खोटाङ, वैशाख २० गते। गाउँका ऋणीहरूबाट मनपरी ब्याज असुल्नेक्रमलाई नियन्त्रण गर्न स्थानीय आमा समूहहरूले खोटाङको बतासे-३ मा ब्याजदर निर्धारण गरेका छन्।
बतासे-७ का तीनवटा आमा समूहले गाउँका बचत समूह तथा धनाढ्यहरूले लिने ऋणको ब्याजदर निर्धारण गरेको हो। स्थानीय पाखाचारी आमा समूह, बालिंखा आमा समूह र रातामाटा आमा समूहको संयुक्त बैठकले गाउँमा सयकडा मासिक एक रुपियाँ ब्याजदर निर्धारण गरेको जनसेवा समाज नेपाल जालपाका सामाजिक परिचालक काँशीनाथ दंगालले जानकारी दिनुभयो।
ऋण दिएबापत गाउँमा मासिक सयकडा तीन रुपियाँदेखि पाँच रुपियाँसम्म ब्याज लिइँदै आएकोमा आमा समूहले त्यसलाई घटाएर सयकडा एक रुपियाँ ब्याजदर कायम गरेको सामाजिक परिचालक दंगालले बताउनुभयो।
आमा समूहले अब आगामी जेठ-१ गतेदेखि गाउँमा सयकडा मासिक एक रुपियाँभन्दा बढी ब्याज नलिने र कसैलाई लिन नदिने भएको छ। निश्चित ब्याजदर तोकिएपछि सयकडा पाँच रुपियाँसम्म ब्याज लिँदै आएका गाउँका बचत समूह र व्यक्तीहरूले अब सयकडा एक रुपियाँमात्र ब्याज उठाउन पाउने भएका छन्।
गाउँका विभिन्न बचत समूह तथा व्यक्तिहरूले ऋण दिएबापत चर्को ब्याज लिनेक्रम बढेपछि आमा समूहहरूले यसको नियन्त्रणका लागि ब्याजदर निर्धारण गरेका हुन्।
स्थानीय नागरिक सचेतना केन्द्रको पहलमा गाउँमा सञ्चालित आमा समूह, कृषि समूह, बचत समूह तथा व्यक्तिबाट लिइने ऋणको ब्याज निर्धारण गरिएपछि अहिलेदेखि नै बतासे-३ मा सयकडा एक रुपियाँले ब्याज लेनदेन भइरहेको छ।
निम्न आर्थिकस्तर भएका खोटाङका गाउँ-गाउँका सर्वसाधारण आफ्नो आर्थिक समस्या टार्नका लागि सयकडा पाँचभन्दा बढीमा ऋण लिन बाध्य छन्।
उच्च आर्थिकस्तर भएका गाउँका कतिपय व्यक्तिहरूले यसरी ऋण लगानी गरेबापत आउने ब्याजलाई नै आफ्नो प्रमुख आयको बाटो बनाइरहेका छन्।