अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
शनिवार
 
समकालीन नेपाली सङ्गीत कता ?
प्रकाश सायमी
 

"म गाउँछु केवल जनताका लागि गाउँछु। जनताले मन पराउन्जेल म गाइरहन्छु।"

सन् १९९० को हाराहारीमा गायक एवम् सङ्गीतकार नारायणगोपालले एक हजार दुई सय दर्शक अट्ने प्रेक्षागृहमा भनेको यो कुरा आज २२ वर्षपछि पनि त्यत्तिकै शाश्वत छ, जति हिउँको चिसोपन वा घामको उज्यालो। गायक नारायणगोपालले आफ्ना जनता भनेर कुन पार्टी वा कुन वर्ग वा कुन जात भनेर उनले कहिले छुटाएनन्। उनले गाए, ती सबैका लागि जो नेपाली भाषामा गाइएको नेपाली बोलीको गीत वा गायन सुन्न चाहन्थे। नारायणगोपालको स्वरमा महाकवि देवकोटादेखि नोरदेन रुम्बासम्म त्यत्तिकै सहज र सरल रूपले, त्यत्तिकै सुमधुर र सुललित शैलीले गुञ्जिए र उनी जनजनका हृदयमा एकनाश बजिरहे। त्यो सौभाग्य धेरै कम नेपालीलाई मिल्यो। उनका समकालीन प्रेमध्वज प्रधान, बच्चुकैलाश, माणिकरत्न, अम्बर गुरुङ, तारादेवी, दिलमाया खाती, अरुणा लामाका गीत पनि नगुञ्जिने होइनन् तर नारायणगोपालका गीत त उनकै गति र शैलीमा गाएर स्थापित भएका कलाकारले पनि अझै गाउन छोडेका छैनन्।

न्ाारायणगोपालीय शैलीय गीत गाएर अग्रता पाएका गायकमा किरण प्रधान, ओम गुरुङ, रामकृष्ण ढकाल, उदय सोताङ, शैलेश सिंह, देवकुमार प्रधान, मनोज सेवा, सुरज थापा कायमै छन् भने आफ्ना सयौँ गीत रेकर्ड भइसक्दा पनि गायक रामकृष्ण ढकालले त अझै जीवन धान्नका लागि नारायणगोपालकै गीत गाइरहेको इतिहास छ, उनले हालैका दिन -गत फागुन ५ गते) पनि सिभिल महलमा स्वरसम्राट नारायणगोपालमा टि्रव्युट भनेर व्यापारिक प्रयोजनका निम्ति गाए। यो एउटा उदाहरणमात्र नभई जीवन्तताको सादर पक्ष हो।

न्ाारायणगोपालले गाएका गीत साहित्यिक हुन्छन्, शब्दमा उच्चाकर्षण हुन्छ, प्रेम र वियोगका भाव हुन्छन्, अनेकानेक लेबलका लेप लागे पनि वास्तवमा नारायणगोपालका गीत कालजयी हुनुमा उनको गायकीयमा समकालीकता स्वाद अपार हुन्छ, उनले सदैव समय, जीवन र त्यसको सामयिकतालाई महत्त्वसाथ गाएका छन्। उनको गायन र सङ्गीतमा समकालीन समय स्थिर हुन्छ।

चालीसौँ नाटक र दसवटा उपन्यास लेखिसकेका जर्मनेली चिन्तक हरमन बाहर्ले सयौँ वर्षअघि भनेका रहेछन्, ''अब हाम्रो जिम्मेवारी भनेको समकालीन हुनु हो।"

हरमन बाहर्ले भनेको यो कुरा विश्वका धेरै गायक-गायिकाले बीसौँ शताब्दीमा अवलम्बन गरेको पाइन्छ, ती चाहे बेलायतका जोन लेनन हुन् वा अमेरिकाका बब् डायलन्, क्यानडाका लियोनार्डो कोहेन हुन् वा ब्रायन आदम्स्। तिनले गाएका गीतलाई तिनको समयका तन्नेरीलाई जति युवापन लाग्थ्यो त्यति नै तिनको गीतसितै जन्मेका बालकलाई पनि युवा लाग्नु स्वाभाविकै हो।

यस वर्ष अमेरिकाको बेभेर्ली हिलटप होटलमा प्राणान्त भएकी अमेरिकी अश्वेत गायिका हि्वट्नी हृयुस्टनको एन्ड आई अलवेज लभ यु उनीभन्दा बीस वर्षपछि जन्मेकी गायिका जेनिफर हड्सनले गाउँदा गायिका हृयुस्टनसितै हलभरिका दर्शक एकसाथ उठेका थिए अनि ताली र आँसुले बर्सेका थिए .....श्रद्धेय गायिकामाथि। यो एउटा गीतको समकालिकतामाथिको सफल सङ्केत हो।

