अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?
निर्मलकुमार आचार्य
 

यतिखेर रोजगारीका लागि विदेशिने युवाको संख्या दिनहुँ बढिरहेको छ भने पढ्न जानेको घुइँचो पनि उर्लन थालेको छ। हातमुख जोड्ने माध्यम नभएपछि विदेशी भूमिमा शरण पर्न जानु अस्वाभाविक होइन। देशभित्रै कामकुरोको जोहो मिलाइदिने हो भने पक्कै यहाँका युवक, युवतीलाई विदेशमा भौंतारिइरहनुपर्ने थिएन। ठूलठूला नारा, भाषण र राजनीतिक दलका टुटफुटका नौटंकीबाहेक हातलागे शून्यको अवस्थामा आम युवा विरक्तिँदै मुग्लानिनु अनौठो कुरो भएन।

हुँदाहुँदा पढ्न जाने विद्यार्थीको संख्यासमेत हृवात्तै बढेको छ। पढाइको बहाना गरी विदेश पुग्ने र त्यहाँ काम गर्ने कथित विद्यार्थीको कुरो होइन। तिनलाई एकातिर राखेर साँच्चिकै पढ्न जाने विद्यार्थीको चाप हेर्दा पनि आश्चर्य लाग्छ। वर्षेनि हजारौं विद्यार्थी पढाइकै लागि नेपाल छाडिरहेका छन्। छात्रवृत्ति पाएर पढ्न जानेको कुरो गर्न खोजिएको होइन, मोटै रकम चढाएर विदेश जाने विद्यार्थी यतिखेर चिन्ताका विषय बनेका छन्।

छापा तथा टेलिभिजन, रेडियोमा व्यापक ढंगमा भइरहेका विज्ञापनबाट पनि वैदेशिक शिक्षालयका लागि नेपाल उम्दा बजार रहेको बुझ्न गाह्रो पर्दैन। रहनसहन, भाषाबोली मिल्ने भारतका विश्वविद्यालय मात्र होइनन्, एक-डेढ वर्ष भाषा सिकेर मात्र पढाइमा प्रगति गर्न सकिने चीनका विश्वविद्यालय पनि छात्र, छात्रा आकषिर्त पार्न तँछाडमछाड गरिरहेका छन्। एमबीबीएस, नर्सिङ, इन्जिनीयरिङ आदि विषयका लागि बंगलादेशका विश्वविद्यालय पनि निकै सुरिँदै आएका छन्। युरोप, संयुक्त राज्य अमेरिका, अस्टे्रलिया आदिका विश्वविद्यालय पनि नेपाली विद्यार्थी तान्न माहिर छन्। डेनमार्क, टर्की, युक्रेन, फिलिपिन्स, जापान, थाइल्यान्ड आदिका विश्वविद्यालयको चुम्बकत्व पनि नेपाली विद्यार्थीमाझ कम छैन।

जेहनदार, मेधावी विद्यार्थीभन्दा पनि दामदार विद्यार्थी सबैका चाहना बनेका छन्। भर्खर एसएलसी उत्तीर्ण गरेका विद्यार्थीदेखि १२ नतरिसकेका विद्यार्थीलाई समेत अनेक आकर्षण देखाई आफूतिर तान्ने जोडदार प्रयास गर्न कोही चुकिरहेका छैनन्। अखबारका पाना र टेलिभिजनका पर्दामा देखिने लोभलाग्दा विज्ञापनले विद्यार्थीलाई मात्रै होइन, अभिभावकलाई समेत लट्ठ बनाइरहेका छन्। तारे होटलहरूमा गरिने छलफल, अन्तक्रिर्या आदि कार्यक्रमले थप मोहनी लगाएका छन्। विश्वविद्यालय पिच्छेका स्थानीय एजेन्टले बाह्रै महिनाजसो तिनका महिमाको बिन नबजाइरहेका होइनन्, बेलाको सुरका निम्ति हुनसक्छ, धेरैजसो विश्वविद्यालयबाट उतैका एजेन्टसमेत यहाँ धर्ना दिएर बसिरहेका छन्। राजधानी, विराटनगर, वीरगन्ज, जनकपुर, नेपालगन्ज आदिका कतिपय होटलकक्ष अहिले तिनै विश्वविद्यालयका एकाइ कार्यालयमा परिणत भएका छन्।

यसपालि अचानक यो परिदृश्य देखिएको भने होइन। विगत केही वर्षदेखि मात्रा बढ्दै आएको सबैसामु प्रष्टै छ। नेपाली विद्यार्थी तान्न बाहिरका विश्वविद्यालयले अनेक खाले तिगडमसमेत चालिरहेका छन्। हुँदै नभएका सुविधा र बन्दोबस्तको सपना देखाउने पनि कम छैनन्। चर्को विज्ञापन गरिरहेका कतिपय विश्वविद्यालय, बोर्ड आदिको आधिकारिकता एवं प्रामाणिकतासमेत प्रश्नचिन्हभित्र छन्। ढाकामा आˆना छोरालाई एरोनोटिकल इन्जिनीयरिङ पढाइरहेका अभिभावकलाई वर्षदिनपछि मात्रै सम्बद्ध कलेज फर्जी रहेको थाहा हुँदा कस्तो स्थिति भयो होला, कल्पना गर्नसकिन्छ। यो केही वर्ष अघिको कुरो हो, त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकले यो पीडा भोग्नुपरेको थियो। एक प्राध्यापकजस्ता व्यक्ति जो स्वयं ढाकासमेत पुगेका थिए, उनी त झुक्यानमा परे भने अन्य सर्वसाधारण नेपालीको कुन हबिगत होला ? कसले विचार्ने ?

