टेलिभिजनमा एउटा युवक देशको ताजा परिस्थितिबारे टिप्पणी गरिरहेका थिए- आज आश पलाउँछ, भोलि हराउँछ। संविधान निर्माणबारे ती युवकको टिप्पणीमा आम नेपालीको चिन्ता प्रतिविम्बित भइरहेको थियो। अखण्ड सुदूरपश्चिमको पक्षमा लामो बन्द, थारूहरूको बेग्लै अडान, क्षेत्री बाहुनको बन्द र मधेसी जनजातिको एकतापछि मुलुक एक्कासि एक बेग्लै मोडमा आइपुगेको लाग्दछ। आशा अन्योलमा मात्र होइन परिस्थिति डरलाग्दो ध्रुवीकरण र अनीष्टतर्फ मोडिन लागेको भान हुन्छ। धमिलो पानीमा माछा मार्नेहरूको उत्साह पनि उत्तिकै बढेको देखिन्छ। पारस्परिक अविश्वास हृवात्तै बढेको छ। संवादको स्थिति हुँदाहुँदै विवाद चर्कने, जातीय दूरी बढ्ने सङ्केत देखिनथालेको छ।
नेताहरूले बेलैमा आˆनो मतभेद कम गरेर संविधानमा सारा ध्यान केन्दि्रत गर्नुको सट्टा सत्ताको खेलमा सारा जोड दिएका कारण पनि अन्योलले प्राथमिकता पाएको हो। पुरातनपन्थी प्रगतिशील नेताहरूको संविधानप्रति अनिच्छा र उदासीनताले पुरातनपन्थी पुनरुत्थानवादीलाई समेत आˆनो 'कार्ड' खेल्ने अवसर दिएको छ। अर्कोतिर, अखण्ड सुदूरपश्चिम, मध्यपश्चिम आदिको खेलले राष्ट्र नै अखण्ड रहने हो, होइन भन्ने भयानक परिस्थितितर्फ देशलाई डोर्याउन लागेको छ। तनाव यसरी नै विद्यमान भइरहने हो भने संविधान बन्ने कता हो कता यो व्यवधान, बेथितिको गर्भबाट डरलाग्दो नयाँ द्वन्द्वतर्फ देश धकिलिन सक्छ। यो भूमिलाई माया गर्ने सचेत नागरिक समाज र इमानदार बौद्धिकवर्ग अगाडि नआउने हो भने बुद्धिहीन बन्द र विवकेहीन राजनीतिले देशलाई अपि|mकी द्वन्द्वको स्थितिमा नपुर्याउला भन्नसकिन्न।
जीवन एक अन्तरसम्बन्ध हो, समाज पनि अन्तरसम्बन्ध हो। एउटाले गरेको कामको अरूमाथि स्वाभाविक रूपमा असर पर्नेगर्छ। सयौं वर्षको हाम्रो एकाङ्गी र पुरातनपन्थी सोचको 'रिएक्सन' अहिले मुलुकले सामना गर्नुपरिरहेको छ। आजको दिनमा हामी सारा नेपालीले एक भएर, के एकै किसिमको नेपालको सपना देखिरहेका छौं ? छैनौं भने किन ? आज जातीयतालाई जति जोड जोडले सराप्ने काम भएको छ त्यसबाट मुक्तिका लागि कहिले गम्भीर भएर सोच्यौं हामीले ? जातीय प्रश्नको विरोध पनि गर्ने र जाति पनि भइरहने यस्तो दुविधा र द्वैध मनस्थितिबाट कहिलेसम्म गुजि्ररहने हो हामी ? जातीयताको विरोध गर्नेले पहिले आफूभित्रको जातिवाद जातिसूचक सम्बोधन हटाउन सक्नुपर्छ। भारतमा कुनै बेला विहारका मुख्यमन्त्री रहेका डा. जगन्नाथ मिश्रले अखवारमा सूचना नै प्रकािशत गरी आˆनो नामबाट मिश्र हटाएका थिए। भारत होस् अथवा नेपाल जातीय समस्या हाम्रो समाजभित्र गहिरो जरो गाडेर