काठमाडौँ, असार ११ गते। नेपाल स्टक एक्सचेन्जमा भएको कारोबारमा नेप्सेमा दोहोरो अङ्कको बढोत्तरी भएको छ।
राजनीतिक अन्योललाई चिर्दै सहमतीय सरकारको गठन र आर्थिक वर्ष ०६९/७० को बजेट आउने आशामा लगानीकर्ताहरूले नेप्सेमा सेयर खरिदको माग बढाउन थालेपछि सोमबार नेप्से १०.२६ अङ्कले बढेको हो।
सोमबार नेप्सेको कारोबारमा बैङ्क तथा वित्तीय संस्थाहरूको प्रायः सबै कम्पनीहरूको सेयरको माग उच्च रहेको पाइएको थियो भने मागअनुसार सेयर बेच्न लगानीकर्ता तयार देखिएनन्।
सेयरका ठूला लगानीकर्ताले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा ब्याज तिर्नका लागि ठूलो मात्रामा सेयर बिक्री गरिसकेको कारण पनि सेयर बिक्रीको चाप नबढेकाले नेप्सेमा सुधार देखिएको विज्ञहरू बताउँछन्।
सोमबार नेप्सेमा जम्माजम्मी ७७ वटा कम्पनीको एक हजार ४०८ कारोबारबाट एक लाख ३५ हजार ५८५ कित्ता सेयरको कारोबार भई तीन करोड ८८ लाख ९५ हजार ४९७ रुपियाँ बराबरको सेयर खरिद-बिक्री भएका छन्।
नेप्सेमा सोमबार धेरै कम्पनीको सेयर मूल्यमा सुधार आए पनि विशेष गरी बैंकिङ क्षेत्रको सेयर मूल्यमा सुधार आएकोले बैंकिङ इन्डेक्स भने १३ दशमलव ७६ अङ्कले बढेको छ।
सोमबारको कारोबारमा कमाउने कम्पनीहरूमा स्ट्याण्डर्ड बैङ्क ६९, नबिल बैङ्क ५९, एसबीआई बैङ्क ३०, बैङ्क अफ काठमाडौँ २५, एभरेष्ट बैङ्क २१ र चिलिमे हाइड्रो पावरको २३ रुपियाँ रहेका छन्।