काठमाडौँ, चैत ७ गते । मुलुकमा फागुन महिनाको अन्त्यसम्ममा दर्ता भएका एफएम रेडियोको सङ्ख्या ४२२ पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार तीमध्ये नियमित प्रसारणमा गएका एफएमको सङ्ख्या ३१७ रहेको छ । गएको फागुन महिनामा मात्र ११ वटा एफएमले प्रसारण अनुमति पाएका थिए ।
त्यसैगरी मुलुकभर सञ्चालनमा आएका टेलिभिजनहरूको सङ्ख्या ३७ पुगेको छ । फागुन महिनामा मात्र श्रीनगर टेलिभिजन पाल्पा, मिसन स्टार टेलिभिजन काभ्रे र नेपाल मण्डल टेलिभिजन ललितपुरलाई प्रसारण अनुमति दिइएको सञ्चार मन्त्रालयका सहायक प्रवक्ता हेमराज भुसालले जानकारी दिनुभयो ।
त्यसैगरी फागुन महिनासम्म केबल अपरेटरको सङ्ख्या ७३० पुगेको छ । प्रेस काउन्सिल नेपालबाट प्राप्त आर्थिक वर्ष २०६६/६७ को स्थगित पत्रपत्रिका वर्गीकरणको प्रतिवेदन स्वीकृत गरिएको पनि श्री भुसालले जानकारी दिनुभयो । रासस