अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्र समाचारदाता
 

काठमाडौं, असार २९ गते। आदिकवि भानुभक्त आचार्यको १९९औं जन्मजयन्तीको अवसरमा शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार जना राष्ट्रिय तथा १८ जना क्षेत्रीय प्रतिभालाई सम्मान गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्रष्टाहरूलाई नगद तथा सम्मानपत्रले सम्मानित गर्नुभयो। राष्ट्रिय प्रतिभा पुरस्कारबाट संस्कृति विधातर्फबाट प्रा.डा. सुरेन्द्र केसी, भाषा तथा साहित्यतर्फ कृष्णप्रसाद पराजुली सम्मानित हुनुभयो।

यसैगरी, नाट्य तथा संगीततर्फबाट श्याम तमोट र ललितकला विधातर्फबाट कालु कुमाले सम्मानित हुनुभयो। यसैगरी, क्षेत्रीय प्रतिभा पुरस्कारबाट संस्कृति विधातर्फबाट डा. नारायणप्रसाद संग्रौला -पूर्वाञ्चल), नूतनधर शर्मा

-मध्यमाञ्चल), मीनश्रीस मगर -पश्चिमाञ्चल) र प्रा.डा. डिल्लीराज शर्मा -मध्यपश्चिमाञ्चल) पुरस्कृत हुनुभयो।

भाषा तथा साहित्य विधातर्फको क्षेत्रीय प्रतिभा पुरस्कारबाट धीरेन्द्र प्रेमर्सी झा -पूर्वाञ्चल), कवि राजभाइ जकःमि -मध्यमाञ्चल), ललिता दोषी -पश्चिमाञ्चल), डा. दीपक गौतम -मध्यपश्चिमाञ्चल) र लोकबहादुर चौधरी -लक्की चौधरी) -सुदूरपश्चिमाञ्चल) सम्मानित हुनुभएको छ।

नाट्य तथा संगीत विधातर्फको क्षेत्रीय प्रतिभा पुरस्कारबाट जुद्धबहादुर राई -पूर्वाञ्चल), कुवेर गर्तौला -मध्यमाञ्चल) महाशंकर देवकोटा -मध्यपश्चिमाञ्चल) र लीलाधर बास्कोटा -सुदूरपश्चिमाञ्चल) पुरस्कृत हुनुभयो। ललितकला विधातर्फको क्षेत्रीय प्रतिभा पुरस्कारबाट नारदमणि हार्ताम्छाली -पूर्वाञ्चल), मानबहादुर तामाङ -मध्यमाञ्चल), गणेशकुमार जि.सी. -पश्चिमाञ्चल), हेमन्त हमाल

-मध्यपश्चिमाञ्चल) र पुरन खड्का -सुदूरपश्चिमाञ्चल) सम्मानित हुनुभयो।

कार्यक्रममा डा. भट्टराईले स्रष्टा र सर्जकहरू कला, साहित्य र संस्कृतिको अन्वेषण गर्ने हुँदा उनीहरूलाई सांस्कृतिक दूतको संज्ञा दिइने गरेको बताउनुभयो। संस्कृति विनाको मानिस पशु सरह हुने चर्चा गर्दै प्रधानमन्त्री भट्टराईले भन्नुभयो, "संस्कृतिको संरक्षण, प्रवर्द्धनमा सक्रिय स्रष्टा र सर्जकहरूको सम्मान गर्नु राज्यको दायित्व हो।"

नेपाल संास्कृतिक विविधताले भरिपूर्ण रहे पनि त्यसको संरक्षण र प्रवर्द्धन गर्न नसकेको प्रधानमन्त्री भट्टराईले स्वीकार्नुभयो। साहित्य, कला, संस्कृतिको प्रवर्द्धनमा ठूलो धनराशिको खाँचो पर्ने बताउँदै उहाँले सरकार त्यसको संरक्षण र प्रवर्द्धनमा चुकेको बताउनुभयो। आगामी दिनमा यसको उत्थान र प्रवर्द्धनमा थप बजेटको आवश्यकता पर्ने उहाँले उल्लेख गर्नुभयो। साहित्य, कला तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा राज्य र निजी क्षेत्र दुवैले भूमिका खेल्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो।

अन्य मुलुकले सांस्कृतिक व्यवसायीकरण गरी ठूलो धनराशी आर्जन गरेको स्मरण गर्दै प्रधानमन्त्री भट्टराईले नेपालमा पनि त्यस्तो गर्न सके संस्कृति प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो। संस्कृति पर्यटकीय आकर्षणको ठूलो माध्यम रहेको उल्लेख गर्दै प्रधानमन्त्री भट्टराईले भन्नुभयो, "संस्कृति र पर्यटन क्षेत्रको सम्बन्ध अन्योन्याश्रति छ, यसको उचित प्रवर्द्धन गर्न सके ठूलो आर्थिक उपार्जन गर्न सकिन्छ।"

पुरस्कार राशिमा कर लगाएको प्रति स्रष्टाहरूले गुनासो गरेपछि प्रधानमन्त्री भट्टराईले त्यसको समर्थन गर्नुभयो। सम्मानमा कर लगाइनु त्रुटिपूर्ण कदम भएको भन्दै उहाँले भन्नुभयो, "सम्मानजस्तो चिजमा कर लगाइनु लज्जास्पद काम हो, आगामी दिनमा यसमा सुधार गरिनुपर्छ।" उहाँले सो अवसरमा सम्मानित सबै स्रष्टालाई बधाई ज्ञापन गर्नुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले समाज विकाससँगै भाषा, साहित्य तथा कलाको विकास हुने हुँदा त्यसको संरक्षण तथा सम्बर्द्धनमा राज्य र समाज दुवैको दायित्व हुने बताउनुभयो। राष्ट्रिय मौलिकतालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने काम साहित्य, कला र संस्कृतिले गर्ने हुँदा त्यसको सम्मान र उचित वातावरण तयार गर्नमा राज्य सधैं लाग्ने उल्लेख गर्नुभयो।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित स्रष्टा प्रा.डा. सुरेन्द्र केसीले संस्कृतिले सबैलाई एकतामा बाँध्ने माध्यम भएको बताउनुभयो। अहिलेको अवस्थामा विभिन्न जातजातिको मुद्दाले संस्कृतिमा विचलन ल्याइरहेको उहाँले बताउनुभयो। क्षेत्रीय प्रतिभा पुरस्कारबाट सम्मानित स्रष्टा धीरेन्द्र प्रेमषर्ी झाले राजनीतिले जोड्न नसकेको ठाउँलाई साहित्य, कला र संस्कृतिले जोड्ने भूमिका खेल्ने गरेको बताउनुभयो। राज्यले दिने सम्मानमा कर कट्टी गरी सम्मानको अपमान राज्य स्वयंले गरेको उहाँले गुनासो गर्नुभयो।

संस्कृति मन्त्रालयका सचिव डा. गणेशराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गंगा उप्रेती, पर्यटन मन्त्रालयका सहसचिव ईश्वरराज कार्की तथा वरिष्ठ साहित्यका सर्जकहरूको उपस्थिति रहेको थियो। संस्कृति मन्त्रालयले विगत १६ वर्ष अगाडिदेखि हरेक वर्ष राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार वितरण गर्दै आएको छ।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home