काठमाडौं, असार २९ गते। मधेशी जनअधिकार फोरम -गणतान्त्रिक)ले पार्टीको नीति विपरीत तथा अनुशासनहीन काम गरेको आरोप लगाउँदै चार जनालाई पार्टीबाट निष्काशन गरेको छ। पार्टीले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी गराए अनुसार महासचिव आत्माराम साह, केन्द्रीय सदस्य नन्दन दत्त, सुरिता साह तथा राजिव झालाई पार्टीबाट निष्काशन गरिएको छ। पार्टीका सचिव अकवाल अहमदले बहुमत केन्द्रीय सदस्यको बैठकले यी चार जनालाई अनुशासन समितिको सिफारिशमा कारबाही गरेको जानकारी गराउनुभएको छ।
नेता दत्तले बहुमत केन्द्रीय सदस्यको निर्णयले सहअध्यक्ष राजकिशोर यादवलाई पदबाट बर्खास्त गरी कारबाही गरेको दाबी गर्नुभएको थियो। दत्तले असार १७ गते आफूसँग १२ जना केन्द्रीय सदस्य रहेको दाबी पनि गर्नुभएको थियो। उता कार्यवाहक अध्यक्ष राजकिशोर यादव पक्षधरले आफ्नो पक्षमा १५ जना केन्द्रीय सदस्य रहेको दाबी गरेको छ। नेता दत्तले सीताराम अग्रवाल आˆनो पक्षमा रहेको दाबी गर्नुभएको थियो तर अग्रवालले शुक्रवार पत्रकार सम्मेलनमा आफू नन्दन दत्तलाई नेता नमानेको र उहाँको पक्षमा समेत नरहेको जानकारी गराउँदै राजकिशोर यादवलाई
कार्यवाहक मान्दै उहाँकै पक्षमा रहेको बताउनुभएको छ।