कसैले अशेष मल्ललाई भेटेर 'तपाईंको नाम के हो ? भनेर प्रश्न गर्यो भने सायद उहाँको मुखबाट ˆयाट्ट निस्कन सक्छ 'सर्वनाम'। अशेष मल्ल र सर्वनाम एकअर्काका पर्याय भएकैले पनि हुन सक्छ। दुई दशकको उमेरदेखि नै नाटक विधामा लागेको मान्छे उहाँ ६ दशकको उमेर छुन लाग्दासम्म नाटकमै लागिरहनुभएको छ। सर्वनामकै लागि उहाँले आˆनो युवा उमेर व्यतीत गरिसक्नुभएको छ। २० वर्षअघि कालिकास्थान
-काठमाडौँ) निर जग्गा किनेर नौ वर्षअघि भवन बनाउन थाल्नुभएको उहाँ यतिखेर सर्वनामको भवनमा बसेर सुखको सन्तुष्टि अनुभूति गरिरहनुभएको छ। लाग्छ- उहाँसँगै कैयौँ नाटकपे्रमीले पनि यस्तै अनुभूति गरेको हुनुपर्छ।
गएको मङ्गलबार सर्वनाम भवनको क्याफेछेउमा बसेर उहाँ भन्दै हुनुहुन्थ्यो, "कसैसँग एक पैसा सहयोग, चन्दा नलिईकन नाटकबाटै कमाएको पैसाले यस्तो भवन बनाउनु र काम थाल्नु साँच्चै सुखको क्षण हो मेरा लागि।" बोलीमा पनि त्यत्तिकै ओज थियो उहाँको, उज्यालो अनुहार पारेर उहाँले यसो भनिरहँदा सर्वनामसम्बद्ध कलाकार आ-आˆनै काममा लागिरहेका थिए। आर्ट ग्यालरी, पुस्तकालय, पे्रक्षालय, अभ्यास कक्ष, कार्यालय, पाहुना कोठा, क्याफे, भान्सा आदि यावत् कुराको सुविधा भएको सर्वनाम भवनभित्र छिरेपछि वास्तविक कलाको सङ्गम त यहाँ पो रहेछ भनेर सोचिहालिन्छ।
धेरैले शोधको विषय बनाइसकेको अनि विदेशी अध्येताहरूका लागि पनि अनुकरणीय र अध्ययनको विषय बनेको 'सर्वनाम' यतिखेर ३१ वर्षे यात्रामा हिँड्दै छ। २०३८ चैतमा जन्मिएको 'सर्वनाम' यतिबेला कैयौँ कलाकर्मी जन्माउने संस्थाका रूपमा परिपक्व भइसकेको छ। विदेशबाट नाट्यपे्रमी, अध्येता आउँछन्, यहीँका सिनेकर्मी, कलाकार पनि पुग्ने गर्छन्। सर्वनाममा पुग्नेहरूको भीडमा साहित्यकार भने खोज्नुपर्ने अवस्था छ रे। गालीगलौज, टिकाटिप्पणी, वादविवाद, झैझगडा, तेरोमेरोको वातावरणले प्रताडित र प्रभावित हुन थालेकाले हो कि वा राम्रा कुरा देख्नै छाडेकाले हो अचेल प्रशंसा कम, निन्दा बढी हुन थालेको छ। राम्रो काममा मान्छेको ध्यान कम जान थालेको छ। साहित्यकारले पनि गर्व गर्नुपर्ने सर्वनाममा विमोचन, गोष्ठी, अन्तरक्रिया, भेटघाटका लागि निर्देशक अशेष मल्लले सबैका लागि ढोका खुला राख्नुभएको छ। मान्छेले चाहृयो भने, लागिपर्यो भने के कुरा असम्भव हुँदोरहेछ र ?
अशेष मल्लका बुबा खगेन्द्र प्रधानाङ नेपाली साहित्यमा नाम चलेका स्रष्टा। धनकुटाको साहित्यिक वातावरण अनि किशोरावस्थादेखि नै नाटकमा अभिरुचि राख्ने साथीभाइ
-रङ्गकर्मी) सँगै धरान, विराटनगर, वीरगन्ज आदि ठाउँमा नाटक मञ्चन गर्दै नौ दिनमा काठमाडौँ आइपुग्नुभयो उहाँहरू। २०३२ सालमा त्यतिखेर अशेष मल्ल २१ वर्षको हुनुहुन्थ्यो, २१ वर्षे उमेरमा काठमाडौँको प्रज्ञा भवनमा 'तुँवालाले ढाकेको बस्ती' मञ्चन गरेपछि उहाँका साथीभाइ धनकुटा फर्किए उहाँ भने एमए अध्ययन गर्न काठमाडौँमै रहनुभयो। काठमाडौँमै उहाँले २०३८ चैत १८ मा 'सर्वनाम' स्थापना गर्नुभयो। त्यहाँदेखिको यात्रा यहाँसम्म अर्थात् नाट्य जगत्मा अशेष मल्लले करिब चार दशक बिताइसक्नुभएको छ। भवानी घिमिरे, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, दिनेश अधिकारी, किशोर पहाडी, विष्णुविभू घिमिरे, ओममणि शर्मा, अनिता तुलाधर, गोविन्दसिंह रावत आदि कैयौँ स्रष्टालाई समेत सडक नाटकमा अभिनय गराउनुभयो।
