धादिङ, चैत ७ गते । उत्तरी धादिङको झार्लाङ स्वास्थ्य चौकीका अहेव धिरेन्द्र शर्माको रहस्यमय मृत्यु भएपछि स्वास्थ्यकर्मीहरूले घटनाको सत्यतथ्य छानविनको माग गरेका छन् । सम्पूर्ण पेशागत सङ्घसस्थाका नेताहरूले अपराधी पहिचान गरी कारवाही गर्न, स्वास्थ्यकर्मीहरूलाई सुरक्षा दिन माग गरेका हुन् । गत शनिबार त्रिपुरेश्वर उप स्वास्थ्य चौकी खहरेमा क्षयरोगको तालिम सकेर झार्लाङतर्फ हिँडेका शर्माको शव झार्लाङ गाविस वडा न.ं ७ लेमेञ्चोस्थित एकान्त जङ्गलको बाटोमुनि लडिरहेको अवस्थामा फेला परेको थियो ।
टाउको, अनुहार र खुट्टामा नीलडाम र चोट लागको, हापपाइन्ट च्यातिएर अवस्थामा शव भेटिएको घटनास्थलमा पहिलो पटक पगेका स्वास्थ्यकर्मी जगदीश अधिकारीले बताउनुभयो ।
मृतक शर्माले २०५३ सालदेखि निरन्तर रूपमा झार्लाङ स्वास्थ्य चौकीमा काम गर्दै झार्लाङमा नै औषधि पसलसमेत सञ्चालन गर्दै आएको अनमी डालदेवी धरेलले बताउनुभयो । जिल्ला अस्पताल धादिङबेसीमा सोमबार गरिएको पोस्टमार्टमको प्रतिवेदन सार्वजनिक नभएको भए पनि हत्या भएको हुनसक्ने जिल्लाका स्वास्थ्यकर्मीहरूको अनुमान छ ।
जिल्लामा क्रियाशील राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपाल निजामति कर्मचारी सङ्गठन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल स्वास्थ्य प्राविधिक सङ्घ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी सङ्घलगायतले संयुक्त र छुट्टाछुट्टै प्रेस विज्ञप्ती प्रकाशन गर्दै घटनाको सत्यतथ्य पत्ता लगाई अपराधीलाई काहवाही गर्न माग गरेका छन् ।
यसैबीच नेपाल स्वाथ्यकर्मी सङ्घ धादिङले घटनाको विषयलाई लिएर सोमबार जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक बाहेका सेवाहरू बन्द गराएका थिए भने घटनाको विरोधमा स्वास्थ्यकर्मीहरूले एक हप्तासम्म साङ्केतिक रूपमा कालोपट्टी बाँधी काम गर्ने गर्दै आइरहेका छन् ।
गत भदौ महिनादेखि गाउँमा विवाद भएका कारण काममा जान नसकेका शर्मालाई कात्तिकमा स्थानीय युवाले सुरक्षा लिई गाउँमा जाने वातावरण बनाएर जिल्ला स्वास्थ्य कार्यालयमा सामूहिक निवेदन दिएपछि शर्मा स्वास्थ्य चौकी जान थालेका थिए ।
जनकपुरको जिरोमाइल निवासी शर्माको एक छोरा र श्रीमती रहेका छन् । शर्माको शवलाई धादिङ अस्पतालमा पोस्टमार्टमा गरी अन्तिम संस्कारका लागि सोमबारै जनकपुर पठाइएको छ ।
यसैबीच जिल्लामा पछिल्लो समया स्वास्थ्यकर्मीहरूको रहस्यमय ढङ्गबाट मृत्युहुने क्रम बढेको छ । स्वास्थ्यकर्मीहरूले सुरक्षाको माग गर्दै आए पनि धादिङमा उनीहरूको रहस्यमय मृत्यु हुने क्रम बढेको र अनुसन्धान नभइरहेको स्वास्थ्य कर्मीहरूले आरोप लगाएका छन् ।
ग्रामीण भेगमा काम गरिरहेका स्वास्थ्यकर्मीहरू मारी रहँदा पनि सरकारी पक्षबाट बेवास्ता गर्ने गरेकाले आफूहरू सधैँ डर त्रासमा बस्नुपरेको उनीहरूको गुनासो छ । गत शनिबार झार्लाङका वरिष्ठ हेल्थ असिस्टेन धिरेन्द्र शर्माको रहस्यमय तरिकाले मृत्यु भएको थियो ।
उनको रहस्यमय ढङ्गबाट भएको मृत्युले स्वास्थ्यकर्मीहरू चिन्तित भएका छन् । आफ्नो पनि यस्तै किसिमले मृत्यु हुने हो कि भन्ने चिन्ता आफूहरूमा बढ्दै गएको विगत ९ वर्षदेखि धिरेन्द्रसँग झार्लाङमा काम गर्दै आएकी अनमी डालदेवी धरेलले डर मिश्रति स्वरमा भन्नुभयो, "धिरेन्द्रको जस्तै अवस्था अरू स्वास्थ्यकर्मीको पनि आगमी दिनमा नआउला भन्न सकिन्न ।"
जिल्लामा धिरेन्द्र शर्मा मात्र होइन गत साउन महिनामा सेमजोङ गाविसकी अनमी पुष्पकुमारी लामाको शङ्कास्पद रूपमा मृत्यु भएको थियो । स्वास्थ्यकर्मीहरू पुष्पकुमारीको पनि स्वभविक मृत्यु भएको नभइ हत्या भएको बताउँछन् ।
२०५९ सालमा री गाविसमा कार्यरत अहेव अभिनन्दन चौधरीको भीरबाट खसालेर हत्या गरिएको थियो । स्वास्थ्यकर्मीहरू मारिरहँदा सरकारले छानविन गरी दोषीलाई कारवाही गर्न नसकेको नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष विष्णुप्रसाद रिजालले बताउनुभयो ।
नागरिकमा स्वास्थ्य सेवा पुर्याउने नागरिककै असुरक्षा भइरहने र स्वास्थ्य सेवा पुर्याउनेहरू सरकारले सुरक्षा दिन नसक्ने हो र अपराधी पहिचान गरी कारवाही गर्न नसक्ने हो भने काम गर्ने वातावरण नहुने नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष रामप्रसाद सिलवालको भनाइ छ ।