काठमाडौँ, वैशाख १८ गते। चीनको थ्री गर्जेज विश्वविद्यालयले नेपालका गरिब तथा जेहेनदार विद्यार्थीका लागि विभिन्न पाँच विधामा १० वटा पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। राष्ट्रपति डा. रामवरण यादवसँग थ्री गर्जेज विश्वविद्यालयका कुलपति प्रा.डा. ली च्यान लिन, डिनद्वय डा. सितोङ तङ, डा. जिङ सी र थ्री गर्जेजका भिजिटिङ प्रोफेसर डा. कृष्ण अधिकारीको टोलीले सोमबार भेट गरी छात्रवृत्ति स्वीकार गर्न आग्रह गरेको हो।
राष्ट्रपति डा. यादवले नेपाल-चीन सम्बन्धलाई जनस्तरमा पुर्याउन छात्रवृत्तिले महìवपूर्ण सहयोग हुने विश्वास व्यक्त गर्दै छात्रवृत्ति स्वीकार गर्नुभएको थ्री गर्जेज विश्वविद्यालयका भिजिटिङ प्रोफेसर डा. कृष्ण अधिकारीले रिपोर्टर्स क्लबमा सोमबार आयोजित कार्यक्रममा जानकारी दिनुभएको हो।
डा. अधिकारीका अनुसार राष्ट्रपति यादवले छात्रवृत्तिका लागि विश्वविद्यालयलाई धन्यवाद दिँदै सम्बन्धित निकायमार्फत छात्रवृत्तिको व्यवस्थापन गरिने बताउनुभएको थियो।
यसैगरी सो टोलीले सभामुख सुवासचन्द्र नेम्वाङ, त्रिभुुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. हीराबहादुर महर्जन, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत शिक्षा क्षेत्रका व्यक्तित्वहरूसँग भेट गरी छात्रवृत्तिसम्बन्धी जानकारी गराएको थियो।
थ्री गर्जेजका भिजिटिङ प्रोफेसर डा. अधिकारीका अनुसार पूर्वप्रधानमन्त्री नेपाललाई मानार्थ विद्यावारिधि स्वीकारिदिन थ्री गर्जेज विश्वविद्यालयका कुलपति प्रा.डा. ली च्यान लिनले आग्रह गर्नुभएको थियो। डा. अधिकारीका अनुसार स्वच्छ छविका नेता भएका कारण नेपाललाई सो मानार्थ विद्यावारिधि दिइएको हो। पूर्वप्रधानमन्त्री नेपालले धन्यवाद दिँदै विद्यावारिधि स्वीकार गर्नुभएको जानकारी डा. अधिकारीले दिनुभयो।
डा. अधिकारीका अनुसार हाइड्रो इन्जिनियरिङ र इलेक्टि्रकल एन्ड मेकानिकल इन्जिनियरिङमा चारवटा, मेडिसिनमा दुई, चिनियाँ भाषा र संस्कृतिमा दुई एवं बिजनेस स्टडिजमा दुई गरी जम्मा १० वटा छात्रवृत्ति पाँच वर्षसम्मका लागि प्रदान गरिएको हो। यसै वर्षदेखि दिइने सो छात्रवृत्तिमा जाने विद्यार्थीका लागि चिनियाँ भाषामा अध्ययन गर्नुपर्ने र त्यसका लागि पहिलो वर्ष भाषा अध्ययन गर्नुपर्ने जनाइएको छ।
थ्री गर्जेज र त्रिभुवन विश्वविद्यालयबीच सन् २००८ मा एकअर्काको शिक्षालाई मान्यता दिने सम्झौता भएको थियो। सन् २०११ मा थ्री गर्जेज र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँग शिक्षक आदनप्रदान सम्झौता भएको थियो। चीनको हुवेई प्रान्तमा रहेको सो विश्वविद्यालयमा सन् २००४ देखि नेपाली विद्यार्थी अध्ययनका लागि जान थालेका हुन्। हाल सो विद्यालयमा १७० जना विद्यार्थी चिकित्साशास्त्रमा अध्ययनरत छन्।