काठमाडौँ, वैशाख १३ गते। एसियाली विकास बैङ्क -एडीबी)का अपरेसन विभागका उपाध्यक्ष जाओ झियाउले नेपालको भ्रमणका क्रममा हाल शान्ति प्रक्रिया र संविधान निर्माणको दिशामा भइरहेको प्रगति सन्तोषजनक रहेको बताएका छन्।
नेपालको विकासलाई सघाउँदै आएको र नेपाली सङ्क्रमकालीन राजनीतिक प्रगतिलाई नजिकबाट नियाल्दै रहेको एसियाली विकास बैङ्कको उपाध्यक्ष झिआउको नेपालको दुईदिने भ्रमणको अन्त्यमा नेपालको राजनीतिक सङ्क्रमणका अन्त्य र आर्थिक प्रगतिका लागि सरकारले लिएको रणनीति सही दिशातर्फ अघि बढेको छ भन्नुभयो।
नेपाल भ्रमणको क्रममा उपाध्यक्ष झियाउले प्रधानमन्त्री र अर्थमन्त्रीलगायतका उच्च अधिकारीसँगको भेटका अवसरमा नेपालले गरिबी निवारण र दिगो आर्थिक विकासका लागि हाल लिइएको रणनीति सही भएको भन्दै नेपालको सर्वाङ्गीण विकासमा एडीबीको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नु भएको बताइएको छ।
नेपालले सन् २०१५ सम्ममा हासिल गर्ने भनिएको सहस्राब्दी विकासको लक्ष्यमा गरिबी न्यूनीकरण, शिक्षाका पहुँच, पानीको आपूर्ति, बालबालिक तथा मातृत्व मृत्युदर जस्ता विविध विषयमा सफलता हासिल गर्ने विश्वास गरिएको छ।
एसियाली विकास बैङ्कले नेपाल सरकारसँगको सहकार्यमा सन् २०१३ देखि १७ सम्मका लागि नेपालको विकासका लागि नयाँ कार्ययोजना तयार पार्दै नेपाललाई सहयोग गर्ने जनाइएको छ।