अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
सम्पादकिय/विचार
 
सगरमाथापुत्रको पदयात्रा
 

सुविख्यात आरोही आप्पा शेर्पा अहिले पर्वतीय पदयात्रामा छन्। ग्रेट हिमालयन ट्रेल नाम दिएको उनको यो पदयात्रा नेपालको पूर्वी हिमाली भेगबाट सुरु भई उत्तरी पर्वतीय क्षेत्र भएरै पश्चिम नेपालको उत्तरी भेगमै गएर बिट मार्ने योजना छ। मौसम परिवर्तनले हिमालय क्षेत्रलाई पारेको असरविरुद्ध विश्वभर जनचेतना फैलाउने उनको लक्ष्यलाई महìवपूर्णरूपमा हेरिएको छ। पूर्व पश्चिम फैलिएको नेपालको पर्वतीय खण्डको पदयात्रा पूरा गर्दा आप्पाले एकहजार सातसय किलोमिटर यात्रा पूरा गर्ने योजना रहेको छ। आप्पाको यो यात्रालाई उहाँकै सहयोगी दावा स्टेभन शेर्पाले साथ दिनु भएको छ । आप्पाको यो साहसिक यात्रालाई विश्वकै पर्यटकीय संसारले आरम्भदेखिनै अत्यन्तै रुचिका साथ हेरिरहेको पाइन्छ। पूर्वको ताप्लेजुङबाट सुरु यो यात्रा अनेक रोमाञ्चित अनुभवहरू सम्हाल्दै अगाडि बढिरहेको छ। भर्खरैमात्र आप्पाले नौसय ३६ किलोमिटर यात्रा सम्पन्न गरी म्याग्दीको बेनीमा पुग्दा भव्य स्वागत भएको छ। म्याग्दीसम्म पुग्दा आप्पाले अनेक वाह वाह बटुलिसकेका छन्। यस अघि पनि यात्राका क्रममा नेपालको पर्वतीय भेगका गाउँवस्तीमा आप्पाको टोलीलाई भव्य स्वागत गरिएका अनेकौँ समाचार सम्प्रेषण भएका थिए। विश्वको सर्वोच्च शिखर सगरमाथाको २१ पटक सफल आरोहण गरिसकेको आप्पाको उचाइ साहसिक पर्यटनको संसारमा साच्चै सगरमाथाजस्तै बनिसकेको यहाँ बिर्सन मिल्दैन।

पूर्वपश्चिम फैलिएको नेपालको हिमालय क्षेत्र विश्वकै एक अनुपम भूस्वर्ग भन्न मिल्छ। दक्षिण एसियाको अर्बभन्दा बढी आवादीका लागि जल र जीवन दिने यो क्षेत्र पृथ्वीकै तेस्रो धु्रवका रूपमा मात्र चिनिन्न, यसमा विद्यमान हिमखण्डले विश्वतापमानलाई युगौँयुगदेखि अनुपम सन्तुलन कायम गरिरहेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथालाई काखमा सजाएर विश्वभरका साहसिक पर्यटन र रोमाञ्चलाई ध्यानाकषिर्त गरेको हिमालय क्षेत्र बिस्तारै मौसम परिवर्तनको नराम्रो चपेटामा पर्न थालेको विश्वले नै महसुस गरेको छ। हिमाल क्षेत्रमा बढ्दो तापमानले हिउँ पग्लने क्रम निरन्तर बढ्दो छ भने विकासका नाममा प्रकृतिको स्वनियममाथि अतिक्रमण बढ्दो छ। समृद्धि र विजयका अनेक नाममा गरिने मानवीय दुस्प्रयासले कतिपय विकासका कार्यलाई विनाशको चरणतर्फ लगिरहेको छ। मौसम परिवर्तनले पर्वतीय क्षेत्रको जनजीवन क्रमशः कठोरमात्र भएको छैन, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपबाट बर्सेनि ठूलो क्षति भइरहेको छ। त्यतिमात्र होइन,समुद्रको किनारमा रहेका मुलुकहरूको भावी दिनमा समेत मौसम परिवर्तनले प्रश्न चिहृन खडा गरिदिएको छ। हाम्रै सार्क सदस्य मुलुक माल्दिभ्सको भविष्य अन्योलमा परिरहेको छ भने बङ्गलादेशको करोडौँ आवादी अहिले त्राहीमा छ। यसर्थ, मौसम परिवर्तनको मामिला अहिले कुनै देश र समाजभित्र मात्र सीमित रहेको छैन्। मौसम परिवर्तन र यसका असरबाट अहिले विश्व मानव समाज कुनै न कुनै रूपमा प्रभावित छ। मौसम परिवर्तनको यति ठूलो मुद्दामा आप्पा अहिले अगाडि बढिरहनु सारा नेपालीको लागि गौरवको कुरा हो। उनको यो पदयात्रालाई गौरवगाथाको रूपमा लिई सार्थक बनाउन सहयोग हुनु सबैको कर्तव्य हो। सगरमाथापुत्र आप्पाको यो अभियानले विश्व समाजलाई मौसम परिवर्तनको साझा मुद्दामा अग्रेसरिता लिन पनि महìवपूर्ण बल मिलोस्, यो महाअभियानलाई यही शुभकामना।

 
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home