काठमाडौँ, वैशाख १८ गते। नेपाल स्टक एक्सचेन्जमा सोमबार भएको कारोबारमा नेप्सेमा १८.२६ अङ्कको गिरावटसहित नेप्से ४०४.७३ को बिन्दुमा झरेको छ।
नेप्सेमा छोटो अवधिमा नै चार सयको अङ्क नाघेर उच्च बिन्दुमा पुगेका कारण नाफा बुक गर्नेहरूको चापका कारण नेप्सेमा केही गिरावट आएको अनुमान छ। कतिपयको अनुमानमा भने नेप्से चार सयको बिन्दु आधार बिन्दु हो।
सोमबार नेप्सेमा कुल ९१ कम्पनीको एक हजार ६४२ कारोबारबाट दुई लाख ७७ हजार ४७७ कित्ता सेयर कारोबार भएर दश करोड १३ लाख २४ हजार ८०६ रुपियाँको सेयर खरिद बिक्री भएका छन्।
नेप्सेमा सोमबार पनि बैङ्क अफ काठमाडौँको कारोबार अग्रस्थानमा नै रहृयो। कारोबारअनुसार बैङ्कको एक सय ९८ वटा कारोबारबाट ३४ हजार ४९९ कित्ता सेयर कारोबार भई रु. दुई करोड ३० लाखभन्दा बढीको कारोबार भएको छ।
नेप्सेमा सोमबार गुमाउनेहरूमा बैङ्क तथा वित्तीय सस्थाहरू नै प्रमुख रूपमा रहेको भए पनि नेपाल टेलिकमको सेयरमा समेत गिरावट आएकोले समग्रमा बजारमा गिरावट आउन मद्दत पुगेको हो।
बीमा कम्पनीहरूको शेयरमा भने खासै गिरावट देखिएन। एलआईसी-नेपालले राजधानीको बबरमहलमा ६१ आना जग्गा १७ करोड ५६ लाख ३१ हजारले खरिद गरेको समाचारले भने सो कम्पनीको सेयर बजार मूल्यमा सकारात्मक प्रभाव पारेको छ। जसमा नेप्सेमा सोमबार एलआईसी-नेपालको सेयरको बजारमूल्यमा २८ रुपियाँ बढोत्तरी भएको छ।