|
मृत्युले मानिसलाई एक पटक मार्छ तर बलात्कारले पटक पटक। नेपालमा प्रत्येक २४ घण्टामा एकजना चेली यस्तै पलपल मृत्युको सिकार भैरहेकी छिन्। सायद त्यस्तो अखबार छैन जसमा बलात्कारका घटनाले स्थान नपाएको होस्।
अखबारका पानामा बलात्कारका घटनासम्बन्धी समाचार छ्यापछ्याप्ती छापिन्छन् हिजोआज। बालिकामाथि सामूहिक बलात्कारका घटना त झन् हृवात्तै बढेका छन्। सामूहिक बलात्कार अनि हत्या यस्ता घटनाले मानव समुदाय संवेदनाहीन बन्दै गइरहेको संकेत गरिरहेको छ। बाबुबाट छोरी सुरक्षित छैनन् यहाँ। दाइबाट बहिनी सुरक्षित बनिनन्। कतिपय देवरले भाउजु देख्न छाडे, जेठाजुले बुहारी अनि यस्तै असुरक्षित बनिरहेका छन् महिला तर न नेपाली कानुनले यसलाई रोक्न सकिरहेको छ न त समाजिक अभियन्ताहरूको अभियानले नै यसलाई कम गर्नै सकिरहेको छ।
बलात्कारका शृङ्खला निरन्तर बढिरहेका छन् शान्तिकालमा पनि। द्वन्द्वका समयमा त्यसकै आडमा बलात्कारका घटना बढेका थिए तर शान्तिकालमा पनि यो नघटेपछि नेपाली समाज रूपान्तरणको अभियानमा यसले धावा बोलिरहेको प्रष्टै बुझ्न सकिन्छ। प्रहरीकै रेकर्डले पनि प्रत्येक दिन एकजना महिला बलात्कृत हुने गरेको देखाउँछ भने प्रहरीसम्म नआएका घटनालाई हेर्ने हो भने त यो संख्या कति धेरै होला ? बलात्कारका अधिकांश घटना त सार्वजनिक नै हुँदैनन्।
सार्वजनिक भइहाले पनि समाजमै मेलमिलाप गरिन्छन्। समाजमा भद्र भनिएकाहरूको दबाब र इज्जत जाने भयले गर्दा बलात्कारका घटना साम्य पारिने परिपाटी विद्यमान छ। अझै हाड नाताका बलात्कारहरू त झन् पारिवारिक स्तरमै मिलाउने गरिन्छ।
बलात्कृत महिलाले समाजमा स्थापित हुन कठिनपर्ने भएकाले सर्वप्रथम त घटना सार्वजनिक नै हुँदैनन्। कथंकदाचित सर्वाजनिक भइहाल्यो भने पनि समाजमै मिलाउने प्रयत्न गरिन्छ। समाजका ठालुहरूको प्रयास असफल भएपछि बल्लतल्ल घटना प्रहरीसम्म पुग्छ तर प्रहरीले पनि त्यसलाई मेलमिलापमै टुङ्ग्याउने प्रयत्न गर्छ। त्यो सम्भव नभए पछि मुद्दा अदालतसम्म पुग्छ। विडम्बना, अदालती प्रक्रिया झन्झटिलो र सुस्त भएकाले दोषीले सजाय पाउने र पीडितले न्याय पाउने कुरा विलम्ब हुन्छ। यस्तै नियतिबाट गुजि्ररहेको छ नेपाली महिला जगत् जसलाई गाँजिरहेको छ पलपल मृत्यु दिने बलात्कारले।
चञ्चले महिला, छोटा कपडा लगाउने महिला, गरिब महिला, कथित तल्लो जातका महिला प्रायः बलात्कारको सिकार बन्छन् भन्ने मान्यता छ जुन सरासर गलत हो। बलात्कारका घटनाले पढेलखेका, शालिन स्वभाव भएका वा लामा कपडा लगाउने महिलालाई छँुदैन भन्ने मान्यता सर्वथा गलत हो। यसले जोसुकैलाई जहाँ पनि सिकार बनाउनसक्छ।
