काठमाडौँ, जेठ १३ गते। नेपाल नेटबल सङ्घको अध्यक्षमा वीरबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन्। सीतापाइलामा शनिबार सम्पन्न सङ्घको पहिलो साधारणसभाले उनको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चार वर्षका लागि निर्विरोध चयन गरेको छ।
यसअघि मनिजभक्त श्रेष्ठ केन्द्रीय तदर्थ समितिका अध्यक्ष थिए। गतवर्षको चैत १२ गते नेटबल सङ्घ राष्ट्रिय खेलकुद परिषद् -राखेप)मा ११२औँ सङ्घका रूपमा दर्ता भएको थियो। कार्यसमितिका दुई उपाध्यक्षमा तिलकबहादुर लामा र राजु श्रेष्ठ छन्। महासचिवमा दीपक लामा यथावत् रहे। भूपेन्द्र खड्काले सचिव तथा द्वारिका श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी पाए।
टेककुमार राजभण्डारी, डिलकुमारी नेपाल, केदार खड्का, जनकप्रसाद न्यौपाने, पुनम लामा, शैलेन्द्र चिलुवाल, त्रिपाल लामा, वीरबहादुर लामा -माइला) तथा प्रमोद घिमिरे सदस्यमा चुनिए।
नवनिर्वाचित अध्यक्ष तामाङले केन्द्रीय कार्यसमितिको बैठक बसी चाँडै नै सङ्घको भावी योजना सार्वजनिक गर्ने बताउँदै आरजे स्पोर्टस् हाउस नेटबल खेल पोसाकको अफिसियल पार्टनर रहेको जानकारी गराए। अध्यक्ष तामाङले नेटबल खेल महिलाले मात्र खेल्ने भएको हुँदा यसै खेलको माध्यमबाट महिलालाई सशक्त बनाउन सङ्घ लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
महासचिव लामाले नेटबललाई पाठ्यक्रममा समावेश गर्न सङ्घले बहस कार्यक्रम सञ्चालन गर्ने बताउँदै नेटबल खेलका बारेमा प्रकाश पारेका थिए।
यसअघि राखेप सदस्य-सचिव युवराज लामाले साधारणसभाको उद्घाटन गर्दै हरेक खेललाई अवसर प्रदान गर्ने राखेपको नीति रहेको धारणा व्यक्त गर्दै खेलकुदको जग स्कुल र कलेज केन्दि्रत बनाउने अभियानमा राखेप अगाडि बढेको बताए। सदस्य-सचिव लामाले नेटबललाई विशेषतः स्कुलमा केन्दि्रत गर्नुपर्ने सुझाव दिए।
साधारणसभामा केन्द्र र १७ जिल्लाका कुल ४७ प्रतिनिधि उपस्थित थिए। शपथपछि अध्यक्ष तामाङले वसन्तकुमार नकर्मीलाई प्रथम उपाध्यक्ष तथा महेश नेपालीलाई उपाध्यक्षमा मनोनीत गरेको जानकारी गराएका छन्। जम्मा २७ सदस्यीय केन्द्रीय कार्यसमितिमा अब एक उपाध्यक्ष र नौ सदस्य मनोनीत हुन बाँकी छन्।