अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
सम्पादकिय/विचार
 
लोकसेवा आयोगमाथि जनविश्वास
 

एकतन्त्रीय शासन व्यवस्था होस् वा राजनीतिक उतारचढावका दिन हुन्, लोकसेवा आयोगले सर्वसाधारण र परीक्षार्थीका आँखामा निष्पक्षता र स्वच्छताको जनविश्वास कमाएको छ। लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गर्नुको अर्थ राष्ट्रसेवक हुनुमात्र होइन, फैलदो आकारको बेरोजगारीको बजारमा रोजगारी पाउनु पनि हो। यसबाट रोजगारी मात्र होइन मुलुकबाट पाइने अवसर पनि पाउनु भएकाले यस्तो परीक्षामा जनविश्वास कायम गर्नुको राष्ट्रिय महìव रहन्छ। नेपालकै अन्य सङ्घसंस्थाहरूले लिने सेवा परीक्षाको निष्पक्षतामा कुन तहसम्मको विश्वास गरिन्छ भनेर यहाँ भनिरहनु पर्दैन। यस्ता परीक्षामा निष्पक्षता गरिएन भने मुलुकले उत्कृष्ट जनशक्ति नपाउने मात्र होइन राज्यद्वारा वितरित अवसरमा अनियमितता गरिनु पनि हो।

मुलुकका धेरैजसो संस्थाका काम कारबाही यदाकदा विवादमा तानिनेगरेका पनि छन्। लोकसेवा आयोग भने कर्मचारी छनोटका सबैजसो परीक्षा अपेक्षाकूत निर्विवाद निष्पक्षता कायम गर्न सफल देखिएको छ। आयोगले एकातिर समायानुकुल प्रतिष्पर्धी र दक्ष जनशक्तिलाई राष्ट्र सेवाका लागि मार्गप्रशस्त गर्नुछ भने अर्कोतिर मुलुकमा सीमित मात्रमा रहेको सरकारी सेवा/रोजगारीको अवसरलाई धेरैभन्दा धेरैको पहुँचमा पुर्‍याउनु छ। विगतको तुलनामा यसले पाठ्यक्रमलाई सेवासँग बढी तादात्म्य गर्दै ल्याएकाले औपचारिक ज्ञानलाई व्यवहारमा उतारी जनसेवालाई प्रभावकारी बनाउन सहयोग पुगेको अनुभव गर्नसकिन्छ तर यस्तो परिमार्जनलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता महसुस गरिएको छ। प्रशासन सेवामा प्रवेश गर्न चाहनेलाई आइस्टाइनका सिद्धान्त घोकाउनुले प्रशासनको कार्यसम्पादनमा कति अर्थ राख्दछभन्ने जस्ता प्रश्नहरू आयोगका परीक्षाका सन्दर्भमा उठ्ने गरेका छन्

आयोगलाई समयानुकूल, प्रभावकारी र चुस्त बनाउन आयोग आफै र राज्यका तर्फबाट अझ धेरै काम गर्न बाँकी छ। खासगरी परीक्षाका पाठ्यक्रमलाई सेवा उपयोगी बनाउनु, नयाँ र युवा, जो सञ्चारलगायतका प्रविधिमा दक्ष छन् उनीहरूलाई नेपाल सरकारको सेवामा आकषिर्त गर्न आयोगले विभिन्न काम गर्न सक्दछ। यसरी काम गर्नका लागि आयोगलाई अत्याधुनिक साधन, प्रशस्त स्रोत र नियमित नियुक्तिको आवश्यकता पर्दछ। तर दुःखको कुरा यत्रो जिम्मेवारी पाएको संवैधानिक आयोगमा नियुक्तिजस्तो नियमित काम पनि यथासमयमा हुन सकेको छैन। आयोगले भनेजति स्रोत पाउनसक्दैन र उसले शाखा तथा सेवा विस्तारका योजनालाई खुम्च्याउनु पर्ने हुन्छ। यस्तो अवस्थामा आयोगले गर्ने काममा चुस्तता खोज्नु स्वाभाविक हुँदैन। छ दशकलामो इतिहासको आयोगको जुन प्रकारको संरचना र सङ्गठन हुनुपर्ने हो। त्यस्तो देखिदैन। हाम्रा नयाँ पुस्ता जो नेपालमा बसेर विदेशी विश्वविद्यालय लगायतका निकायमा कम्प्युटरको सहायताले परीक्षा दिएर तत्कालै परिणाम सुन्न सक्दछन् तिनीहरूले लोकसेवा आयोगका परीक्षाको फारम भर्दादेखिको हैरानीसँग जुध्ने साहस नै गर्दैनन्। यस्ता किसिमका परीक्षा र परिणाम प्रकाशित गर्ने प्रणालीको विकास गर्नसक्ने हो भने हाम्रा दक्ष पुस्ताहरू लोकसेवामार्फत मुलुकको सेवामा प्रवेश गर्नसक्दछन तर आयोगको यही संरचना र लगानीबाट यस्तो अपेक्षा गर्नसकिदैन। विदेशका विभिन्न सेवामा नेपाली युवाले जुन सफलता पाएका छन् त्यस्तो सफलतालाई नेपालमा नै आकर्षण गर्न लोकसेवा आयोगलाई समय सुहाउँदो र प्रविधि अनुकुल बनाउन सरकारले तत्कालै कार्ययोजना ल्याउनुपर्छ। कोराका कपडाले पोको पारेर फारम राख्नुपर्ने "हजुरबा" प्रविधिले हाम्रा नाति पुस्तालाई सरकारी सेवाप्रति 'करिश्मा' देखाउनसक्दैन। मुलुक पछिल्लो समयमा समावेसीको अभ्यास गर्दैछ। आयोगले नै प्रशासन सेवाको समावेशीकरणको मार्गप्रशस्त गर्ने भएकाले यसका लागि आवश्यक कानुनी तथा व्यवहारिक साधनको उपलब्धता थप आवश्यक देखिएको छ।

 
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home