अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
सम्पादकिय/विचार
 
हाउगुजी होइन एसएलसी
 

उच्च शिक्षाका लागि फलामेढोका मानिने एसएलसी परीक्षाको आज पहिलो दिन। आउँदो १६ गतेसम्म चल्ने यस परीक्षामा नियमिततर्फ दुईलाख २९ हजार ७५१ छात्र र दुई लाख १६ हजार २३३ छात्रा गरी कुल चारलाख ४६ हजार १६६ परीक्षार्थी सामेल हुँदैछन् भने एक्जाम्टेडतिर ३६ हजार ३४१ छात्र र ४५ हजार ९४२ छात्रासमेत जम्मा ८२ हजार ९१ परीक्षार्थी सामेल हुँदैछन्। परीक्षालाई व्यवस्थित, अनुशासित तथा मर्यादित बनाउन सक्दो जोड रहेको दाबी सम्बद्ध निकायको रहे पनि कार्यान्वयन तह नहेरी यसमा सही थाप्न मिल्दैन। विगत वर्षमा पनि परीक्षाका सम्बन्धमा यस्तै धारणा अभिव्यक्त नहुने गरेका होइनन् तर व्यावहारिक धरातलमा चाहिँ एसएलसी परीक्षाको मर्यादा बढ्ने काम नभएको यथार्थ सबैसामु खुलस्त छ।

अध्ययनरत जिल्लाबाहेक अन्यत्रबाट फाराम भर्ने प्रवृत्तिमा यसपालिदेखि रोक लगाइनुलाई भने सकारात्मक पक्ष मान्नुपर्छ। दुई ठाउँबाट फाराम भरी चलाखी गर्नखोज्ने परीक्षार्थीलाई एक ठाउँको मात्रै फाराम स्वीकृत गरेर सम्बन्धित निकायले सर्वथा उचित काम गरेको छ। एसएलसी परीक्षाको स्तर उकास्नुपर्ने माग जे जस्तो रहे पनि स्थिति नसप्रनाका पछाडि सरोकारी पक्ष नै बढी जिम्मेबार रहेका छन्। केन्द्राध्यक्ष, निरीक्षक तथा प्रहरीहरू परीक्षार्थीलाई चिट चोराउन सक्रिय रहेका विगतका घटना यतिखेर अविस्मरणीय बनेका छन्। केन्द्राध्यक्ष तथा निरीक्षक बन्न र बनाउन पोहोर साल चलेको राजनीतिक खेल पनि घृणित रूपमा जनसामु आएकै हो। कतिपय जिल्लामा आˆना छोराछोरीलाई चिट चोराउन अभिभावक वर्गले देखाएको नौटङ्की पनि सुखद विषय बनेका छैनन्।

जसरी हुन्छ, आˆना विद्यार्थीलाई नक्कल गराउने, उच्चश्रेणी दिलाउन अनुकूल वातावरण सिर्जना गर्ने र यसका निम्ति राजनीतिक, प्रशासनिक दबाबसमेत दिन नचुक्ने परिपाटी निन्दनीय हो, त्याज्य हो। एसएलसी परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक आदिलाई आर्थिक प्रलोभनमा पारेर दुनो सोझ्याउने परम्परा पनि दुःखदायी छन्। यस्ता तमाम विसङ्गति, विकृतिले के कति टाउको उठाउने हुन् ? यसैको विश्लेषणमा चालु एसएलसीको सटीक मूल्याङ्कन हुनसक्नेछ। एसएलसी परीक्षालाई अनावश्यक हाउगुजी बनाउने सिलसिलाले विद्यार्थी सकसमा पर्न विवश छन्। जे जसरी भए पनि क्षमताभन्दा बढी अङ्क ल्याउन दबाब दिने अभिभावकका चालाले नैराश्यको खाडलमा डुब्नमात्र होइन, विद्यार्थीलाई अवाञ्छनीय परिणतिमा पुग्नसमेत बाध्य पारिएका दारूण उदाहरण अनेक छन्। सर्वोत्कृष्टताको भूतले विद्यार्थी, विद्यालय तथा अभिभावकलाई नराम्ररी अँचेट्दै लगेको छ। समय छँदै यसको उपचार गरिनु बुद्धिमानी हुनेछ। एसएलसी परीक्षाको स्तरोन्नतिका लागि परीक्षण, मूल्याङ्कन निकै कडा हुनुपर्ने, नतिजा न्यून हुनुपर्ने जस्ता परम्परागत धारणा एकातिर रहेकै छन् भने अर्कोतिर यसलाई अन्य परीक्षासरह सामान्य हिसाबमा लिनुपर्ने दृष्टिकोण पनि छ। कक्षा १० को एसएलसी परीक्षालाई सामयिकताका सन्दर्भमा अनुपयुक्त ठहर्‍याउँदै १२ को परीक्षालाई एसएलसी बनाइनुपर्ने अभिमत पनि कमजोर छैन। कक्षा १० को परीक्षालाई सम्बद्ध विद्यालयले नै वा जिल्ला अथवा क्षेत्रीय स्तरबाट सञ्चालन गरी १२ को परीक्षालाई एसएलसीसरि मान्यता दिनु अन्तर्राष्ट्रिय परिपे्रक्ष्यमा पनि उचित हुनेछ। एसएलसी परीक्षाको चर्चा गर्दा यसको उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनका पक्ष पनि स्मरणीय छन्। उत्तरपुस्तिका परीक्षणमा हेलचेक्र्याइँ हुने अवस्था टिम्कनै दिन नहुनेमा कसैको विमति रहँदैन र नतिजा प्रकाशन पनि एक, डेढ महिनाभित्र हुने कटिबद्धता जरुरी छ। सुरुदेखि आवश्यक गाम्भीर्य, इमानदारी र सक्रियता अँगाल्ने हो भने लगभग एक महिनामा नतिजा निकाल्ने अभूतपूर्व काम पक्कै असम्भव होइन।

 
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home