काठमाडौँ, असार १७ गते। श्रम तथा रोजगारमन्त्री कुमार बेलबासेले वैदेशिक रोजगारी व्यवसायीलाई जिम्मेवार भएर आफ्नो व्यवसायलाई आगाडि बढाउन निर्देशन दिनुभएको छ।
आज यहाँ आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आइतबार यहाँ आयोजित २०औँ वाषिर्कोत्सव कार्यक्रममा उहाँले रोजगारीका क्रममा विदेशिएका नेपालीको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै कामदारको पक्षमा व्यवसायीलाई जिम्मेवार हुन निर्देशन दिनुभएको हो।
वैदेशिक रोजगारीसँग सम्बन्धित सबै निकायहरूसँगको छलफलबाट यस क्षेत्रको समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै मन्त्री बेलबासेले भन्नुभयो, रोजगारीका निम्ति विदेशिने कामदारको पक्षमा यस क्षेत्रको व्यवस्थापन गर्ने व्यवसायी र सरकारी निकाय कार्यरत हुनुपर्छ।
स्वदेशमै रोजगारी सिर्जना गरी युवाशक्तिको व्यवस्थापन गर्नुपर्ने बताउँदै उहाँले तत्कालका लागि वैदेशिक रोजगारीको विकल्प नभएकाले सरकारले यस क्षेत्रमा भएका समस्यालाई समाधान गर्दै आगाडि बढ्ने स्पष्ट पार्नुभयो।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिव विनोद केसीले वैदेशिक रोजगारीलाई व्यवस्थित गरी नेपाली नागरिकको सुरक्षा गर्नु राज्यको कर्तव्य भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न स्पष्ट योजनासहित आउन व्यवसायीलाई आग्रह गर्नुभयो।
वैदेशिक रोजगार विभागका निमित्त महानिर्देशक योगराज बराल र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निर्देशक गिरिजा शर्माले सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको पक्षमा निर्णय गर्ने स्पष्ट पार्दै व्यवसायीहरूले यस कार्यमा सघाउनुपर्नेमा जोड दिनुभएको थियो।
व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङ र निवर्तमान अध्यक्ष सोमलाल बाटाजुले वैदेशिक रोजगार व्यवसायलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिँदै यस व्यवसायसँग सम्बन्धित नीति नियमलाई समय अनुकूल परिवर्तन गर्न आग्रह गर्नुभयो।