काठमाडौँ, जेठ २७ गते। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सडकमा जुलुस होइन सहमतिका लागि प्रयत्न थाल्नुपर्ने बताउनुभएको छ। सरकारविरुद्ध २७ दलले सडक प्रदर्शन गरेको भोलिपल्ट शनिबार नेता नेपालले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो।
पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रिय राजनीतिमा देखिएको अन्योलता र सङ्कटलाई विदेशीहरूले नभई मुलुकभित्रकै राजनीतिक दलहरूको सहमतिले मात्र टुङ्गो लगाउन सक्ने बताउनुभएको थियो।
जोरपाटीको नारायणटारस्थित हिमालय इन्टरनेसनल मोडेल हाइयर सेकेन्डरी स्कुल -हिम्स) को १९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले शिक्षा क्षेत्रमा राज्यले सबैभन्दा बढी लगानी गर्नुपर्नेमा जोड दिनुभयो। सो अवसरमा नेता नेपालले हिम्सको नयाँ भवनको उद्घाटनसमेत गर्नुभएको थियो।
उहाँले नेपाली समाजमा शिक्षाप्रतिको दृष्टिकोण परिवर्तन हुँदै गएको विश्लेषण गर्नुहुँदै भन्नुभयो- "मजदुरी गरेर पनि छोराछोरीलाई गुणस्तरीय शिक्षा दिने परिपाटीको सुरुआत भएको छ। शिक्षाप्रति समाजमा आएको परिवर्तनलाई अझै विकास गर्नुपर्छ।"
हिम्स उच्च माध्यमिक विद्यालयका पि्रन्सिपल आर.सी. खनालले व्यापार होइन सेवामूलक संस्थाका रूपमा हिम्सलाई अगाडि बढाउँदै आएको बताउनुभयो।
सो अवसरमा हिम्सका शिक्षक तथा कर्मचारीलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।