काठमाडौँ, वैशाख १४ गते। मुलुकको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्क आˆनो स्थापनाको ५७औँ वर्षमा प्रवेश गरेको छ। बिहीबार एक कार्यक्रमको आयोजना गरी राष्ट्र बैङ्कले वाषिर्कोत्सव मनायो। बैङ्क केन्द्रीय कार्यालय परिसरमा आयोजित समारोहमा बोल्दै गभर्नर डा. युवराज खतिवडाले मुलुकको समष्टिगत आर्थिक परिसूचक सकारात्मक मात्र नभएर उत्साहजनक रहेको बताउनुभयो। उहाँले प्रभावकारी मौदि्रक तथा वित्तीय नीतिले आर्थिक तथा वित्तीय स्थायित्व हासिल गर्न सहयोग पुगेको स्पष्ट गर्नुभयो।
गभर्नर खतिवडाले निर्यातमा सुधार भएको, चालु खाता बचतमा रहेको, शोधनान्तर बचत हालसम्मकै उच्च रहेको, विदेशी मुद्राको संचिति उच्च रहेको, मूल्य वृद्धिदर कम हुँदै गएको, वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताउनुभयो। कृषि तथा पर्यटन, यातायात र सञ्चार, शिक्षा, स्वास्थ्य, सामुदायिक सेवाका क्षेत्रमा देखिएको सुधारका कारण समग्र आर्थिक वृद्धिदरमा यस वर्ष सुधार हुने देखिएको उहाँको भनाइ छ। औद्योगिक उत्पादनमा पनि गत वर्षभन्दा यस वर्ष सुधार भएको खतिवडाले बताउनुभयो। चालु आर्थिक वर्षको आठ महिनामा उपभोक्ता मुद्रास्फीति सात प्रतिशत र थोक मूल्य वृद्धिदर छ दशमलव तीन प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ। गतवर्ष यो दर क्रमशः १०.७ र १२.४ प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्षको नौ महिनामा नगद प्रवाहमा आधारित सरकारी बजेट २४ अर्ब ६० करोड रुपियाँले बचत रहेको भन्दै गभर्नर खतिवडाले सरकारी खर्च न्यून हुनु यसको कारण बताएका छन्। चालु आ.व.को आठ महिनामा शोधनान्तर स्थिति रु. ७९ अर्ब ९० करोड रहेको भन्दै बैङ्कले विप्रेषणका साथै सेवा आयमा उल्लेख्य वृद्धि भई चालु खाता धनात्मक भएको र वित्तीय खातामा समेत सुधार भएकोले शोधनान्तर बचत हालसम्मकै उच्च हुन पुगेको जनाएको छ।
यस अवधिमा निर्यात १४ प्रतिशतले आयात १६.६ प्रतिशतले वृद्धि हुनुको साथै कुल वस्तु व्यापार घाटा १७ प्रतिशतले बढेको जनाइएको छ। फागुन मसान्तसम्म विदेशी विनिमय संचिति गत असारको तुलनामा ३५.३ प्रतिशतले वृद्धि भई ३६८ अर्ब १० करोड पुगेको र यसले १० महिनाको वस्तु तथा नौ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गभर्नरको भनाइ छ। उहाँले विगतमा नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कको वासलातलाई समावेश गर्ने गरिएकोमा गत कात्तिकदेखि विकास बैङ्क र वित्त कम्पनीलाई समेत समावेश गरिएको विस्तृत मौदि्रक सर्वेक्षण प्रकाशन गर्न थालिएको बताउनुभयो। बैङ्क वित्तीय संस्थाको निक्षेप परिचालन रु. ९४ अर्बले वृद्धि भई फागुन समान्तसम्म रु. ९१७ अर्ब पुगेको छभने कर्जा तथा लगानी रु. ७३ अर्बले विस्तार भई रु. ९२८ अर्ब पुगेको राष्ट्र बैङ्कको तथ्याङ्क छ।
