विदेशमा भाषिक विवादले उग् रूप लिइनसके पनि जातीय पहिचानको मुद्दाले सिर्जित परिस्थितिसँग सर्वसाधारण नेपालीले केही दिनअघिसम्म पनि जुध्दै आएकै हुन्। जेठ १४ गते नयाँ संविधान नआएकै कारण आमनेपाली अहिले बन्दमुक्त वातावरणमा गरिखाँदै छन्। जेठ १४ गते नयाँ संविधान जारी भएको भए सम्भव थियो अहिले कति थरिका तनावबाट ग्रसित हुन्थ्यो होला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नेपाल।
अब विदेशको पनि कुरा गरौँ, बेलायती प्राथमिक विद्यालयमा खाँटी अङ्ग्रेज र अङ्ग्रेजी मातृभाषा भएका विद्यार्थीको सङ्ख्या घट्दै गएको मात्र होइन उनीहरू अल्पसङ्ख्यकमै पर्न थालिसकेका छन्। बेलायती सहर बर्मिङघमको इङ्ग्लिस मार्टियर्स क्याथोलिक स्कुलमा अध्ययन गर्ने चार सय १४ विद्यार्थीले ३१ विभिन्न भाषा बोल्छन् अर्थात् उनीहरूको मातृभाषा अङ्ग्रेजीबाहेक अन्य हो। यस्तै उनीहरूको जातीय पहिचान पनि खाँटी बेलायती होइन।
यस विद्यालयमा अध्ययन गर्नेमध्ये बहुसङ्ख्यक विद्यार्थी पाकिस्तानी पृष्ठभूमिका हुन् र उनीहरूको बोलीचालीको मुख्य भाषा उर्दू र मिरपुरी हो। यसलाई विडम्बना नै मान्नुपर्छ। बेलायती क्याथोलिक विद्यालयका शिक्षकशिक्षिका विद्यार्थीलाई अङ्ग्रेजी अतिरिक्त भाषाका रूपमा सिकाउन प्रशिक्षित पनि गरिएको छ। यतिमात्र होइन कहिलेकाहीँ विद्यालयले अनुवादकसमेत प्रयोग गर्ने गर्छ । त्यस्तै नयाँ विद्यार्थीलाई एउटै मातृभाषा भएका विद्यार्थीसँग जोडी बनाएर अङ्ग्रेजीका शब्द सिकाउने पनि जुक्तिको उपयोग गरिएको छ।
बर्मिङघम मेलका अनुसार यस सहरका चार सय ३० प्राथमिक तथा माध्यमिक विद्यालयमा एक सय २० भन्दा बढी भाषा बोलिन्छन्। यस तस्बिरमा इङ्ग्लिस मार्टियर्स क्याथोलिक स्कुलमा अध्ययनरत विद्यार्थीमध्ये एक नेपाली मातृभाषी विद्यार्थी प्रतिनिधि पात्रका रूपमा देखिएकी छन्। यसबाट पनि बेलायतमा नेपाली समुदायको बढ्दो उपस्थितिप्रति सङ्केत गर्छ। र, अर्को कुरा अहिलेसम्म नेपालीका रूपमा परिचित हुने सबै नेपाली जातीय पहिचानपछि जात र थरबाट पहिचान गराउन खोज्ने अवस्था पनि आउन सक्छ।
प्रस्तुति ः फिचर डेस्क