काठमाडौँ, वैशाख १८ गते। शान्ति तथा पुनर्निर्माण मन्त्रालयले द्वन्द्वबाट प्रभावितहरूका लागि सञ्चालन गरिएको 'शान्ति कोष' बाट माओवादी सेनाका लडाकूहरूको पुनस्र्थापना, घाइते, अपाङ्ग तथा महिलालाई सहयोगलगायतका कार्यक्रमको लागि ९४ करोड रुपियाँ खर्च गर्ने भएको छ।
मन्त्रालयको सोमबार बसेको बैठकले योसहित भौतिक संरचनाहरूको निर्माण तथा एकता र शान्ति अभियान गरी चारवटा कार्यक्रमका लागि उक्त रकम खर्च गर्ने निर्णय गरेको शान्ति तथा पुनर्निर्माणमन्त्री सत्या पहाडीले जानकारी दिनुभएको छ।
तत्कालिन माओवादी र सरकारबीच शान्ति सम्झौता भएपछि चार वर्षअघि स्थापना भएको कोषले हालसम्म करिब ४२ करोड ११ लाख रुपियाँ खर्च गरिसकेको बताइएको छ।
"द्वन्द्वपछि शान्ति कोषको स्थापना विश्वकै लागि उदाहरणीय हो। कोष स्थापना भएपछि शान्ति सम्झौता कार्यान्वयनमा निरन्तर सहयोग पुर्याएको छ", बैठकपछि भएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पहाडीले भन्नुभयो, "स्विट्जरल्यान्ड, डेनमार्क तथा युरोपियन युनियनलगायतका दाताहरूको सहयोगमा स्थापना भएको कोषले गरेको काम अहिलेसम्म सन्तोषजनक रहेको छ।"
नयाँ कार्यक्रमको रकम समायोजन प्रक्रियामा पुनस्र्थापनाको प्याकेज रोजेका माओवादी सेनाको लडाकूहरूका लागि पनि खर्च गरिने बताइएको छ। स्वैच्छिक अवकास, समायोजन र पुनस्र्थापना गरी तीनवटा विकल्पमध्ये पुनस्र्थापना रोज्ने जम्मा छजनामात्र रहेका छन्।