मुलुक विगतमा कहिल्यै अनुभव नगरिएको जातीय र साम्प्रदायिक द्वेषको खतरायुक्त डिलमा पुगेको अनुभव गरिँदैछ। अबको नेपाली यात्रा सङ्घीयता वा गणतन्त्र भनियो, तर हामीहरू यिनलाई संस्थागत गर्नुभन्दा पनि सङ्घीयता वा गणतन्त्रको घुम ओढेर जातीयताको घिउ खाने दाउमा लागेकाले वर्तमान परिस्थिति आएको हो। केही दल र तिनका नेताहरूको भनाइ र गराइले मुलुक खतराको त्यो डिलसम्म धकेलिन पुगेकाले त्यहाँबाट सुरक्षित मार्ग हुँदै मुलुकलाई पूर्ववत् स्थानमा फर्काउने जिम्मेवारी ती नेताहरूमा बढी रहेको छ। अवस्था स्पष्ट छ, नागरिकका कारणले यस्तो द्वन्द्व तेर्सिएको होइन। उनीहरू परिस्थितिका कारण होइनन् परिणाममात्र हुनसक्दछन्। उनीहरू एउटै थातथलोमा शताब्दीऔँदेखि बस्दै आएका छन्। नेताहरूले केन्द्रमा बसेर जातीय भड्काउका कुरा गरिदिँदा त्यसको असर गाउँमा आँगन जोडिएका बासिन्दामा परेको छ। आँत जोडिएका आफन्तहरूको फाटेको मानसिक खाडलमा मुलुक फस्दैछ। अत्यासलाग्दो सम्भावनातिर मुलुक जाँदैछ। अब यसको रोकथामको सुरुवात नेताहरूले मात्र गर्नसक्दछन् तर स्थानीय सद्भावलाई यथावत् राख्न त्यहाँका बासिन्दाले नै विशेष ध्यान दिनुपर्दछ। सुदूरपश्चिममा अशान्ति हुँदा त्यसको पहिलो मार त्यहाँका बासिन्दालाई पर्दछ भन्नेमा सुदूरपश्चिमवासी नै बढी संवेदनशील भएभने स्थापित सद्भावना खल्बलिन पाउने छैन। स्थानीयबासी एउटै डुङ्गामा सवार यात्री हुन्, डुब्दा डुङ्गा उनीहरू कोही सुरक्षित नहुन सक्छन्। जातीय राज्यविरुद्ध र समर्थनमा सुदूरपश्चिममा भएका आन्दोलनको शृङ्खलाका क्रममा कञ्चनपुरको सुडा गाविसस्थित लालपुरमा शनिबार बिहान पहाडीमूल र थारु समुदायका वासिन्दाबीच झडप भयो। प्रहरी प्रशासनले कुशलतापूर्वक झडप र सम्भावित वितण्डालाई बेलैमा साम्य नगरेको भए परिस्थिति नियन्त्रणबाहिर जानसक्दथ्यो। समाचारअनुसार जातीय प्रदेशविरुद्ध र अखण्ड सुदूरपश्चिमको समर्थनमा गरिएको पहाडीमूलबासीले आन्दोलन फिर्ता लिएका भएपनि उनीहरूविरुद्ध केही थारु आन्दोलनकारीले नाराबाजी गरेपछिको भिडन्तमा पहाडीवासी र एक भारतीय नागरिकको मोटरसाइकलमा तोडफोड गरेपछि झडपमा दुवै पक्षका केही घाइते भए। यी दृष्टान्तलाई बेलैमा ध्यान दिएर मुलुकको अनपेक्षित अशुभ यात्रा रोक्नसकिएन भने हाम्रा सन्ततिका सुनौला सम्भावना खण्डहर हुनेछ।
करिव एक हप्तायता नेताहरू किंकतव्र्यविमूढ छन्। परिस्थिति उनीहरूको हातबाट फुत्किँदै छ तर फुत्किसकेको छैन। विहान एउटा, साँझ अर्को, काठमाडौमा एक, चितवन झरेर अर्थोक बोलिदिने प्रवृत्तिले वर्तमान समस्याको डढेलामा घिउ थपेको छ। संयमित हुनुहोस्, होस् नगुमाउनु होस्। भीडले डोहोर्याएको निरीह प्राणी होइनन् नेता प्रतिकूल परिस्तिथिलाई अनुकूल बनाउनु नेतृत्व हो। त्यस्तै मान्छे मात्र नेता हुनसक्दछन्। सात दिनमात्र छन् संविधान जारी हुन। राजनीति एकपछि अर्कोगरी प्रतिकूल बन्दैछन्। कति सजिलोसँग भनिदिन्छन्-एकल पहिचानको प्रदेश भएन भने संविधान जलाइन्छ। अनि अर्कोले चाहिँ संविधान जल्न नदिन कसैको नयाँ एकलवादी दासता स्वीकारेर
बसिदिनुपर्ने ? कहाँबाट संविधान सुरक्षित हुन्छ ? कोबाट देश सुरक्षित हुन्छ ? एकैछिन् सेलाएर सोचौं असहिष्णुताको पराकाष्ठा त नाघ्दै छैनौँ हामी ? "बहुजन सुखाय" के अबको नेपाललाई अफापै भएको हो ? बहुपहिचानमा कसैले पनि हार्ने छैन तर एकल पहिचानमा एउटाले मात्र जित्नसक्दछ। के गणतन्त्र र सङ्घीयता भनेको एकले हार्ने र बहु -धेरै) ले हार्ने कौडा हो ? त्यसैले अहिलेको समाधान सबैको जित, सम्मान र सहअस्तित्वबाट मात्र सम्भव छ भन्ने आमजनताका विचारलाई उचित स्थान दिनुपर्दछ। जनता र जनताको विचार भनेको नदी हो यसको प्रवाह रोकिदैन तर सधै सही दिशामा नदी प्रवाहित हुन्छ भन्ने छैन। गणतन्त्र र सङ्घीयताका विशेषताले जनतालाई बाँध्नसकिएन भने त्यो अनियन्त्रित नदीको धारले नेपाली मौलिक सामाजिक सहिष्णुतालाई दुई किनारामा पुर्याइदिनसक्छ। त्यसपछि वर्तमान सुडानले भोगेको विभाजनको सम्भावित खतराको विरहमा "हामी नदीका दुई किनारा" भन्न्ो गीत गाउन बाहेक के नै विकल्प रहन्छ र हामीसँग।