अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
लुम्बिनी भ्रमण वर्ष र पर्यटन
रत्न प्रजापति
 

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट पहिचान रहिआएको छ। एसियाको ताराका रूपमा सारा विश्वमा प्रख्यात शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा हुनु नै नेपाल र नेपालीको सौभाग्य पनि हो।

लुम्बिनीको धार्मिक तथा ऐतिहासिक महìवलाई दृष्टिगत गरी समग्र लुम्बिनी क्षेत्रको पर्यटकीय प्रवर्द्धन गर्ने उद्देश्यले २०१२' लाई 'लुम्बिनी भ्रमण वर्ष' घोषणा गरिएको छ। यद्यपि विना कुनै पूर्वतयारी हतारमा लुम्बिनी भ्रमण वर्षको घोषणा गरिएको भन्दै केही व्यवसायी तथा सरोकारवाला निकायले लुम्बिनी भ्रमण वर्ष सफल हुने कुरामा आशङ्का व्यक्त गर्दै आइरहेका पनि छन्। लुम्बिनीका पर्यटन व्यवसायी, बौद्ध संघसंस्थालगायत अन्य सरोकारवालाहरूसँग कुनै परामर्श नगरी घोषणा गरिएको भन्दै माओवादी नेतृत्वको लुम्बिनी विकास कोष र संस्कृति मन्त्रीले सस्तो लोकपि्रयताका लागि लुम्बिनी भ्रमण वर्ष घोषणा गरेका हुन् भन्नेहरूको पनि कमी छैन। जसले जुन स्वार्थका लागि घोषणा गरेको भए पनि अब यो लुम्बिनी भ्रमण वर्ष नेपालको राष्ट्रिय प्रतिष्ठाको विषय बनिसकेको छ। त्यसैले अब यो लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउनु सबैको साझा दायित्व हो।

सबैभन्दा महìवपूर्ण पक्ष त यो हो कि विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीको विकास तथा बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्छ भनेर अन्तर्राष्ट्रिय जगत्लाई अझ प्रभावकारी रूपमा सुसूचित गर्ने सुवर्ण अवसर पनि हो यो लुम्बिनी भ्रमण वर्ष। त्यसैले यो अवसरको भरपूर उपयोग गर्न र लुम्बिनी क्षेत्रमा पर्यटक आगमन बढाई समग्र लुम्बिनी क्षेत्रको विकासमा टेवा पुर्‍याउन सबैले साझा प्रयास गर्नु वाञ्छनीय हुनेछ। यसका लागि नेपालका सबै राजनीतिक पार्टी र तिनका भ्रातृसङ्गठनहरूले भ्रमण वर्ष अवधिभर बन्द, हड्ताल चक्काजाम गरेर लुम्बिनी भ्रमणका लागि आउने पर्यटकहरूलाई तर्साउने काम गर्ने छैनौं भनेर पुनः एक पटक प्रतिबद्धता जाहेर गर्नुपर्ने र सो प्रतिबद्धतालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने भएको छ।

लुम्बिनी भ्रमण वर्षमा १० लाख स्वदेशी तथा विदेशी पर्यटकलाई लुम्बिनी क्षेत्रमा आकषिर्त गर्ने लक्ष्य रहेको छ। यसो त गएको वर्ष सन् २०११ मा पनि पाँचलाख ८७ हजार ५३८ स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन्। त्यसमध्ये एक लाख २८ हजार २५९ तेस्रो मुलुकका, ६३ हजार ७०९ भारतीय र तीन लाख ९५ हजार ५७० नेपाली पर्यटक रहेको लुम्बिनी विकास कोषको तथ्याङ्कबाट देखिएको छ। विगतका वर्षहरूमा भन्दा पछिल्ला वर्षहरूमा लुम्बिनी भ्रमण गर्ने पर्यटकहरूको संख्या बढ्दो क्रममा देखिएकाले पनि लुम्बिनी भ्रमण वर्षको विशेष अवसरमा उल्लेख्य विदेशी पर्यटकको आगमन हुने अपेक्षा गर्न सकिन्छ।

