कदले ठूलो हुने भए मान्छे, उहाँ पटक्कै ठूलो मान्छे होइन। भ्रमकै आडमा आफूलाई ठूलो ठान्नेहरूसँग तुलना गर्ने हो भने उहाँ ठूलो हुँदै होइन, किनकि उहाँ भ्रमको भरमा ठूलो हुनुभएको होइन। राजनीति गरेर उहाँ ठूलो पदमा पुग्नुभयो, साहित्य लेखेर उहाँ सम्मानित हुनुभयो। लेखनले उहाँलाई सम्मानित स्थान दिलायो, मदन पुरस्कार, साझा पुरस्कारजस्ता पुरस्कार लेखनबाटै पाउनुभयो। ६५ वर्षअघि लेख्न थालेको मान्छे अहिले पनि लेखिरहनुभएको छ, उहाँ। अहिले पनि कथा, कविता, उपन्यास लेखिरहनुभएको छ। उहाँकै शब्दमा भन्नुपर्दा ''जे पनि लेखिरहेको छु- कथा, कविता, निबन्ध, उपन्यास लेख्नेभन्दा पनि कोर्ने काम गरिरहेको छु।'
वि.संं. १९८६ सालको असोज २३ गते गोरखाको
लिगलिगमा जन्मिनुभयो उहाँ र यतिखेर हिसाब गर्दा ८३ वर्षको हुनुभयो। ८३ वर्षको उमेरमा पनि हम्मेसी दिनमा घरमा भेट हुँदैन उहाँसँग। दौडधुपमै बित्छ उहाँको समय। राजनीतिमा होमिएर साहित्यमा चुलिने उहाँलाई धेरैले राजेश्वर देवकोटाको नाममा चिन्छन्। केही-केहीले चाहिँ अझै पनि हरिभक्त देवकोटा र बसुन्धराका छोराका रूपमा चिन्छन् होला। जसले जसरी जुन रूपमा चिने पनि राजेश्वर देवकोटा नाम नै पर्याप्त भइसकेको छ साहित्यमा, राजनीतिमा, लेखनमा । १३ वर्षको उमेरमै पढ्न गोरखाबाट काठमाडाँै पढ्न आउनुभएका राजेश्वर देवकोटाले पढ्दापढ्दै वि.सं. २००४ सालको 'जयतू संस्कृतम्' आन्दोलनमा लाग्नुभयो। २००४ साल हो उहाँले लेख्न थालेको पनि । २००४ सालमा राजनीतिमा लाग्नुभएको उहाँ पछि राष्ट्रिय पञ्चायतका अध्यक्ष, मन्त्रीसमेत हुनुभयो र अझै राजनीतिमा संलग्न हुनुहुन्छ।
माथि नै भनियो राजेश्वर देवकोटालाई राजनीतिले ठूलो पदमा पुर्यायो, साहित्यले सम्मानित स्थानमा पुर्यायो भनेर। अहिले राजेश्वर देवकोटाको साहित्यिक पाटोको सन्दर्भमात्र उल्लेख गर्न लागिएको छ। वि.सं. २००४ मा दार्जिलिङबाट प्रकाशित हुने 'भारती'मा कविता छपाएर साहित्यमा प्रवेश गर्ने उहाँ सफल उपन्याकारका रूपमा चिनिनुभयो। त्यसो त कथा, कविता, बालपुस्तक, जीवनी, हास्यव्यङ्य, निबन्ध, काव्य सबै विधामा कलम चलाउनुहुन्छ उहाँ, तर सफलता र सम्मान भने उपन्यासले बढी दिएको छ
वि.संं. २०४१ मा आवर्तन, २०४२ मा द्वन्द्वको अवसान, २०४३ मा पूर्वकथा, २०४४ मा उत्सर्ग प्रेम, २०५४ मा पूणिर्मा'समेत गरी पाँच उपन्यास प्रकाशित भइसके। २०४३ मा पूर्वकथामा साझा र २०४४ मा उत्सर्ग प्रेममा मदन पुरस्कार पाउने राजेश्वर देवकोटाले भानुभक्त पुरस्कार, बालचन्द्र पुरस्कार आदि पाइसक्नुभएको छ। पाँच उपन्यासबाहेक उहाँका युगल काव्य, हाम्रा पुर्खाहरू जीवनीसङ्ग्रह, नेपाली निबन्धावली -सहलेखन), माया -निबन्धसङ्ग्रह, २०६८) महाराजको भूत -२०६८) आदि छन्। यीबाहेक राम्रो नेपाली साहित्यको भाग-१ देखिसम्म सहसम्पादन गर्ने उहाँको २०१९ मा नेपाली व्याकरण नामक कृति प्रकाशित छ।
