भैरहवा, जेठ ८ गते। विगत ११ दिनदेखिको बन्दका कारण यस क्षेत्रका होटलहरू सुनसान भएका छन्। अहिले बन्दका कारण पर्यटक आउने क्रम शुन्य प्रायः रहेकाले होटलहरू सुनसान देखिएका हुन्। सधंैभरि विदेशी, भारतीय र आन्तरिक पर्यटकहरूको चहलपहल हुने भैरहवा-लुम्बिनी क्षेत्रका होटलमा अहिले मुस्किलले पर्यटक भेटिन्छन् र ती पनि बन्दका कारणले फिर्ता जान नसकेका मात्रै।
अहिले भारतीय पर्यटक आउने सिजन हो, तर एक हप्तादेखिको बन्दले पर्यटक आएका छैनन्, पहिला बुकिङ गरेका पर्यटकहरूको प्याकेज अनुसारको कार्यक्रम पनि धमाधम रद्ध भैरहेको नान्स होटल भैरहवाका प्रबन्ध निर्देशक चन्द्रप्रकाश श्रेष्ठ -सिपी)ले बताउनुभयो।
"करोडौँको लगानीमा होटल व्यवसाय सुरु गरियो अब त केही सुधार होला जस्तो थियो, बुकिङ पनि राम्रै थिए, तर ११ दिनदेखिको बन्दले सबै चौपट भयो", श्रेष्ठले भन्नुभयो।
विभिन्न जातजाति तथा दल निकटका भ्रातृ सङ्गठनहरूले बन्द आयोजना गरिरहेका छन्। गत वैशाख २८, २९ र ३० गते ब्राहृमण, क्षेत्री, ठकुरी, दसनामी लगायतको बन्द थियो भने ३१ गते मधेसी जनअधिकार फोरम नेपालको बन्द थियो भने १ गतेबाट लगातार थरुहट र ७ गतेबाट आदिवासी जनजाति महासङ्घको आहृवानमा तीन दिने बन्द कार्यक्रम छ।
बन्दका कारण स्थलमार्ग हुँदै आउने धेरै विदेशीहरू सिमानाका बेलहियाबाट नै भारततर्फ लाग्ने गरेका छन्। नेपालमा बन्द रहेको समाचारलाई भारतीय मिडियाहरूले पनि निकै महìवका साथ प्रकाशन र प्रसारण गरेका हुँदा भारत हुँदै आउने पर्यटक न्यून हुँदै जाँदा भैरहवा तथा लुम्बिनी क्षेत्रका होटलहरू सुनसान भएका हुन्।
"बारम्बार हुने बन्दले पर्यटन उद्योगको छवि नराम्रो भैसकेको थियो। अहिले लगातार बन्द भैरहँदा छवि झनै घुलमुलिएको छ, पर्यटकहरू आउने संभावना नै रहेन अब"- लुम्बिनीस्थित होटल होक्केका महाप्रबन्धक सुभाष शर्माले भन्नुभयो। अहिले विदेशी पर्यटकहरूका लागि अफ सिजन भएका कारणले गु्रपमा नआए पनि एक्लै अथवा दुईजनाको समूहमा पर्यटक आइरहेका थिए। तर बन्दपछि होटल सुनसान भएपछि अनिश्चितकालका लागि होटल बन्द गर्ने निर्णय गरेका छौँ। होक्के जस्तै लुम्बिनीमा रहेका अन्य होटलको अवस्था पनि अहिले बन्दका कारण सुनसान छन्, पिस ल्यान्डका प्रबन्ध निर्देशक प्रविण शाक्यले बताउनुभयो।
वैशाख महिनामा पर्यटक राम्रै थिए, तर अहिले अवस्था नाजुक छ, आउने पर्यटकले बुकिङ रद्द गरेका गर्यै छन्, बेलहियास्थित होटल मानसरोवरका सञ्चालक किशोर जोशीले भन्नुभयो।
"भारतीय पर्यटक राम्रैसँंग आएका थिए, बन्दपछि न्यून रूपमा आएका छन् र आएका पनि बाहिर जान सकेका छैनन्, जोशीले भन्नुभयो। नेपाल बन्दको खबरपछि धेरै भारतीय टुर अपरेटरहरूले पर्यटकलाई नेपालमा बन्द रहेकाले भ्रमण नगर्न सुझाव दिने गरेको बताइएको छ।
बन्दपछि भैरहवा क्षेत्रमा नाम चलेका ठूला होटलहरू निर्भाना, यती, पवन इन्टरनेसनल, एस.आर. इन्टरनेसनल, लाकौल, ममता, अशोका, ग्लास्गो, प्रकाश एन्ड प्रकाश, साम्भाला मात्र नभई अन्य साना तथा मझौला होटल पनि ग्राहक नहुँदा सुनसान प्रायः रहेको सिद्धार्थ होटल एसोसिएसनका महासचिव विष्णु गौतमले बताउनुभयो।
उता लुम्बिनीमा रहेका कासाई, बुद्धमाया, क्रिस्टल, बाम्बुज, होक्के, पिसल्यान्डलगायत ३२ बढी होटल पनि बन्दका कारण सुनसान रहेको लुम्बिनी एसोसिएसन अफ होटल एन्ड रेस्टुरेन्ट -हाल) का अध्यक्ष मिथुन श्रेष्ठले बताउनुभयो। बारम्बारको बन्दका कारण भैरहवा र लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायमा असर परेको श्रेष्ठले बताउनुभयो। यस क्षेत्रका होटल व्यवसायमा मात्रै तीन अर्बभन्दा बढीको लगानी रहेको छ।