कुनै पनि देशको राजनीतिले त्यस देशको साहित्यलाई प्रभाव पारिरहेको हुन्छ। लेखन प्रक्रियाका प्रारम्भिक दिनहरूमा साहित्यकार शासकका स्तुतिगानमै अलि बढी रमेका हुन् कि भन्ने भान हाम्रो साहित्यमा नपरेको होइन। राजतन्त्र रहँदा राजा महाराजाको कीर्ति फैलाउनुलाई एक प्रकारले गर्व नै मानिन्थ्यो।
असल शासकको यश गाउनु त स्वाभाविकै हो तर कहिलेकाहीँ आˆनो क्षणिक स्वार्थ, प्रलोभनका कारण अनावश्यक रूपमा शासकको स्तुतिगान गाउँको इतिहास नै बङ्ग्याउने वा अल्मल्याउने कार्य पनि नभएका होइनन्। यसले समस्त साहित्यलाई नै नकारात्मक दुष्प्रभाव पार्छ। शासकहरू शक्तिमा रहेका हुन्छन्। शक्ति उपयोग गर्न वा त्यसको नजिक पुग्न जोकोही चाहन्छ। यसै सिद्धान्तलाई आधार मानेर आफूलाई त्यस रूपमा प्रस्तुत गराउँदै साहित्यकार हुनुचाहिँ निःसन्देह लज्जास्पद कार्य हो। इतिहास प्रसिद्ध कुरा हो राजा साहसाङ्कले हृदयस्पर्शी, समाजोपयोगी सिर्जनाका सर्जकलाई लाखौँ असर्फी पुरस्कार दिन्थे। त्यस्तै अर्का राजा भोज पनि थिए। यी पनि सिर्जनाकर्मीलाई प्रोत्साहित पार्थे। त्यसो त मुगल सम्राट अकबरको दरबारमा पनि कवि, सङ्गीतकारले राम्रो आश्रय पाएका थिए।
तर, हाम्रो देशमा साहित्यकारलाई जेलका कालकोठरीमा बन्द गर्ने डर, धाक, धम्की तथा प्रलोभन दिने कार्यले नै बढावा पाउँदै आएको देखिन्छ। यसको प्रत्यक्ष उदाहरण मकै पर्वलाई लिन सकिन्छ। वि.सं. १९७७ सालमा श्री ३ चन्द्रशमशेरको पालामा कौशलअड्डाका सुब्बा कृष्णलाल अधिकारीले प्रकाशित गरेको 'कृषि शिक्षावली प्रथम भाग' मकैको खेती नामक पुस्तकलाई लिएर उठेको काण्डलाई नै मकै पर्व भनिएको हो। यस पुस्तकमा 'राता टाउके' र 'काला टाउके' कीराबाट जोगाउने उपाय पनि उल्लेख थियो तर राता टाउकेको अर्थ रातो फरेज टोपी लगाउने चन्द्रशमशेर र कालो टाउकेको अर्थ कालो टोपी लगाउने भीमशमशेरलाई कीरा भनिएको भन्ने राजकाजी अर्थ लगाइयो। यस पुस्तकको पद्य भाग शम्भुप्रसाद ढुङ्गेलले लेखेका थिए। यिनीहरू सबैलाई कारबाही गरियो। यो पुस्तकले त्यत्रो काण्ड मच्चाएपछि चन्द्रशमशेरले राममणि आदीको संशोधनसहित 'कृषि शिक्षावली प्रथम भाग'को नाउँले कृष्णलालको नाम नराखी छपाउने लगाए। यसरी यस पुस्तकको साहित्यिक महत्त्व नभए पनि नेपाली साहित्यिक इतिहासमा अविस्मरणीय घटना बन्न पुग्यो।
राणा शासनकालमा श्री ५ को भन्दा श्री ३ महाराजकै स्तुतिमा अधिक साहित्य रचिए, पुस्तक प्रकाशित भए। किनभने श्री ३ नै यस कालखण्डका सर्वशक्तिमान व्यक्तित्व थिए। जुद्ध महिमा, चन्द्रलहरी, वीरचरित्र, देवमञ्जरी आदि तत्कालीन श्री ३ हरूलाई एक-एकवटा पगरी गुथाएर काव्य रची आशीर्वाद पाउन लालायित हुनेहरू पनि मनग्गे थिए।