बसेको छ। छुवाछूत, भेदभाव, उचनीचको भावनाले सयौं वर्षदेखि मानिसलाई मानिस हुन दिएको छैन। उपेक्षा, अहंकार, घृणा, विचारहीनताको खाडलबाट उकास्न हामीकहाँ सही ढङ्गले कुनै सामाजिक आन्दोलन नै हुनसकेको छैन। हालका सय, दुई सय वर्षयता त झनै उच्चजातकै हालीमुहाली रहँदै आएको छ राज्यसत्तामा। राणाकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल कतै पनि समतावादी समाजको परिकल्पनाले प्रखर प्रवेश पाएन। राज्यसत्तामा एकथरीको मात्र पहँुचले मधेसी, आदिवासी, जनजाति, दलित अहिले जुर्मराएका हुन्। यो पहुँचको आवश्यकता माओवादीले आत्मसात् गरेकोमा उल्टो आज माओवादीलाई नै खलनायक बनाउने कोसिसमा दलहरू, तथाकथित बुद्धिजीवीहरू लागिरहेका छन्। भारतमा गैरबराबरीविरुद्ध प्रखर समाजवादी नेता डा. राममनोहर लोहियाले 'पिछडा पावे सौ में साठ' अर्थात् पछि परेकाहरूले सयमा साठी पाउनुपर्ने नारा नै दिएका थिए। पछि तत्कालीन प्रधानमन्त्री बीपी सिंहले कानुनी रूप दिए स्मरणीय छ, बीपी सिंह राजपूत -क्षेत्री) थिए र आरक्षण नीतिले बाहुन, क्षेत्रीसमेत ठूलो मारमा परे। तर पुर्खाले गरेका पाप नपखाल्ने हो भने व्याप्त असन्तोष र असमानताले समाज नै भताभुङ्ग हुनसक्छ सम्भवतः यो सोच थियो सिंहमा तर आज नेपालमा प्रचण्ड, डा.बाबुराम, किरण बैद्यहरूले अग्रगामी सोच राखेर शासनमा सबैको सहभागिता, सामेलीकरणको प्रयास गर्दा त्यसलाई अपराधी सावित गर्ने प्रयास गरिंदैछ। हो, जातीय अग्राधिकारको विकल्पमा बहिष्करण र उपेक्षामा परेकाहरूलाई कुनै अन्य सम्मानजनक तरिकाले पनि सम्बोधन गर्न सकिन्छ तर त्यो समताको सोचलाई नै नसहने प्रवृत्तिले देशमा दीर्घकालीन शान्ति, सद्भाव, सहकार्य, सहअस्तित्व र साँचो अर्थमा राष्ट्रिय एकताको आधार नै त भत्काउने लागेको छैन यसमा गम्भीर हुन जरुरी छ। यो पनि सही हो, सबै बाहुन, सबै क्षेत्री शासक होइनन। त्यहाँ पनि गरिब, निमुखाहरू प्रशस्त छन् तर के यो सत्य होेइन कि नेपालको राज्यसत्ता, शासन, प्रशासन, सेना-प्रहरी नियुक्तिमा यिनकै वर्चस्व छ ? यहाँसम्म कि गणेशमान सिंह जसले आˆनो जीवन नै प्रजातन्त्रको लडाइँका लागि समर्पण गरेको थिए तिनले समेत आˆनै नेताद्वारा राजदूतमा मात्र ब्राहृम्ण नियुक्तिको विरोध गर्नुपर्यो। बीपी कोइरालासँग गणेशमानको आत्मीय सम्बन्ध अटुट शंृखला त्यसै थिएन। बीपीले २०१५ को आमनिर्वाचनपछि सरोज कोइराला जस्ता प्रखर नेतालाई पन्छाएर रामनारायण मिश्रलाई मन्त्री बनाएका थिए। बीपी भएको भए आजको सन्दर्भमा सम्भवतः बेग्लै ढङ्गले सोच्थे।