सडक नाटकका अग्रज अशेष मल्लको जीवन नाटकमै बित्यो भन्दा पनि हुन्छ, छोराछोरी नाटकमै लागेका छन्, लेखक एवम् उहाँकी पत्नी डा. सावित्री मल्ल -कक्षपति) ले नाटकमै विद्यावारिधि गर्नुभयो। नाटक लेख्ने, नाटकमा अभिनय, निर्देशन गर्ने, परिआउँदा ध्वनि र प्रकाशको पनि प्रबन्ध गर्ने मात्र होइन नाटकमा लागेका कलाकारको रेखदेख पनि गर्नुपर्छ उहाँले। तुँवालोले ढाकेको बस्ती -२०३६), सडकदेखि सडकसम्म -२०४१), अनादिक्रम -२०४५), सडक नाटक -२०४६), शकुनी पासाहरू
-२०६८) उहाँका नाट्यकृति हुन्। साझा पुरस्कार, मुस्याचु पुरस्कार, राष्ट्रिय युवावर्ष मोती पुरस्कार २०३८ र २०४१ मा राष्ट्रिय नाटक महोत्सवमा सर्वश्रेष्ठ नाटककारको पुरस्कार, २०३९ र २०४० मा सर्वश्रेष्ठ निर्देशकको पुरस्कार जित्ने मल्लले अब नाटकका लागि केही गर्न बाँकी छैन, हामीले त सोच्ने यही हो। तर उहाँको सोचाइ फरक छ, "नाटकको क्षेत्रमा धेरै गर्न बाँकी छ, राम्रो नाटक देखाउन बाँकी छ, नेपालका मौलिक कला संस्कृतिलाई नाटकमा प्रस्तुत गर्न बाँकी नै छ। मलाई लाग्छ- अबको १० वर्षमा दक्षिण एसियाले रङ्गमञ्चको नेतृत्व गर्नेछ र त्यसमा नेपाल अग्रपङ्क्तिमा उभिनेछ।"
५८ वर्षको उमेर, ४० वर्षको नाट्यकारिता, २७ वर्षदेखिको प्राध्यापन, ३१ वर्षदेखि 'सर्वनाम' मै समर्पित, यी सबैको समष्टि रूप अशेष मल्ल पद्मकन्या कलेजमा पाँच-सात वर्षदेखि अभिनय, प्राध्यापन गर्ने मल्लले नाटक कृतिसमेत लेख्नुभएको छ। सर्वनाम कक्षमा हामी कुराकानी गरिरहेका छौँ, ७२ वषर्ीय अर्का तन्नेरी कलाकार ओममणि शर्मा पनि सँगै बस्नुभएको छ। उहाँको मुखबाट पनि 'सर्वनाम'का आरोह अवरोहका सुखदुःखका धेरै कुरा सुन्न पाइयो। प्रहरी प्रशासनको हस्तक्षेप, सडक दुर्घटना, बेलाबखत हुने गरेको विवाद र झैझगडा आदिले पनि उहाँहरू विचलित हुनुभएको छैन। निरन्तर यात्रामा लाग्नुभएको छ। के पाउनुभयो त ?' म फेरि प्रश्न गर्छु। "आत्मसन्तुष्टि। -मलाई चार दशक बितेको पनि पत्तो छैन। आज हामी विश्व रङ्गमञ्चसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगिसकेका छौँ र यसको कारण हामी आफूलाई पनि ठान्छौँ। यही हो प्राप्ति।"
उसो भए केही त गुमाउनुभयो होला नि Û
"केही पनि गुमाएको छैन। हामी एउटा गन्तव्यमा हिँडिरहेका छौँ, सानोतिनो गन्तव्यमा, बीचबाटोमै कोही स्टेसनमा ओर्लिए पनि त्यसको मतलब रहँदैन। जीवनमा गन्तव्यमा पुग्न त केही त्याग्नै पर्दोरहेछ।"
त्यागको कुरो आइहाल्यो, उहाँले धेरै त्यागेर नै नाट्य जगत्मा यो स्थान बनाउनुभयो। अशेष मल्लका व्यक्तित्वको पाटो अनेकौँ छन्। जस्तो कि कवि, कथाकार, समालोचक, जीवनीकार, सफल अन्तर्वार्ताकार आदि। नाट्य व्यक्तित्वले उहाँको अन्य व्यक्तित्वलाई घप्लक्क छोपेको छ। २०२८ सालमै पहिलो रचनाका रूपमा कथा छपाउने अशेष मल्लका कविता, कथा, समालोचना, सिद्धान्त, जीवनीका कृति पनि प्रकाशित छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ सदस्यसमेत भइसक्नुभएको छ।
"नाटक रङ्गमञ्चको सीमाभित्र बाँधिदैन, नाट्य प्रस्तुतिले आˆनो समय र स्थल आफैँ निर्माण गर्छ।" सर्वनामको यो कथनजस्तै मल्लले यतिखेर विश्व रङ्गमञ्चमा आफू र नेपाली नाटकलाई फैलाइसक्नुभयो। असन्तोष यतिमात्र हो नाटककार अशेष मल्लको कथाकार, कविको छविलाई तुँवालोले ढाकेजस्तै ढाकेको छ। हामी वसन्त खोजी रहेछौं सडक नाटकबाट सडक नाटक थाल्ने अशेष मल्लको अर्को नाम नै 'सर्वनाम' बनिसकेको छ।