सञ्चारमाध्यममा ठूलो होहल्ला गरी बजार फैलाएर बसेका शिक्षालयबारे सम्बन्धित निकायले चासो राख्नुपर्ने हो कि होइन ? आम नागरिकलाई सही सूचना दिने दायित्व कसको हो ? मुलुकको भविष्यका कर्णधार उच्चशिक्षाका नाममा नठगियुन् भन्नेतर्फ राज्य पक्ष के कति चनाखो रहेको छ ? जनसाधारणले जान्न पाएका छैनन्। यहाँ दश जोड दुई -१२)को नतिजा ननिस्कँदै विदेशी विश्वविद्यालयले तिनलाई भर्ती क्रममा राख्नु कहाँसम्म उचित हो ? यस्ता कैयन् प्रश्न छन्, जसको समाधान छिट्टै खोजिएमा आम विद्यार्थी तथा अभिभावकले रूमलिनुपर्ने छैन।

शिक्षाको स्तरीयतामा नेपालकै पठनपाठन पनि कम्ताको नरहेको जगजाहेर छ। उच्चशिक्षाका लागि अर्बौंको रकम विदेशिनु र यहाँका शिक्षालयमा चाहिँ स्थान अभावको राग अलापिनु कहाँसम्म उचित हो ? शिक्षाको डाडुपन्यू समात्नेले सोच्नैपर्छ। कैयन् विद्यार्थी निश्चय नै पहिले नेपालकै विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न चाहन्छन् तर यहाँ निश्चित संख्या तोकिनाले ती विदेशीभूमि ताक्न विवश बनेका हुन्। खासगरी 'एमबीबीएस' अध्ययनका लागि भारतबाट विद्यार्थी ओइरिने क्रम हाल आएर कम हुनुलाई चिन्ताको पक्ष नठानिनु खट्कँदो कुरो हो। इन्जिनीयरिङ शिक्षाकै कुरो गर्ने हो भने पनि नेपालमा नपाए मात्र अन्यत्र जाने सोच अधिकांश विद्यार्थीमा रहनुले पनि सकारात्मक कोण झल्काइरहेको छ तर सम्बन्धित निकायको ध्यान अपेक्षित दिशातर्फ उदार हुनसकेको पाइँदैन। शिक्षा, व्यवस्थापन, पर्यटन, होटल व्यवस्थापनलगायतका विषय पनि यहाँ राम्रै पठनपाठन भइरहेका छन्। शिक्षाविद्, नीतिनिर्माता, राजनीतिकलगायत तमाम बुद्धिजीवी वर्गले उच्चशिक्षाका नाममा विदेशिने विद्यार्थीबारे अविलम्ब उचित निर्णय लिनैपर्छ। विद्यार्थी विदेशिनुको अर्थ राष्ट्रिय रकम विदेशिनु त हो नै साथसाथै यहाँका शिक्षालयप्रति जनताका ह्रासोन्मुख भावस्थितिको प्रतीक पनि हो। अरू मुलुकले जस्तै बरु अन्यत्रबाट विद्यार्थी ल्याउने तारतम्य मिलाउनु सर्वथा बुद्धिमानी हुनेछ। नेपालको भौगोलिक अवस्था, सुरम्य वातावरण आदिले गर्दा यहाँ विभिन्न मुलुकबाट विद्यार्थी तान्नसकिने सम्भावना प्रचुर छ, शैक्षिक स्तरीयताकै सन्दर्भमा पनि अझ उकास्ने बन्दोबस्त मिलाउन यहाँका विज्ञ निश्चय नै कमजोर छैनन् तर यी सबैको व्यवस्था मिलाउन राज्य नै जुर्मुराउनुपर्छ। नेपालका विद्यार्थी अब अन्त पढ्न जाने होइन, विदेशी विद्यार्थी नेपाल पढ्न आउने परिपाटीको विकास आजको अपरिहार्य आवश्यकता बनेको छ। यसका निम्ति सरकारी प्रयास मात्र पर्याप्त नहुनेमा शंका रहँदैन, निजी क्षेत्रमा उडान भरिरहेका तमाम पक्षलाई यो राष्ट्रिय महायज्ञमा समाहित गरिएमा केही वर्षभित्रै आशातीत उपलब्धि हासिल हुने निश्चित छ।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home