म्याडिड, जेठ १ गते। स्पेनी लिगको अन्तिम दिन आइतबार रियल म्याडि्रडले मायोर्कालाई ४-१ ले हराएको छ। रियलले यसअघि नै लिग उपाधि जितिसकेको थियो। रियलले मायोर्कालाई हराएर कुल एक सय अङ्क बनाई कीर्तिमान पनि कायम गर्यो।
खेलको नवौँ मिनेटमा नै क्रिस्टियानो रोनाल्डोले गोल गरी रियल म्याडि्रडलाई अग्रता दिलाए। करिम बेञ्जामाले चार मिनेटपछि नै अग्रता दोब्बर पारे। मध्यान्तरपछि मेसुट ओजिलले दुई गोल थपे।
अन्तिम दिन भिल्लारियल र स्पोर्टिङ गिजोन रेलिगेसनमा परेका छन्। यसअघि नै रेसिङ सान्तान्डेर दोस्रो डिभिजनमा झरिसकेको थियो । रायो भालाकानोले ग्रानाडालाई १-० ले हराएर रेलिगेसनबाट सुरक्षित हुँदा भिल्लारियललाई दशा लागेको हो। भालाकानाका लागि भेट्रान स्टाइकर भने राउल टामुडोले निणर्ायक गोल गरे।
हामीलाई आफ्ूमा विश्वास थियो, त्यसैले रेलिगेसन जोगाउन सफल भयौँ, रायोका प्रशिक्षक जोस स्यानोडभलले बताए। भिल्लारियल र स्पोर्टिङ दुवै राम्रा टिम हुन् ,आशा छ दुवै टिम लिगमा फर्केनेछन्, स्यानोडभलले भने।
सोही रात, मालागाले स्पोर्टिङ गिजोनलाई १-० ले हराएर अङ्क तालिकामा चौथो स्थान बनायो। यस जितसँगै मालागाले पहिलोपटक च्याम्पियन्स लिग खेल्ने अवसर पाएको छ। लिग विजेता रियल म्याडिड, उपविजेता बार्सिलोना र भ्यालेन्सियासँगै मालागाले आगामी सत्रमा च्याम्पिन्स लिग खेल्नेछ।
मालागासँग गोल अन्तरमा पछि परेपछि एट्लेटीको म्याडिड पाँचौँ स्थानमा चित्त बुझाउन बाध्य भयो। लेभान्टे पनि एथलेटीको बिल्बाओलाई ३-० ले हराएर पहिलोपटक युरोपा लिगमा छनोट भएको छ। एपी