काठमाडौँ, वैशाख १८ गते। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले सत्तामा महिला नपुग्दासम्म महिला मुक्तिका जतिसुकै ओठेभक्तिले पनि महिलाको मुक्ति नहुने बताउनुभएको छ।
उहाँले भन्नुभयो, "महिला मुक्तिका लागि महिला स्वयं अगाडि बढ्न जरूरी छ।"
सञ्चारिक समूहको १६ औँ स्थापना दिवस तथा पाँचौँ महाधिवेशको अवसरमा सञ्चालिका समूहले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रमको उद्घाटनमा सल्लाहकार यादवले अहिलेसम्मको अवस्था नियाल्दा राज्यका कुनै पनि संरचनामा महिलाको निणर्ायक भूमिका हुन नसकेको बताउँदै भन्नुभयो, "पछिल्लो समयमा सञ्चार क्षेत्रमा जति पनि महिलाले प्रवेश गरेका छन्, तिनीहरूलाई सम्बन्धित सञ्चार गृहमा टिकिराख्ने वातावरण निर्माण गर्नुका साथै निणर्ायक तहमा पुर्याउन सञ्चारिका समूहको विशेष पहल होस, यही कामना गर्छु।"
उहाँले सञ्चारिकाले समानताका लागि सञ्चार भन्ने मूल भावका साथ काम गर्ने हो भने मधेसी पत्रकार महिलालाई पनि समावेश गरी अगाडि बढ्न आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले देश अहिले संविधान निर्माणको अन्तिम क्षणमा पुगेकाले यो बेला पत्रकारले व्यवसायी निष्ठापूर्वक र मर्यादित तरिकाले कलम चलाउनुपर्ने बताउनुभयो।
सूचना आयोगका प्रमुख आयुक्त विनय कसजूले पछिल्लो समयमा महिला पत्रकारको सङ्ख्यात्मक रूपमा जसरी वृद्धि भएको छ त्यसैगरी गुणात्मक वृद्धिमा पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
छापा माध्यमको राष्ट्रिय सञ्जालका अध्यक्ष शम्भु श्रेष्ठले पत्रकारिताको पेसागत चुनौतीसँगै विधिको शासन र सुरक्षासम्बन्धी विषयमा पनि सञ्चारमाध्यमले निरन्तर खबरदारी गरिरहनुपर्ने बताउनुभयो।
नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले मुलुक अहिले सङ्क्रमणकालबाट गुजि्रइरहेकाले देशलाई निकास दिन पत्रकारको सकारात्मक भूमिका हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
नेपाल नेपाल प्रेस चौतारीका अध्यक्ष गगन विष्ट र क्रान्तिकारी पत्रकार सङ्घका कोषाध्यक्ष खिलबहादुर भण्डारीले पत्रकारिता पेसालाई व्यवसायी, मर्यादित र सत्यतथ्यमा आधारित हुनुपर्छ भनिएको भए पनि त्यो अनुरूप पत्रकारले धर्म निर्वाह गर्न नसकेको टिप्पणी गर्नुभयो।
सञ्चारिका समूहका सल्लाहकार एवं पूर्वअध्यक्ष बन्दना राणाले सञ्चारिका समूहको स्थापना गर्दा आफूहरूले भोगेका समस्याहरूको स्मरण गर्दै यस संस्थालाई अझै सङ्गठित र समयानुरूप प्रतिस्पर्धी गराउन आग्रह गर्नुभयो।
कार्यक्रममा सञ्चारिका समूहका अध्यक्ष बबिता बस्नेत र उपाध्यक्ष निर्मला शर्माले समानताका लागि सञ्चार भन्ने नाराका साथ लक्ष्य प्राप्तिका लागि समूह निरन्तर रूपमा क्रियाशील भइरहेको बताउँदै पत्रकार महिलाको सङ्ख्यात्मक वृद्धिसँगै गुणात्मक वृद्धि गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो।
सो अवसरमा सञ्चारिका समूहद्वारा स्थापित 'सञ्चारिका समानता पुरस्कार-२०६८' बाट नयाँ पत्रिकामा कार्यरत पत्रकार दीपक सापकोटा पुरस्कृत हुनुभयो। उक्त पुरस्कारको राशि नगद १५ हजार रुपियाँ रहेको छ।
यसैगरी 'स्वर्गीय उमा सिंह पत्रकारिता पुरस्कार २०६८' बाट लमजुङ जिल्लामा रहेर कान्तिपुर दैनिकमा कार्यरत पत्रकार प्रेमकुमारी घले पुरस्कृत हुनुभयो । उक्त पुरस्कारको राशि नगद सात हजार एक सय एक रुपियाँ रहेको छ।
यसैगरी 'सञ्चारिका प्रोत्साहन पुरस्कार' बाट नागरिक दैनिकका पत्रकार रुवी रौनियार र सौर्य दैनिकका फोटोपत्रकार देवकी खड्का सम्मानित हुनुभएको छ।
सो अवसरमा सञ्चारिकाले 'काठमाडौँ उपत्यकामा कार्यरत महिला सञ्चारकर्मीको अवस्था' सम्बन्धी अनुसन्धानत्मक प्रतिवेदनसमेत सार्वजानिक गर्यो।