वरिष्ठ कलाकार कालीदास श्रेष्ठ इस्वी सम्वत् १९२४ जुनमा काठमाडौँको वसन्तपुर झोछेँमा जन्मिनुभएको हो। उहाँको पिता स्वर्गीय गोविन्ददास श्रेष्ठ हो। उहाँलाई सानैदेखि चित्रकला बनाउने रहर थियो। उहाँकी माता मङ्गलकुमारी श्रेष्ठले छोराको चित्रकला सिक्ने रहरलाई सधैँ प्रोत्साहित गर्नुहुन्थ्यो। कलाकार श्रेष्ठले साहु बेखालाल जोशीकी छोरी कमलामाया जोशीसँग बिहे गर्नुभयो। उहाँका सात सन्तान -चार छोरी र तीन छोरा) छन्।
कलाकार श्रेष्ठले चित्रकलाको प्रारम्भिक शिक्षा त्यसबेलाका नामुद कलाकार मास्टर चतुररत्न उदासीसँग सिक्नुभयो। त्यसपछि उहाँका पिताले उहाँलाई १९९४ मा जुद्धकला पाठशालामा भर्ना गरिदिए। उहाँले जुद्धकला पाठशालामा मन लगाएर झन्डै ६ वर्षसम्म पढ्नुभयो र २००० मा कला कुशल परीक्षा उत्तीर्ण गर्नुभयो। त्यसपछि २००१ मा उहाँले कला प्रवीण परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभयो। कलाको ज्ञान हासिल गरिसकेपछि उहाँले सोही पाठशालामा कला शिक्षक भई काम गर्ने अवसर पनि पाउनुभयो। त्यसबेला उहाँको उमेर २१ मात्र थियो। उहाँले २००८ मा म्याटि्रक उत्तीर्ण गर्नुभयो। शिक्षण पेसामा लाग्दालाग्दै उहाँलाई कोलम्बो प्लानअन्तर्गत कला अध्ययन गर्न विद्यावृत्ति मिल्यो र सोहीअनुसार २०११ मा उहाँ भारतको मुम्बईस्थित सर जेजे स्कुल अफ आर्टस्मा भर्ना हुनुभयो। मुम्बईमा उहाँले झन्डै चार वर्ष बसेर कलामा डिप्लोमा उत्तीर्ण गरी काठमाडौँ फर्किनुभयो।
वास्तवमा वरिष्ठ कलाकार कालीदास श्रेष्ठलाई कला शिक्षण विधा र कला प्रस्फुटन विधामा काम गर्ने यथेष्ट अवसर प्राप्त भयो। जसका कारण उहाँ आज हामी सबैको आदरणीय एवम् अनुकरणीय हुनुभएको छ।
कला शिक्षण विधातर्फ घोत्लिएर अध्ययन गर्दा हामी तपसिलका कुरा उहाँको जीवनीमा पाउँछौँ ः
२००२ देखि २०१९ सम्म जुद्धकला पाठशालामा शिक्षण।
२०१९ देखि २०२४ सम्म सोही पाठशालामा इन्चार्ज शिक्षक भई काम गर्ने यसैबीच उहाँले जुद्धकला पाठशालालाई ललितकला महाविद्यालय बनाउने अभियान थाल्नुभयो। ललितकला विधा विकासका लागि यो एक ठूलो फड्को थियो। त्यसका लागि उहाँले त्रिभुवन विश्वविद्यालय खुबै धाउनुभयो। अन्ततोगत्वा उहाँकै प्रयासबाट २०२४ मा जुद्धकला पाठशाला ललितकला महाविद्यालयमा परिणत भयो। मेरो पहिलो सपना पूरा भएको क्षण सम्भि"mदा पनि आनन्द लाग्छ, उहाँ भन्नुहुन्छ।
र, तत्कालीन प्रशासकले उहाँलाई एक योग्य शिक्षक ठान्दै सोही महाविद्यालयको प्राध्यापक पदमा पदोन्नति गर्यो।
त्यसपछि २०३० देखि २०३६ सम्म उहाँलाई सोही क्याम्पसमा क्याम्पसप्रमुखका रूपमा नियुक्त गरिएको थियो। त्यतिबेला अघिको ललितकला महाविद्यालय ललितकला क्याम्पसमा परिवर्तन भइसकेको थियो। त्यसपछि उहाँ डिप्लोमा अर्थात् बीएसम्मको मान्यताका लागि त्रिभुवन विश्वविद्यालय प्रशासनसँग वार्ता, छलफल गर्न थाल्नुभयो र अन्त्यमा उहाँकै प्रयासबाट ललितकला क्याम्पसमा डिप्लोमा स्तरको पढाइ सुरु भयो। 'अब हाम्रा विद्यार्थीले एमएफए पनि नेपालमै पढ्न पाउने व्यवस्थाका लागि सबै एक भई लड्नुपर्छ,' उहाँले हाँस्दै भन्नुहुन्थ्यो।