तर हाम्रो समाजलाई उद्वेलित गर्दै उठिरहेको आजको समस्या राजनीतिक मात्र होइन सामाजिक र मूलतः दृष्टिकोणको समस्या हो। यो पहाडमा पनि छ, तराई-मधेसमा पनि छ। यसमा सांस्कृतिक, आर्थिक, धार्मिक पक्षहरू पनि जोडिएका छन्। अहिले सडकमा ओर्लिएका आवेश र आक्रोशमा संयम, विवेक र दूरदर्शिताको खाँचो छ। यद्यपि ब्राहृमण, क्षेत्रीका भावना र व्यथा पनि देशले सुन्न, बुझ्न जरुरी छ। पुर्खाले गरेका सबै त्रुटि, दुर्बलताका लागि आजका पुस्ताले 'दण्ड भोग्नुपर्ने कुरा औचित्यपूर्ण हुनसक्दैन। तथापि समता र सन्तुलनको सिद्धान्त बुझ्न नसक्दा, सामाजिक, आर्थिक, राजनीतिक एवं अवसरको असमानताको ठूलो खाडल जसरी हाम्रो समाजमा निर्माण भएको छ, त्यसलाई त पुर्न यो पुस्ताको दायित्व भइसकेको छ। प्रश्न यति मात्र छ, कमभन्दा कम पीडा एवं क्षतिका साथ हामीले हाम्रो समस्या कसरी समाधान गर्न सक्छौं।
दुर्भाग्यवश, देशका जागरुक मानिने जाति, नागरिक समाज, विद्वत्वर्ग पनि अहिले अन्योलग्रस्त छन्। हाम्रो समय र समाजको यथार्थ आत्मसात् नगरी हामी अगाडि बढ्नसक्ने स्थिति छैन। यथार्थवादी, संयम र संवेदनशील हुनुपर्ने सट्टा सुतुरमुर्ग झैं बालुवामा मुख लुकाएर वा हठ वा शक्ति प्रदर्शनको खेलमा लागेमा हामी सामूहिक रूपमा भरुण्ड पक्षी झैँ पञ्चतन्त्रको कथाको आत्मविनाश स्थितिसम्म पुग्न तयार हुनुपर्छ। पहिले मधेसको समस्यामात्र थियो, अहिले थारू, मुसलमान, लिम्बुवान, किराँत र अब खसहरूको समस्या पनि थपिएको छ। यी तमाम समस्याको मूलमा शासकीय दृष्टिकोणको दरिद्रता नै छ। उदाहरणका लागि सुदूरपश्चिममा विकासको समस्या छ। तर अखण्ड सुदूरपश्चिमको नारा आज किन आयो ? पहाडमा स्वदेशी, विदेशी योजना, अनुदानको बाहुल्य हुँदाहुँदै विकास हुनसकेन। बाध्यतावश ती तराईमा झरे। फलस्वरूप त्यहाँका भूमिपुत्र आदिवासी थारूहरू अल्पसङ्ख्यक भए। पहाड र तराई दुवै हारिरहेका छन्। दुवै तनावमा छन्। द्वन्द्वको बीजारोपण आज होइन उहिल्यै भइसकेको थियो जब यो देशका हर्ताकर्ताले विकासको मूल फुटाउने नाममा विकासको मूल बिगारे।
अर्को र महत्वपूर्ण गल्ती यहाँका शासक जातिले मूल छाडेर हाँगालाई मूल मान्न थाले। बुद्ध क्षत्रीय थिए तर उनले क्षत्रीत्वको पृथक् परिभाषा गरे। मानवजातिको कल्याणका लागि घृणामुक्त, अवैरयुक्त, प्रमादमुक्त, जातिमुक्त समाजको परिकल्पना गरे। 'कम्मणो बाम्हन' -कर्मले नै ब्राहृमण) भनी ब्राहृमणको पनि नूतन परिभाषा दिए। पारिपट्ट िसम्राट् अशोकले बुद्धलाई बुझे, हाम्रा शासकहरू भने बुद्धका भाषा बुझ्न छाडेर युद्धका भाषा मात्र बुझ्न सके। त्यसैले हामी आज यति अशान्त, यति बेचैन छौं।