शासकीय पदमा बसेर साहित्यमा संलग्न हुने व्यक्ति हामीकहाँ पनि थुप्रै देखिन्छन्। स्वयम् हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा डा. केआई सिंह प्रधानमन्त्रीत्वकालमा केही समय शिक्षामन्त्रीजस्तो शासकीय पदमा आसीन भए। २००२ सालतिर प्रधानमन्त्री पद्मशमशेर जबरालाई स्वागत अभिनन्दन गर्दै तत्कालीन शारदामा संस्कृत, नेपाली, बङ्गाली, उर्दू, अङ्गे्रजी, प|mेन्च, चिनियाँ र जर्मन गरी नौ भाषामा देवकोटाले कविता प्रकाशित गरेका थिए। यसरी स्रष्टाहरू राजनीतिमा पनि उत्तिकै संलग्न देखिन्छन्। यी सबै स्रष्टाले आˆनो सिद्धान्त उक्त सिर्जनामा थोपरेका भए सायद कसैको पनि साहित्यिक क्षेत्र त्यति रुचिकर रूपमा पाठकले ग्रहण गर्ने थिएनन्।
आज हाम्रो देशमा साहित्यको व्याख्या गर्न नेताहरूलाई निम्त्याइन्छ। वरिष्ठ साहित्यकारलाई आमन्त्रण गरेर पुस्तक विमोचन गराउनुभन्दा कनिष्ट मन्त्री वा जिल्लास्तरीय नेता आइदिए पनि भाग्यमानी सम्झन्छौँ। साहित्यिक व्यक्तिहरू एक-एकवटा राजनीतिक पार्टीको छत्रछायाँमा ओत खोजिरहेझैँ महसुस हुन्छ। यसले साहित्यको विकास त हुँदैन नै राजनीतिले पनि आˆनो लक्ष्य प्राप्त गर्न सक्दैन।
साहित्यको सीधा सम्पर्क मानवको आन्तरिक संवेदनासँग हुन्छ। राजनीति त एउटा बाहृय वस्तुमात्र हो, जसको अन्तरात्मासँग कुनै सम्बन्ध हुँदैन। त्यस्तै राजनीति एक परिवर्तनशील चिज हो तर साहित्यको स्वरूप भने शाश्वत हुन्छ। निश्चय नै कुनै पनि देशको राजनीतिक अवस्थाले त्यस देशको साहित्यलाई केही न केही प्रभाव पारिरहेको हुन्छ तर त्यहाँको राजनीतिक व्यवस्थाले त्यस देशको साहित्यलाई निर्देशित गराउनु भने हुँदैन। बरु त्यहाँको साहित्यले नै त्यस देशको राजनीतिलाई दिशाबोध गराउनुपर्छ। हामीकहाँ त्यसो हुन सकिरहेको छैन।
पञ्चायतकाल र अझ त्योभन्दा अगाडिको राणाकालदेखि नै आˆनो शासनसत्ता टिकाइराख्न साहित्यकारलाई राजनीतिक व्यक्तिले यदाकदा प्रयोग गरिरहन्थे। विरोधमा उत्रने लेखक तथा कविलाई डर, त्रास र यातना मात्र होइन पुस्तक, पत्रिका जफत, प्रकाशन बन्द र कारावास जानुपर्ने जस्ता कार्य पनि नभएका होइनन्। पञ्चायती दमनको अन्तिम सिकारस्वरूप पदम ठकुराठीलाई गोली हानिएको थियो। केशवराज पिँडाली पटकपटक बयान दिन अञ्चलाधीश कार्यालय धाइरहनुपथ्र्याे।