बलात्कारमा मुन्द्रा लगाउने, दादा देखिने पुरुष मात्रै संलग्न हुन्छन् भन्ने मान्यताले गाँजेको छ समाजलाई, जुन सरासर गलत हो। सोझा भनिएका, विद्धान भनिएका र भद्र ठानिएका पुरुषहरू पनि बलात्कार जस्तो जघन्य अपराधमा सामेल हुने गरेको प्रशस्तै घटना छन्।
विद्धान शिक्षकले आफ्नै छात्रामाथि गरेको यौन शोषण, कार्यालय हाकिमले महिला कर्मचारीमाथि गरेको यौन शोषण आदि घटनाले गरिब वर्ग, समुदाय, व्यवसाय र कथित तल्लो जातका महिला मात्रै बलात्कृत हुन्छन् र बलात्कारमा पनि तत्तत् पुरुष मात्रै संलग्न हुन्छन् भन्ने आम बुझाइ गलत साबित गरिदिएको छ।
बलात्कारको सिकार सबै पेसा व्यवसायमा संलग्न महिला हुनसक्छन् र सबै पेसा व्यवसायका पुरुष त्यसमा संलग्न हुनसक्छन्। बलात्कार पेसा, व्यवसाय, धर्म, जात र वर्गमा भन्दा पनि चिन्तनमा भर पर्ने कुरा हो। पुरुषवादी चिन्तन भएका जो कोही पुरुष बलात्कार जस्तो जघन्य अपराधमा संलग्न हुन सक्दछ।
समाजलाई गाँजिरहेको बलात्कारको जघन्य आपराधिक घटनालाई नियन्त्रण गर्न नेपाली कानुन पूर्णतः असफल भइरहेको छ। झन्झटिलो कानुनी प्रक्रियाले बलात्कारका सिकार हुने महिलाको न्यायमा पहुँच स्थापित हुनसकिरहेको छैन्। ३५ दिनपछि मुद्दा दर्ता नहुने कानुन मुख्यतया बाधक छ। अर्कातिर कानुनी उपचार पनि कमजोर छ।
बाबुद्वारा बलात्कृत छोरीका हकमा फरक कानुन, देवरद्वारा बलात्कृत भाउजुका हकमा फरक कानुन अनि आम पुरुषका हकमा फरक कानुनी मान्यता छ। बलात्कारीको पहिचान नभएमा बलात्कृत महिलाको जिम्मेवारी उठाउन तयार देखिँदैन राज्य। उता कुनै पनि कानुनमा बलात्कृत चेलीको उपचार खर्च बेहोर्ने व्यवस्था छैन।
बलात्कारका मुद्दाहरूको सनुवाइ गर्ने छुट्टै कचहरीको व्यवस्था पनि गरिएको छैन। एउटा मुद्दाको फैसला हुन वर्षौं लाग्छ। कानुनले दोषीलाई सजाय र पीडितलाई न्याय दिए पनि पीडितले समाजमा पुनस्थापित हुन सक्दैनन्। बलात्कारलाई प्रमाणित गर्ने मेडिकल प्रक्रिया पनि झन्झटिलो छ र त्यसका लागि उपयुक्त ल्याबको व्यवस्था पनि छैन। यी र यस्तै विडम्बनायुक्त परिस्थितिले गर्दा बलात्कृत महिलाले न्यायको अनुभूति गर्न सकिरहेका छैनन्।
पुरुषको हैकमवादी चिन्तनमा परिवर्तन गर्न नसकिए बलात्कारका शृङ्खलामा कमी आउँदैन। अदालतमा बलात्कारका घटना हेर्ने छुट्टै कचहरीको व्यवस्था गरेर फास्ट ट्रयाक न्याय प्रणाली स्थापित गर्नु जरुरी छ। समाजमा रहेको पुरुषवादी चिन्तनलाई बदल्दै महिलाको आर्थिक, समाजिक र राजनीतिक पहुँच बढाइनुपर्छ।
जबसम्म पुरुषवादी चिन्तनलाई समाजबाट निमिट्यान्न पार्नसकिन्न तबसम्म बलात्कारका क्रूर शृङ्खलाहरूमा खासै कमी आउने अपेक्षा गर्न सकिन्न। चिन्तनमा बदलाव र महिलामैत्री संविधानले मात्रै पुरुषवादी चिन्तनमाथि विजय प्राप्त गर्न सक्छ र पलपल मृत्यु दिने बलात्कारका घटनामा कमी आउनेछ। á |