नारायणगोपाल, हि्वट्नी हृयुस्टन वा बिटल्सका जोन लेननले गाएका कुनै पनि गीतका शब्दमा अर्थ वा प्रसङ्ग केलाएर हेर्ने हो भने त्यो आजकै कुरा हुन जान्छ ... सावनको झरी बनी तिमी आऊ न होस् वा इम्याजिन देअर इज नो हेभेन। ब्लोइङ इन द विन्ड होस् वा केही मीठो बात गरौँ। तिनलाई मानवमनको कुरा गरेकै छन् तर झरनामा बसेर कल्पनाको गीत गाउने भावुकताले हाम्रा गीत मारिएका छन्।

धर्मराज थापाले गाएको नेपालीले माया मार्‍यो बरी लै वा अम्बर गुरुङले गाएको नौ लाख तारा उदायो आज पनि नेपाल र नेपाली ती जो-जहाँ भए पनि तिनकै लागि गाइएको भान हुन्छ तर आज वा अहिलेको समयमा गाइएका कैयन्् गीत न हिजोका थिए न भोलिका भएका छन्। गिनेचुनेर केही गायक-गायिकाले नयाँ र नौलो स्वादका गीत गाए पनि प्रायःले पाँच कारणले गाइरहेको पाइन्छ,

पहिलो कारण ः चर्चामा आउन वा सफलता हासिल गर्न केही चलनचल्तीका शब्दमा गाउने। कम समयमा छिटो ख्याति कमाएर पत्रपत्रिकाको आवरणमा छाउने र काँचको पर्दामा सजिनु मात्र भएको छ।

दोस्रो कारण ः आफ्नै दुःखलाई कारण वा माध्यम बनाएर मन सन्तोकका लागि गाउनु जसलाई सौखिया गायनभन्दा फरक रूपमा लिन सकिँदैन त्यसलाई पनि सङ्गीत बजारले गम्भीरतापूर्वक लिइदिएर अर्को सङ्कट देखापरेको छ।

तेस्रो कारण ः सामान्य भए पनि यो कारण अलि जटिल हुन पुगेको छ। केही सङ्गीत अध्ययन गरेका र बुझेकाले अग्रजकै सिको गरेर उनकै गम्भीर शैलीका गीत गाउने र भरसक्य त्यही बोझिलो गीतलाई समयको ठीक विपरीत रूपमा लाद्नेक्रम चलेको छ भने अर्कोतिर सङ्गीतको ज्ञानसम्म नभएका गायक-गायिकाले असही तरिकाले पहिलेका चलेका गीतलाई बाङ्गोटिङ्गो रूपान्तरण गरी 'कभर भर्सन' वा 'रिमिक्स' गाउने चलन प्रशस्त छ। जसमा अरुण थापा, दीपक खरेल, नारायणगोपाल, तारादेवीका गीत अचानोमा परेका छन्।

चौथो कारण ः नेपाली भाषा, संस्कृति र साहित्य केही होइन सबथोक पश्चिमा जगत्कै सही हो भन्ने धारणासाथ कानमा टप र आँखामा इयरिङ लगाएर नेपाङ्ग्रेजी शैलीमा अधुनातन शैलीमा गीत गाउने अनुकरणीय परम्पराले नेपाली सुगम सङ्गीत अपार सङ्कटमा परेको छ, यस्तो गीतले न हाम्रो भाव र भाषाको सम्बर्द्धन गर्छ न प्रतिस्पर्धामा हाम्रो गीत तिनको गणित र व्याकरणको अङ्क र अर्थको नजिक नै पुग्न सक्छ।

पाँचौँ कारण ः नेपाली सुगम सङ्गीतको बजारलाई पक्षाघात गर्ने अहिलेको प्रमुख पक्ष हो, समकालीन सङ्गीतको स्वाद नबुझेका निजी टेलिभिजन च्यानलहरू। जसले २५ हजार लिएर आओ म्युजिक भिडियो बनाओ भनेर सुरु गरेको 'प्रोजेक्ट'बाट आज पाँच लाख लिएर आउनोस् भन्न थालिसके। आज एउटा म्युजिक भिडिओ बनाउने रकमले दुईवटा अल्बम रेकर्ड हुन सक्ने यथातथ्य स्पष्ट भइसकेको छ र तिनकै बलबुतामा टीभी च्यानलमा छाउने लोभले कैयन् कलाकार गीत गाइरहेका पाइन्छन्।

उपर्युक्त कारण एक प्रसव वेदना भईकन पनि यस सङ्कटबाट पार लागेर टिकेका केही कलाकार अझै पनि सङ्गीत पेसामै छन् तर तीमध्ये अधिकांश विदेशमा गएर गानाबजाना र त्यसैबाट खाना-खजाना जुटाउन व्यस्त छन् भने कतिले सिङ्गापुर, मलेसिया, जापान, अमेरिका, अस्ट्रेलिया र क्यानडामा बसेर गाइरहे पनि आफ्नो बजार बनाउन सकेका छैनन्। ती केहीले आफ्नो स्वरलाई हिन्दी, पन्जावी र उर्दू भाषाका गीत गाएर बेचिरहेका छन् , विदेशकै बजारमा।