नेपाल भ्रमण वर्ष २०११ का क्रममा बीबीसी तथा सीएनएनजस्ता विश्वप्रख्यात सञ्चारमाध्यमबाट नेपालमा पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार सुरु भएको र अमेरिकाजस्तो पर्यटकको प्रमुख स्रोत मानिएको देशले भ्रमणका लागि नेपाल सुरक्षित रहेको भनी आˆना नागरिकलाई सूचना जारी गरेकाले पनि लुम्बिनी भ्रमण वर्षमा लक्ष्यअनुसार विदेशी पर्यटक आउनेमा निश्चिन्त हुन सकिने आधार देखिन्छ।

मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का-मदिनाजस्तै शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनीलाई पनि विश्वका सबै बौद्ध धर्मावलम्बीले जीवनमा एक पटक पुग्नैपर्ने पवित्र धार्मिक थलोको रूपमा विकास गर्न सकियो भने त्यहाँ पर्यटकहरूको ओइरो लाग्नसक्छ। यसका लागि नेपालले विश्वभरिका बौद्ध धर्मावलम्बी मुलुक तथा बौद्ध धर्मावलम्बी संघसंस्थाहरूसँग समन्वय र सहकार्य गरी भ्रमणका लागि आवश्यक व्यवस्थित प्याकेज कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिन्छ।

अहिले विश्वमा झन्डै दुई अर्ब मानिस बौद्ध धर्मावलम्बी रहेको अनुमान छ। विशेष गरी चीन, थाइल्याण्ड, श्रीलंका, म्यान्मार, जापान, भियतनाम, भारत, कम्बोडिया, दक्षिण कोरिया, ताइवान आदि देशमा ठूलो संख्यामा बौद्ध धर्मावलम्बी जनसंख्या रहेकाले ती देशमा लुम्बिनीको महìव र विशेषताका बारेमा व्यापक प्रचारप्रसार गर्नुका साथै त्यहाँको सरकार तथा अन्य संघसंस्थाहरूसँग समन्वय र सहकार्य गरी लुम्बिनी भ्रमणका लागि व्यवस्थित प्याकेज कार्यक्रम सञ्चालन गर्न सकियो भने लुम्बिनी भ्रमणकै उद्देश्यले पनि नेपालमा लाखौं पर्यटकको आगमन हुन सक्नेछ। दक्षिण कोरिया सरकारले समग्र लुम्बिनी क्षेत्रको विकासका लागि लुम्बिनी विकास गुरुयोजनाका नाममा रु. १६ करोड ८० लाख अनुदान सहयोग दिने भएको छ।

लुम्बिनी भ्रमण वर्षको बारेमा प्रचारप्रसारलगायत अत्यावश्यक कार्य गर्न संस्कृति मन्त्रीको संयोजकत्वमा १३ सदस्यीय राष्ट्रिय सचिवालय समिति गठन भइसकेको छ। जसमा संस्कृति, पर्यटन, गृह तथा परराष्ट्र मन्त्रालयका सचिवहरू सदस्यका रूपमा रहेका छन्। निजी क्षेत्रका उद्योगी- व्यवसायीहरूको प्रतिनिधित्व नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले गरेका छन्। यसैगरी विश्वभरिका बौद्ध तीर्थयात्रीहरूलाई लुम्बिनीमा आकषिर्त गर्ने उद्देश्यले कार्य गर्न र प्रचारप्रसार गर्न दक्षिण कोरियामा पनि उपसमिति गठन गरिएको थाहा भएको छ। यो उपसमितिले 'एक घर एक बुद्धको मूर्ति' नामक अभियान चलाउने बताइएको छ। यस्तै उपसमिति अमेरिका, क्यानाडालगायत अन्य देशमा पनि गठन गर्ने योजना रहेको छ। लुम्बिनी भ्रमण वर्ष सचिवालय समिति र यसअन्तर्गतका उपसमितिहरूले प्रभावकारी ढङ्गमा कार्य गरे भने लुम्बिनी भ्रमण वर्ष अवश्य पनि सफल हुनेछ।

