काठमाडौँ, जेठ २५ गते। अनुसन्धानका लागि गएको राजस्व अनुसन्धान विभागको टोलीलाई अभद्र व्यवहार गर्ने भरतपुरका दुई जना व्यापारीको विभागले बैङ्क खाता रोक्का गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। विभागका उच्च अधिकारीहरूको बैठकले भरतपुर सहिद चौकस्थित लक्ष्मीनारायण वस्त्रालय र भगवत वस्त्रालयका प्रोपाइटरहरू ध्रुवकुमार श्रेष्ठ, लक्ष्मीनारायण श्रेष्ठ, प्रल्हाद श्रेष्ठको बैङ्क खाता रोक्का गर्ने निर्णय गरेको हो। उनीहरूलाई तीन दिनभित्र विभागको सम्पर्कमा आउन पत्र पठाइएको विभागका एक अधिकारीले बताए।
यो कारबाहीको प्रारम्भिक चरण भएको र उनीहरूमाथि अरू थप कारबाही विभागले गर्दै जाने ती अधिकारीको भनाइ छ।
अनुसन्धानका लागि भरतपुरको सहिद चौकस्थित स्थानीय लक्ष्मीनारायण वस्त्रालयमा छापा गर्ने क्रममा बुधबार वस्त्रालयका धनीसहित स्थानीय व्यापारीको समूहले विभागको टोलीलाई घेराउ गरी अभद्र व्यवहार गरेको थियो। त्यसक्रममा स्थानीय व्यवसायीहरूले विभाग कर्मचारीहरूले घुस मागेको र नदिएपछि पूर्व जानकारीबिना नै पसलमा सिलछाप गरी आतङ्क मच्चाएको भन्दै विरोध जनाएका थिए। त्यसक्रममा विभागका निर्देशक भरतराज सुवेदीसहितको टोलीले लिएर गएको विभागको बा. १ झ ९१३५ नं. को गाडी तोडफोड गरी आगजनी गरेका थिए। व्यवसायीहरूको विरोधपछि विभागको टोलीले सिलछाप गरेको लक्ष्मीनारायण र भगवती वस्त्रालयको गोदामको सिलछाप खोलिदिएको थियो।