|
काठमाडौँ, वैशाख १९ गते। नेपालमा अहिलेको समय लगानी गर्नका लागि उपयुक्त अवसर भएको दावी गरिएको छ। नेपाल चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरले तानका सुनाताको नेतृत्वमा नेपाल भ्रमणमा रहेका जापानी उद्यमी व्यवसायीहरूसँगको भेटघाटका अवसरमा नेपालमा लगानीका लागि अहिलेको समय उपयुक्त भएकोले नेपालमा लगानी बढाउन आहृवान गर्नुभएको बताइएको छ।
जापानीहरूसँगको छलफलमा कार्यवाहक अध्यक्ष तुलाधरले नेपाल दिगो शान्तितर्फ उन्मुख भएको र लगानीका लागि कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि आदि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेकोले त्यस्ता क्षेत्रमा जापानी लगानी बढाउन आहृवान गर्नुभएको हो।
विशाल जनसङ्ख्या भएको नेपालको दुई छिमेकी मुलुक भारत र चीनको बजारसमेत उपलब्ध हुने भएकाले जापानी लगानीकर्ताका लागि नेपाल उपयुक्त थलो हुनसक्ने भएकोले जापानी एकल स्वामित्वको लगानी वा नेपाली व्यवसायीहरूसँगको संयुक्त लगानी नेपालमा भित्र्याउन चेम्बरका अधिकारीहरूले जापानीहरूसँग अनुरोध गरेका हुन्।
उक्त छलफलका अवसरमा जापानी उद्योगी व्यवसायी तानका सुनाताले नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माणमा भएको प्रगतिलाई स्वागत गर्दै चाँडै नै स्थानीय समाधान हुनेमा विश्वास व्यक्त गर्नुभएको बताइएको छ। नेपाल-जापानका व्यवसायीहरूबीचको छलफलमा जापानले नेपालमा कृषि, पर्यटन, पूर्वाधार निर्माण तथा प्रविधिको क्षेत्रमा लगानी र सहयोग गर्न चाहेको जनाइएको छ।
|