अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
जलवायु परिवर्तन व्यवस्थापन
रघुराम पराजुली
 

कास्कीको अन्नपूर्ण हिमशृङ्खलाको माछापुच्छे्र क्षेत्रमा शनिवार गएको हिमपहिरोबाट वाढी आएको छ। सेती नदीमा आएको बाढीले ठूलो धनजनको क्षति भएको छ। अनुमान गरिएका जलवायु परिवर्तनका असरहरू व्यवहारमा देखिन थालेका छन्। जलवायु परिवर्तनका असरहरूले हिमाली क्षेत्रहरू अन्य क्षेत्रभन्दा बढी संवेदनशील छन्। आगामी दिनमा यस्ता प्रकोपहरू अझ बढेर जान सक्छन्। त्यसैले जलवायु परिवर्तनबाट पर्नसक्ने असरप्रति सजग हुनु आवश्यक छ। हाम्रा क्रियाकलापहरू जलवायु परिवर्तनका असर न्युनीकरण गर्ने तथा अनुकुलित हुने खालका हुनुपर्दछ।

नेपालको हरित गृह ग्यास उत्सर्जनमा न्युनभूमिका रहेपनि जलवायु परिवर्तनको मारबाट अछुतो रहन सक्दैन। त्यसैले जलवायु परिवर्तनबाट पर्नसक्ने असरहरूमा अनुकूलित हुनका लागि अध्ययन अनुसन्धान, वैकल्पिक स्रोत साधन र सचेतनामा ध्यान केन्दि्रत गर्नु आवश्यक छ।

नेपालमा थुप्रै हिमतालहरू जोखिममा रहेका छन्। यिनीहरूको विष्फोटबाट पर्नसक्ने असर निकै भयानक हुनेछ। त्यसैले यस्ता हिमक्षेत्रहरूको संरक्षण गर्नु र यसको प्रभावमा पर्नसक्ने क्षेत्रका वासिन्दाहरूमा जलवायु परिवर्तनका असरवारे सचेतना फैलाउनु ढिलो भइसकेको छ। सेती नदीमा आएको बाढीलाई जलवायु परिवर्तनको प्रतिनिधि प्रभाव मानेर अन्य क्षेत्रमा बेलैमा सावधानी अपनाउनुपर्दछ।

जलवायु परिवर्तन एक नियमित प्रकि्रया हो तर औद्योगिकीकरण तथा खनिज इन्धनको व्यापक प्रयोग एवं वन विनाशबाट उत्सर्जित हरितगृह ग्याँसको कारण जलवायु परिवर्तनमा तीव्रता आएको छ। हरितगृह ग्यासको उत्सर्जन बढ्न गई वायुमण्डल तातिदै जानाले जलवायुमा परिवर्तन हुंँदै गएको छ। जलवायु परिवर्तनको कारण जलस्रोत, कृषि, वन तथा जैविक विविधता, स्वास्थ्य, प्रकोप, पूर्वाधार विकास, पर्यटन तथा जिविकोपार्जनसंग सम्बन्धित विभिन्न क्षेत्रमा प्रत्यक्ष तथा परोक्ष प्रभाव परिरहेका छन्। मुख्यत त मानवीय क्रियाकलापहरू नै जिम्मेवार छन् जलवायु परिवर्तनका असर बढ्नुमा। जलवायुमा तापक्रमको मात्रा बढेको हुनाले यसका प्रभाव महशुुस गर्न थालिएका छन्। वनस्पति स्रोतको नास र हरितगृह ग्याँसको उत्सर्जनबाट विश्वमा तापमान बढिरहेकोे छ।