अन्ततः उहाँ 'रिटायर्ड' भएरपछि पनि ललितकलाका विद्यार्थी, शिक्षकको संयुक्त प्रयासबाट गत वर्षदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला विभाग स्थापना भई एमएफएका पढाइसमेत सुरु भइसकेको छ। अब ललितकलाका विद्यार्थीले स्वदेशमै स्नातकोत्तरसम्मको पढाइ गर्न पाएकोमा उहाँ खुसी हुँदै भन्नुहुन्छ, 'बल्ल मेरो सपना पूरा भयो। अब मैले सन्तोषको सास फेर्ने भएको छु।'
वरिष्ठ कलाकार कालीदास श्रेष्ठले आˆनो जीवनको अधिकांश समय कला शिक्षण विकासमा खर्चिनुभयो। शिक्षाको उज्यालो प्रकाश फैलाउन महत्त्वपूर्ण समय खर्चिनुभएको हुँदा उहाँले चित्रगत सिर्जना त्यति गर्न पाउनु भएन।
त्यसो त उहाँ व्यक्तिचित्र बनाउन निपुण मानिनुहुन्छ। उहाँले समय-समयमा श्री ५ त्रिभुवन, महेन्द्र, महाराज जुद्धशमशेर, मोहनशमशेर, बबरशमशेर, सिंहशमशेरलगायत अन्य लब्ध प्रतिष्ठित व्यक्तिको पोटे्रट बनाउनुभयो। आज ती पोटे्रट राणाका दरबारहरूमा सुरक्षित छन्। उहाँको पोटे्रटगत विशेषता भनेको लालित्य नै हो। उहाँले बनाउनुभएका पोटे्रट हेर्दा बान्की मिलेको, रङ्गमा माधुर्य भएको पाइन्छ।
उहाँले बनाउनुभएको 'शुभराज्यभिषेक' नामक चित्रको संरचना, रङ्ग संयोजन, विषयगत अभिव्यक्ति, प्रकाश र छायाको सम्बन्ध र दुरान्तर आदि उल्लेखनीय भेटिन्छ। आज पनि उहाँको सो नरदेवी घरमा टाँगिएको छ।
उहाँले दृश्यचित्र, व्यक्तिचित्र, संरचनालाई यथार्थवादी, प्रभाववादी र अर्ध अमूर्त शैलीमा चित्र बनाउनुभएको छ। उहाँको बैठककोठामा शिव-पार्वतीलगायत अन्य देवदेवताका चित्र हेर्न पाइन्छ।
उहाँ तेल रङ्ग, जल रङ्ग, पेस्ट ल, कलश, मसी, चारकोलजस्ता जुनसुकै माध्यममा चित्र बनाउनुहुन्छ।
उहाँको पछिल्लो एकल चित्रकला प्रदर्शनी मिसोरीको रोला सहरका मेयरको निमन्त्रणामा इ.सं. २००२ अगस्ट २९ देखि ५ सेप्टेम्बरसम्म आयोजना भएको थियो। त्यसबेला उहाँ रोला सहर पुग्नुभएको थियो। जहाँ उहाँको भव्य सम्मान गरिएको थियो। संयुक्त राज्य अमेरिका रोला, मिसोरीका मेयर जोसेफ मोर्गनको निमन्त्रणापछि उहाँ स्वीडेन पुग्नु भई अर्को एकल कला प्रदर्शनी गर्नुभयो। स्वीडेन सेभनिस्क युनिफेम कमिटीकी अध्यक्ष श्रीमती आनालिना हेनारिकासानले स्वीडेनमा उहाँको सम्मान गर्नुभएको थियो।
'मुलुकमा कला क्याम्पस खुलेका छन्। एमएफए पढाइ हुँदै छ। कला एकेडेमी खुल्यो। कलाका सङघ्-संस्था खुले। तर पनि हाम्रो गुणस्तरीय प्रयास पूरा भएको छैन। राम्रोसँग विकास हुन अझ हामी सबै मिलेर लाग्नुपर्छ, यो मुलुक कलामय बनाउनुपर्छ,' उहाँ भन्नुहुन्छ।
दीर्घ जीवन कलामा समर्पित गर्नुभएका उहाँले महेन्द्र प्रज्ञा पुरस्कार, आजीवन सदस्य नेपाल प्रज्ञाप्रतिष्ठान, शुभराज्यभिषेक पदक, जनपद सेवा पदक, दीर्घसेवा पदक, नेपाल उद्योग प्रदर्शनीमा पुरस्कृत, ललितकला क्याम्पसबाट सम्मान, क्यानबाट अभिनन्दित, रक्तकाली टोल समितिबाट सम्मानित, म्युजिक विहेन्द्र द क्यानभासद्वारा सम्मानित, ललितकला समीक्षक समाजबाट कदरपत्र, लुनकरण गङ्गादेवी चौधरी कला साहित्य मन्दिरद्वारा सम्मानित भइसक्नुभएको छ ।