यतिमात्र होइन, शासकको दमन सहन नसकी साहित्यकारले यसैको फलस्वरूप देशमा राजनीतिले जनताका मुख र कलम बन्द गर्ने जस्ता क्रियाकलाप हुनासाथ त्यहाँ कुनै न कुनै रूपले साहित्यकार अगाडि आउन बाध्य बन्छन्। पूर्वी पहाडी जिल्लाहरूमा ०२३ सालदेखि चलेको राल्फा आन्दोलन यसैको उपज हो। पञ्चायती व्यवस्थाको दबदबामा अन्याय, अत्याचार र शोषणविरुद्ध एकजुट हुन आहृवान गर्दै साहित्य र सङ्गीतको माध्यमबाट जनचेतना जागृत गराउँदै गाउँगाउँ डुल्ने पारिजात, मञ्जुल, रामेश, रायन, निनु, विमल, अरिम आदि यसका प्रयोक्ता थिए। त्यसैगरी वाक् तथा प्रकाशन स्वतन्त्रता माग गर्दै ०२६ सालमा मोहन कोइराला, मदन रेग्मी, द्वारिका श्रेष्ठ, भुवन ढुङ्गाना, पुरुषोत्तम बस्नेतलगायतले 'अमलेख' नामक आन्दोलन चलाएका थिए। पत्रिका प्रकाशनमा प्रतिबन्ध लगाएपछि 'यङ राइटर्स प|mन्ट' नाम दिएर भाउपन्थी, मोहन घिमिरे, धु्रव सापकोटा, शैलेन्द्र साकार आदिले ०३१ सालमा नयाँ सडकस्थित पीपलबोटमा बसेर बुटपालिस गर्दै सामाजिक विद्रोह गरे। ०३६ सालको जनमतसङ्ग्रहको बेला बहुदलको पक्षमा जनमत बटुल्न सडक कविता क्रान्ति आयोजना पनि भयो। अशेष मल्लका विशेष अनुवाइमा ०३६ सालतिर सर्वनाम समूहद्वारा सडक नाटक अभियान आरम्भ भयो। जब राजनीतिक विकृतिप्रति व्यग्ङ्य गर्दै सडक र गल्लीगल्लीमा नाटक मञ्चन गरी चेतना जगाउने काम भयो। त्यस्तै भोक कविता, साहित्य सञ्चारका लागि हवाई आन्दोलन र सिर्जनशील अराजकजस्ता साहित्यिक आन्दोलनले पनि देशको राजनीतिक अवस्थाप्रति तीव्र विरोध प्रकट गरेका थिए।
०६२-६३ साल र त्यसअघिको प्रत्यक्ष शाही शासनकालविरुद्धमा पनि साहित्यकार तथा कलाकारको योगदान इतिहासमा स्मरणीय छन्। कुनै विशेष परिस्थितिमा अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्कट आइपर्दा सङ्गठनात्मक रूपमा एकजुट हुनु स्वाभाविक हो तर चिन्तन, मनन र आविष्कारका क्षेत्रमा गुट, उपगुट, जमात, समूह र सिद्धान्त बोकी कार्यकर्ता, उत्पादन गर्दै हिँड्नु सही मानिदैन। साधना गर्नेलाई सहयोग चाहिन्छ तर प्रचार र समर्थन चाहिँदैन भन्ने दृष्टिकोण आजकाल निकै सुनिदै आएको छ। तर, यसो भन्दैमा समाजका उपज साहित्यकार निरङ्कुश शासनसत्ता वा राजनीतिक वर्ग अराजक भयो भनेर त्यसविरुद्धमा आवाज उठाउँदा राजनीति गर्यो वा गर्नु हुँदैन भनेर पञ्चायती शासनकालताका भनेजस्ता कुरालाई चाहिँ मान्ने पक्षमा छैनन्। साहित्यकारहरू विचार, बुद्धि र विवेकका धनी मानिन्छन्, गलत काम क्रियाकलापलाई चुप लागेर कलम बन्द गरेर बस्न सक्दैनन्।
राजनीतिले राजनीतिबाटै र साहित्यले साहित्यकै मार्गबाट आ-आˆनो स्वतन्त्र अस्तित्व कायम राखी अगाडि बढ्नुपर्छ। एकका मार्गमा अर्कोले अवरोध तथा हस्तक्षेप नगरी लक्ष्य प्राप्तिमा बढ्नु नै बुद्धिमानी ठहर्नेछ। तबमात्र देशको साहित्यिक विकासमा अझ थप ऊर्जा मिल्नेछ। á