जलवायु परिवर्तनले गर्दा पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएका क्षेत्रहरू पनि प्रभावित हुने गर्दछन्। जसको संरक्षण र सम्बर्धन यथासम्भव छिटो गरिनु आवश्यक हुन्छ। हरित ग्याँस उत्सर्जनको कारणले धेरै नकरारात्मक असर गर्ने हुँदा उत्सर्जित कामकारवाही न्युन गरी जलविद्युत, सौर्यऊर्जा, वायुऊर्जा, जैविक इन्धनजस्ता वैकल्पिक र वातावरण मैत्री स्रोतहरूको खोजिनिति गरी कार्यान्वयनमा ल्याउनु आवश्यक छ। जलवायु परिवर्तनका असरहरूमा हिमनदी पग्लनु, हिमतालहरू फुट्नु, अल्पवृष्टि, अनावृष्टि, वाढी पहिरो, शीतलहर, जिवजन्तुहरूको स्थानान्तरण, रोगहरूको प्रकोप, वेमौसमी बालीचक्र, जैविक विविधतामा कमि आउनु जस्ता लक्षणहरू देखा पर्दछन्। जलवायु परिवर्तनबाट गरिब, विकासोन्मुख तथा भूपरिवेष्टित देशहरू बढी प्रभावित हुन्छन्। नेपालको अधिकतम तापक्रम प्रति वर्ष सरदर ०.०६ डिग्री सेल्सियसका दरले वृद्धि भएको देखिन्छ र हिमाली क्षेत्रमा तापक्रम बढ्नेक्रम तीव्र छ। विश्व जनसङ्ख्याको करिब ०.४ प्रतिशत मानिस बसोवास गर्ने नेपालको विश्वको कुल हरितगृह ग्याँस उत्सर्जनको करिब ०.०२५ प्रतिशत मात्र भूमिका रहे पनि विश्वतापमान वृद्धिका कारण प्रभावित बन्दै गएको छ। पानी पर्ने समय र अवधिमा परिवर्तन भइरहेको छ। तीव्र गतिमा हिमगलन हुँदै जानाले हिमनदीहरू पातलिंदै र छोट्टंिदै गएको र हिमतालको आकार परिवर्तन हुँदै गएको छ। बाढी, पहिरो तथा डढेलोमा तीव्रता आएको छ।

विश्वका औद्योगिक राष्ट्रहरूले उत्सर्जन गरेको ग्याँसबाट प्रभावित भएका गरिब राष्ट्रहरूलाई कोपेनहेगन सम्झौताअन्सार परिवर्तनसँग जुध्न ठूलो धनराशी सहायता उपलब्ध गराउने भएका छन्। तर प्रदुषण निकाल्ने ठूला राष्ट्रहरूलाई सम्झौताले प्रदुषण कटौती गर्ने मापदण्ड तयार गर्न सकेका छैनन्। जलवायु परिवर्तनबाट कृषि, जलस्रोत, जैविक विविधता, जनस्वास्थ्य तथा पर्यटन क्षेत्रमा परेको प्रतिकूल प्रभाववारे विस्तृत अध्ययन हुन सकिरहेको छैन। जलवायु परिवर्तन तथा त्यससंग सम्बद्ध प्रभावहरू न्यूनीकरण तथा अनुकूलनका लागि प्ा्रभावकारी कार्यक्रमहरू पनि लागु हुन सकेका छैनन्।

जलवायु परिवर्तन नीति, २०६७ मा राष्ट्रिय अनुकूलन कार्यक्रमलाई विकास एजेण्डाको रूपमा कार्यान्वयनमा ल्याउन र जलवायु परिवर्तन सम्बन्धी सवै प्रकारका स्थलगत कार्यक्रमहरू कार्यान्वयन गर्दा कूल बजेटको न्यूनतम ८० प्रतिशत भन्दा बढी रकम स्थानीय स्तरमा पुर्‍याउने, सामाजिक तथा आर्थिक विकासका लागि प्राकृतिक स्रोतको व्यवस्थापनलाई जलवायु-मैत्री बनाउने, स्वच्छ विकास संयन्त्रबाट लाभ लिन स्वच्छ ऊर्जा विकासमा टेवा पुर्‍याउने र वि.सं. २०६८ भित्र कार्वन व्यापार सम्बन्धी राष्ट्रिय रणनीति तयार गर्ने जस्ता कुराहरू उल्लेख गरिएको छ।