हतारमै घोषणा गरिएको भनिए पनि लुम्बिनी भ्रमण वर्षको घोषणा सान्दर्भिक बनेको छ। नेपाल पर्यटन वर्षको औपचारिक समापनसँगै सुरु भएको लुम्बिनी भ्रमण वर्षले नेपालको पर्यटन विकास र पर्यटन प्रवर्द्धनको क्रियाकलापलाई नियमितता प्रदान गर्ने अपेक्षा गर्नु सान्दर्भिक नै हुनेछ। अन्तर्राष्ट्रिय क्षेत्रमा ढिलो प्रचारप्रसार भएकाले नेपाल पर्यटन वर्षमा नेपाल भ्रमणमा आउन नपाएका विदेशी पर्यटकहरू लुम्बिनी भ्रमण वर्षको अवसर पारेर आउनेछन् र तिनले लुम्बिनीको भ्रमण गरी बुद्धको शान्तिको सन्देश पनि लिएर जानेछन्।

स्टार, बजेट र इकोनोमी गरी हाल जम्मा २४ वटा मात्रै होटेल भएको लुम्बिनी क्षेत्रमा भ्रमण वर्षको बेलामा होटेलहरूमा पर्यटक चाप पर्नसक्ने देखिन्छ। त्यसैले खुल्ने क्रममा रहेका होटेलहरूको छिट्टै काम सम्पन्न गरी सञ्चालनमा ल्याउनु आवश्यक देखिन्छ। यसैगरी उपयुक्त स्थानमा पर्याप्त सूचना केन्द्रको स्थापना, यातायातको सुविधा, शौचालयको व्यवस्थालगायत आन्तरिक पर्यटकहरूलाई दृष्टिगत गरी लजहरूको समेत पर्याप्त व्यवस्था गर्नु आवश्यक देखिन्छ।

वास्तवमा भ्रमण वर्ष घोषणा गर्नु नै ठूलो कुरा होइन। बरु भ्रमण वर्षमा आउने सम्पूर्ण स्वदेशी तथा विदेशी पर्यटकका लागि आवश्यक सेवा तथा सुविधाको उचित व्यवस्था गर्नुपर्छ। पर्यटकका लागि खाने, बस्ने, घुम्ने, रमाउने र लुम्बिनीका बारेमा थप जान्न र बुझ्न चाहनेका लागि सही जानकारी दिनसक्ने दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्छ। यसबाट दीर्घकालीन पर्यटन प्रवर्द्धनका लागि समेत सहयोग पुग्नेछ। पर्यटकलाई जति बढी घुम्न, रम्न र बस्नसक्ने वातावरण दिएर धेरै खर्च गर्ने मौका दियो नेपाल र नेपालीले उति नै बढी आर्थिक लाभ हासिल गर्न सक्छन्। पर्यटकको बसाइ अवधि लम्ब्याउन सकियो भने मात्रै बढी आर्थिक लाभ हासिल गर्न सकिन्छ।

अहिले पर्यटकहरूको औसत नेपाल बसाइ १२.६७ दिन छ भने लुम्बिनीमा पर्यटकहरूको बसाइ मुश्किलले एक दिन मात्रै छ। पर्यटकहरूको बसाइ लम्ब्याउने खालका प्याकेज कार्यक्रमहरू सञ्चालन गर्न सकियो भने लुम्बिनीले मात्रै होइन समग्रमा देशले नै बढी आर्थिक लाभ हासिल गर्नेछ। लुम्बिनी भ्रमण वर्षका अवसरमा लुम्बिनी वरिपरिका अन्य क्षेत्रहरूमा पनि पर्यटकहरूलाई घुम्ने, हेर्ने, बस्ने र रमाउने वातावरणको निर्माण गर्न सकियो भने लुम्बिनीको अन्य ती क्षेत्रको पनि आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्नेछ। त्यसैले नयाँनयाँ पर्यटकीय गन्तव्यहरूको अन्वेषण गर्नु पनि यो अवसरमा वाञ्छनीय हुनेछ।

 

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home