राजनीति र साहित्यमा १८ वर्षको उमेरमै सँगै यात्रा थाल्ने राजेश्वर देवकोटा लेखनबारे यसो भन्नुहुन्छ, ''मलाई साहित्यमा पनि अभिरुचि छ। म आˆना लागि लेख्छु, अरूले पनि पढिदिन्छन्, छापिदिन्छन् तर त्यो मेरो उद्देश्य होइन। स्वान्तः सुखका लागि लेख्छु भन्ने कुरा पनि होइन। लेखेर मलाई कुनै सुख मिलेको छैन। द्रव्यका लागि या मानका लागि भने त झन् हुँदै हैन। म राजनीतिक व्यक्ति हुँ, काम गर्दा मानसिक रूपले या शारीरिक रूपमा थाकिन्छ, केही अनुभव जान्छन् तिनै कुरालाई एकछिन लिपिबद्ध गर्दा एकत्व हुन्छ। सबै बाधा-व्यथा बिर्सिन्छन्- त्यही वास्तविक मेरो वास्तविक लाभ हो, लेखनबाट हुने। मैले तत्काल त्यति लाभ पाइहाल्छु त्यसपछि बाँकी पनि केही आइपरे स्वागत छ आइपर्ने के हुन्छ प्रशंसा वा निन्दा यो कुनै गौण हो, अर्थात् आजको भाषामा उपउत्पादन।''
लेखन पक्ष र साहित्यिक योगदानको कुरो गर्दा भानु सेवा समितिका अध्यक्षका रूपमा अनि 'नेपाल पुकार' का सम्पादकका रूपमा पनि उहाँको परिचय गाँसिएको छ।
बालबालिका, विद्यार्थीका लागि पनि साहित्य लेख्ने, व्याकरण लेख्ने राजेश्वर देवकोटाको साहित्यिक योगदान विशेषतः उपन्यास केन्दि्रत रहृयो। एउटा बौद्धिक र स्तरीय उपन्यास लेखकका रूपमा सम्मानित राजेश्वर देवकेटा लेखकको विचार सञ्चालित हुनु नसकेको लेखनलाई सफल ठान्नुहुन्न र यस्तो लेखनलाई समयको व्ययमात्र मान्नुहुन्छ।
राजनीतिमा लागेर ठूलो पदमा पुगिसक्नुका उहाँ
साहित्यमा किन आकषिर्त हुनुभयो ? केका लागि लेख्नुहुन्छ उहाँ ? यसको पनि स्पष्ट जवाफ छ उहाँसँग- 'लेख्न बस्दा म दुःख ताप व्यथाहरू बिर्सिन्छु, बिर्सिन नसकिने व्यथालाई स्वीकार गर्छु- मलाई एकत्व मिल्छ। एकछिनका लागि पनि दैनिक समस्याको ग्रासबाट आफूलाई पन्छाउन सकिन्छ- यसैका लागि म लेख्छु। मेरो लेखनको पहिलो उद्देश्य यही हो। यो उद्देश्य मलाई तत्काल नै हासिल भइहाल्छ।''
अनि उपन्यास लेखनचाहिँ ?
''उपन्यास विद्या अपनाउँदा पनि कुनै लेखकको विचार सञ्चालित हुन सकेन भने पुनः पनि त्यसमा लागिरहनु
अपव्यय हो। अतः यस विधामा लेखिरहनुभन्दा आˆनो रचना पढियो, बुझियो र त्यसको केही अर्थ लाग्यो कि भनेर हेर्छु। पढिएन, बुझिएन वा त्यसको केही अर्थ लागेन भने त्यो मेरो असफलता हो, दोष हो।''
१५ वर्षको किशोरावस्थामै उबेलाको चलनअनुसार मायादेवीसँग वैवाहिक जीवनमा बाँधिनुभएका राजेश्वर देवकोटा यतिखेर विधुर जीवनको पीडा भोग्दै हुनुहुन्छ। वि.संं. २०६७ फागुन २० गते आˆनी पत्नीको निधनपछि शोकमा डुबेर सिर्जिएका विविध दार्शनिक, खारिएका र गहन निबन्धहरूको सङ्ग्रह 'माया' प्रकाशनमा ल्याउनुभयो। चैत १५ गतेकै त कुरो हो उहाँ भन्दै हुनुहुन्थ्यो।
''घरभित्र मभन्दा पद्दछि आई
घरबाट मभन्दा पहिले छाडेर गई
बढ्दो उमेरले, एक्लोपनले बिथोले पनि राजेश्वर देवकोटाको दिनचर्या कामकाजमै बित्छ, लेखनमै व्यतीत हुन्छ। लेखनलाई माया गरेर आउनुभएका उहाँ आफूले माया गरेको मान्छे, साथीभाइ गुमाउँदाको पीडा भोग्दै हुनुहुन्छ र पनि लेखनलाई निरन्तरता दिइरहनुभएको छ। मान्छेको उचाइको मापन शारीरिक रूपले गर्ने हो भन बेग्लै कुरा सिर्जना र योगदानले गर्ने हो भने सम्मानित कद, उच्च कद बनाइसक्नुभएको छ, उहाँले।