प्राकृतिक स्रोत साधनको सदुपयोग तथा दिगो व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनका लागि स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्नुपर्ने हुन्छ। विकास निर्माणका कार्यलाई वातावरण मैत्री तथा समयानुकूल बनाउँदै सञ्चालनमा ल्याउनुपर्ने हुन्छ। जलवायु परिवर्तनले पार्न सक्ने प्रभावहरूको पहिचान एवं विश्लेषण र सम्भावित जोखिमबाट सुरक्षित रहन अनुकूलनका उपायहरू अपनाउनु आवश्यक छ। त्यस्तै जलवायु परिवर्तन सम्बन्धी महासन्धि, अभिसन्धि तथा सम्झौताहरूबाट प्राप्त अवसरहरूको अधिकतम उपयोग गरी जीवनस्तरमा सुधार ल्याउने काममा तदारूपता लिनुपर्ने छ। जलवायु अनुकूलनलाई यथासम्भव सामाजिक तथा आर्थिक विकास एवं आय-आर्जनका क्रियाकलापहरूसँग जोडेर कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ। हिमनदी, हिमताल तथा महत्त्वपूर्ण सिमसार क्षेत्रहरूको अध्ययन तथा अभिलेख गरी जोखिमपूर्ण क्षेत्रहरूमा प्राथमिकताको आधारमा प्रतिकुल प्रभाव न्युनीकरणका उपायहरूमा स्थानीय जनसमुदायलाई सजग, सशक्त र संयम बनाइनु अपरिहार्य छ। जलवायु परिवर्तन एक चुनौतीको रूपमा खडा भएको छ वातावरणीय क्षेत्रमा। यसबाट आँधीवेरी, हुरी, बाढी, डुवान, खडेरी, प्राकृतिक विपद, खाद्य तथा ऊर्जा सङ्कट निम्तिन सक्छ। जसको कारण पारिस्थितिक प्रणालीमा नै खलल पर्न सक्छ। जलवायु अनुकूलनका विधिहरू समय अनि स्थानअनुसार फरक फरक हुन सक्छन्। त्यसैले सबैभन्दा पहिला यसका असर र तिनीहरूको प्रकृतिसम्बन्धमा अध्ययन गरिनुपर्दछ।

जलवायु परिवर्तनको नकारात्मक असरहरूबाट हुने जोखिमबाट सकेसम्म कम क्षति महसुस गर्न अपनाइने प्राकृतिक तथा मानव निर्मित विधि तथा तौरतरिकाको परिवर्तनलाई जलवायु परिवर्तन अनुकूलन भनिन्छ। हरितगृह ग्याँस उत्सर्जन न्युनगर्न विद्यमान स्वच्छ तथा नवीकरणीय वैकल्पिक ऊर्जाका क्षेत्रमा थप सुधार गरी जलवायु परिवर्तनबाट पर्नसक्ने नकरात्मक असरलाई न्यूनीकरण गर्न आवश्यक कार्यक्रमहरू तय गरी प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्दछ।

विद्युतीय ऊर्जामा आधारित यातायात जस्तै विद्युतीय रेल, रज्जुमार्ग, केबलकार, विद्युतीय बस आदिको विकास गर्न सकिन्छ । जलवायु अनुकूलनमा जनस्तरमा क्षमता अभिवृद्धि गर्नुका साथै जनसहभागितामा जोड दिइनुपर्दछ। जतिसुकै राम्रा कार्यक्रमहरू तय गरिए पनि स्थानीय सहभागिता हुन सकेन भने प्रभावकारी कार्यान्वयनको आशा गर्न सकिंदैन। जलवायु परिवर्तन अनुकूलन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दा गरिब, दलित, सीमान्तकृत जनजाति, आदिवासी, महिला, बाल-बालिका तथा युवाकोे सहभागिता सुनिश्चित गरिनुपर्दछ। जलवायु परिवर्तन सम्बन्धी सूचना प्रवाहमा सञ्चार माध्यमको भूमिका सुनिश्चित गरेर अगाडि बढ्नुपर्दछ।

प्रकोप तथा महामारीसँग जुध्न पूर्वतयारीका लागि जनचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्न जोड दिइनुपर्दछ। बाढी पहिरो नियन्त्रण, वृक्षारोपण, जडिवुटी खेती विस्तार, जीवन बीमा, पशुविमा, बाली विमा जस्ता कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुपर्दछ। जिविकोपार्जनका विकल्पहरूको अध्ययन गरी जैविक प्रविधिको विकास गर्नुपर्ने उत्तिकै आवश्यकता छ। दैनिक उत्पादन हुने फोहोरलाई मोहोरमा रूपान्तरण गर्न सकिन्छ। जसबाट वातावरण प्रदूषण नियन्त्रण गर्न सकिन्छ। त्यस्तै जैविक विविधता र परम्परागत सीप, प्रविधि तथा ज्ञानको अभिलेखकरण गरिनु अनिवार्य छ। जलवायु परिवर्तन र यसका असरबारे सर्वसाधारणलाई जानकारी गराई उनीहरूको ज्ञान सीपको महत्तम प्रयोग गरी सहभागितात्मक रूपमा अनुकूलनका कार्यक्रमहरु लागु गर्न सकिन्छ। á

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home