएको टोलीले झापा र इलाम जिल्लामा सञ्चालित उद्योगमाथि छड्के चेक गरेको थियो। अनुगमन गर्ने क्रममा गैरकानूनी सञ्चालनमा आएका ती उद्योगहरूलाई विभागले कारबाही गरेको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय प्रमुख शशिभूषण यादवले बताउनुभयो।
झापा चारपानेस्थित कञ्चनजंघा सिमेन्ट उद्योगले नापतौलसम्बन्धी अनुमतिपत्र नलिएको, 'अटोफिलिङ' मेसिन जाँच नगराएको तथा उत्पादित सिमेन्टको तौल एवं गुणस्तर परीक्षण नगरी सञ्चालन गरेकोमा कारबाही गरिएको यादवले बताउनुभयो।
उद्योगका महाप्रबन्धक राजेश अग्रवालले भर्खर मात्र सञ्चालनमा आएको उद्योगले कानूनी प्रक्रिया अगाडि बढाइरहेको बताउनुभएको छ। परीक्षणकै क्रममा रहेको उद्योगबाट उत्पादित वस्तु बजारमा नआएकोले अहिलेसम्म कोही उपभोक्ता नठगिएको अग्रवालले दावी गर्नुभयो।
विभागबाट गएको टोलीले अनुमतिपत्र नलिई ढक तराजु प्रयोग गरेको र नियमित जाँच नगराउने इलाम पशुपतिनगरको विनायक डेरी उद्योग, फिक्कलको मेचीभ्याली चिया उद्योग र सिद्धिविनायक टि-इण्डस्टि्रज तथा श्रीअन्तुको गणेश हिमाल टि-स्टेट प्रालिमाथि कारबाही चलाएको छ।
यसैगरी पञ्चामृत डेरी उद्योग पशुपतिनगर, नेपाल ग्रीन एन्ड स्पेसलिटी-टि प्रालि पशुपतिनगर, लक्की डेरी उद्योग पशुपतिनगर र त्रिशक्ति चीज उद्योग पशुपतिनगरमाथि समेत कारबाही चलाइएको यादवले जानकारी दिनुभएको छ। अनुगमनका क्रममा गलत कार्य गर्ने गरिएको देखिएका ती उद्योगहरूलाई नापतौल ऐन २०२५ र उपभोक्ता संरक्षण ऐन र नियमावली ०५५/५६ अनुसार कारबाही गरिने प्रमुख यादवले बताउनुभयो।