गभर्नरले सबैको सुधारअनुसार अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले विकास बैङ्क र वित्तीय संस्थाको अनुगमनलाई पनि पछिल्लो समयमा सुधार गरिएको र वाणिज्य बैङ्कहरूलाई जोखिम न्यूनीकरण निर्देशिका दिएको भन्दै निक्षेप बीमाको व्यवस्थाले गर्दा साना निक्षेपकर्ताको निक्षेप संरक्षण गर्न सफलता मिलेको बताउनुभयो। यसबाट ८० प्रतिशत निक्षेपकर्ता र २० प्रतिशत निक्षेपको सुरक्षा हुने उहाँले जानकारी दिनुभयो। खतिवडाले वित्तीय प्रणालीमा देखिएका समस्या समाधान गर्दै यस क्षेत्रमा सर्वसाधारणको पहुँच बढाउन बैङ्क इजाजत नीतिमा परिवर्तन गरिएको, वित्तीय संस्थाहरू गाभ्ने कार्यलाई प्रोत्साहन गरिएको, वित्तीय सेवा नपुगेका क्षेत्रमा शाखा खोल्न प्रोत्साहन गरिएको, उत्पादन क्षेत्रमा लगानी वृद्धि सुनिश्चित गरिएको कुरालाई सफलताको रूपमा प्रस्तुत गर्नुभयो। जलविद्युत् उत्पादन र प्रसारण आयोजनाहरूलाई परिवत्र्य विदेशी मुद्रामा ऋण प्रदान गर्नसक्ने व्यवस्था गरिएको, नेपाल बैङ्कको पुँजी योजना तालिकालाई स्वीकृत गरी कार्यान्वयन अघि बढाइएको, राष्ट्रिय वाणिज्य बैङ्कको ऋणात्मक पुँजी कोष सुधारको लागि पुँजी योजना सुधारका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।
गभर्नर खतिवडाले बैङ्कको कामकारबाहीलाई योजनाबद्धरूपमा अगाडि बढाउन सन् २०१२ बाट दोस्रो पञ्च वषर्ीय रणनीतिक योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो। रणनीतिले बैङ्कले आधुनिक, गतिशील, प्रभावकारी बनाउन र आर्थिक स्थायित्व कायम गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो। शान्ति र संविधानको लक्ष्य प्राप्ति नजिकिँदै गएको सन्दर्भमा चाँडै मुलुकमा लगानीको वातावरणमा सुधार आउने, आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारणको लक्ष्यले प्राथमिकता पाउने अपेक्षा गर्न सकिन्छ भन्दै उहाँले आर्थिक वृद्धिको लागि अनुकूल वातावरण निर्माण गर्ने कुरामा राष्ट्र बैङ्क पनि दृढताका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो। पूर्व गभर्नर गणेशबहादुर थापाले राष्ट्र बैङ्कको नियमन प्रणाली प्रभावकारी नहुँदा बैङ्कहरू सङ्कटग्रस्त हुने र निक्षेपकर्ताको रकम जोखिममा पर्ने गरेको बताउनुभयो।
तीन महिना अघि समस्या नदेखिएको वित्तीय संस्थामा तीन महिनामा सङ्कटमा पर्नुमा के नियमन प्रणाली प्रभावकारी छैन, के बाहिर एउटा भित्र अर्कै देखाउने काम भएको छ भन्दै उहाँले राष्ट्र बैङ्कले नीति निर्देशन दिने मात्र होइन आफूले गरेका कामको समीक्षा गरी ठीक बेठिक पनि हेर्नुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा राष्ट्र बैङ्कका डेपुटी गभर्नरद्वय गोपालप्रसाद काˆले र महाप्रसाद अधिकारी, निर्देशक मिनबहादुर श्रेष्ठ, पूर्व कर्मचारी सङ्घका अध्यक्ष रेवतबहादुर कार्की, बैङ्कका कर्मचारी युनियनका नेताहरूले बोल्नुभएको थियो। युनियनका नेताहरूले बैङ्कको आधुनिक भवन निर्माण हुनुपर्ने, बैङ्कमा राजनीतीकरण गर्न नहुने भन्दै संस्थागत हितको लागि युनियनहरू सधैँ एकताबद्धरूपमा सहयोग गर्न तयार रहेको बताएका थिए। सो अवसरमा २० वर्ष सेवा गर्ने कर्मचारी, विभिन्न खेल तथा लेखन प्रतियोगितामा उत्कृष्ट हुनेलाई सम्मान एवं पुरस्कार प्रदान गरिएको थियो।