नेपाली कलाकारले जहाँ गएर गाए पनि उनका दर्शक वा श्रोता नेपाली नै रहेको पाइन्छ। र, नेपालीले नै उनको गीत सुन्ने र बुझ्ने आम भनाइ छ। उनले नेपालीमा गाएको गीत कुनै विदेशीले सुन्ने र 'फर्मायस' गर्ने गरेको इतिहास अद्यापि सुरु भएको पाइँदैन। किनकि दीप श्रेष्ठ, नारायणगोपाल, बच्चुकैलाश, दीपक खरेलका गीत सुनेर हुर्केका नेपाली सङ्गीतका अनुभावकले नेपाली भाव र भव्यतालाई प्रेमपूर्वक मनन गरेको त पाइन्छ तर पाकिस्तानी गायक नुसरत फतेह अली खान, मेहन्दी हसन, गुलाम अली वा भारतीय कलाकारले जस्तो विदेशी दर्शकलाई आफ्नो पहिचान दिन नेपाली कलाकारले सकेका छैनन्।

विदेशी दर्शक वा श्रोता परै जाओस्, नेपाली गायक कलाकारले नेपाली दर्शकसामु आफ्नै गीत गाएर उभिने अवसर कमै पाउँछन्, त्यसको प्रमुख कारण हो समकालिकताको सङ्कट। अहिलेका पुस्ताका गायक नेपालीहरू बसोबास गर्दै आएको विदेशी भूमिमा पुगेर कुनै कार्यक्रम वा 'कन्सर्ट' गरे भने आफ्नोभन्दा पनि पुराना कालजयी गीत गाउन बाध्य हुन्छन् जुन अहिलेका गायक-गायिकाको आफ्नो पहिचान गीत नुहुनु प्रमुख कारणमात्र नभई उनले गाउने गरेका गीतसित ती गीत सुन्ने दर्शक वा श्रोताको अतीत वा अस्तित्व गाँसिएको नपाइनु हो।

नेपालबाट विदेशमा गएर कार्यक्रम गर्दा आफ्नै गीत र आफ्नै स्वरमा उभिने मौका पाउने कमै गायकमध्ये दीप श्रेष्ठ पर्छन्, उनले हालैका दिनमा अस्ट्रेलियाको मेलबर्न, बि्रस्बर्न र सिड्नीमा आफ्नै गीत गाएर साप्ताहिक कार्यक्रम गरे। उनले तीस दशकको आफ्नो गीत बितेका कुराले केही चोट लाग्दादेखि भन्थी मेरी उनी मेरो पाइला नछेकिदिनू जस्ता गीत गाएर आफ्नो 'शो' धानेका छन् भने उनीपछि आएका गायक-गायिका आनी छोइङ डोल्मा, न्हृयु बज्राचार्य, उदय, मनिला, कर्णदास, नेपथ्यका अमृत गुरुङ, एम बराल, सपनाश्री, राजेशपायल राई, प्रशान्त तामाङ, अन्जु पन्तले कतिपय आफ्ना र कतिपय अग्रजका गीत गाएर धर्म निर्वाह गर्नुपरेको कुपित कथा छ।

तर गीत नबुझिने, भाषाले पर हुने वा समयको मागअनुसार फरक हुने कदापि होइन। नभए नेपालमा गजल परम्परा भित्र्याउने पाकिस्तानका ख्यातिप्राप्त गजल गायक मेहन्दी हसनको एकल साँझ काठमान्डूको प्रज्ञाप्रतिष्ठानमा कसरी तीन हप्तासम्म सफलतापूर्वक सम्पन्न हुन सक्थ्यो

त ? कसरी गुलाम अली, अनुप जलोटा यहाँ घरिघरि हिन्दी र उर्दूका गजल, गीत नज्म प्रस्तुत गर्न आउन सक्थे त ? एउटा शुभजन्मोत्वस गोल्ड कप गर्दा हल भर्न हम्मेहम्मे पर्ने नसकिने दशरथ रङ्गशालाको हल कसरी क्यानेडेली गायक ब्रायन आदम्स्ले अङ्ग्रेजी गीत गाएर भर्न सक्थे त ? कसरी जापानी साङ्गीतिक समूहले दशरथ रङ्गशालाको 'स्टेडियम'लाई तीसको दशकमै उचाल्नेगरी नै भर्न सक्थे त ?

त्यो सम्भव छ तर हाम्रा गायक-गायिकामा वा हाम्रो सङ्गीत संरचनामा समकालिकताको भाव र स्वभाव हुन जरुरी छ। पुरस्कार र वाहवाहीका लागि, पार्टी र झन्डाका लागि मात्र नभई उसको स्वर स्वरसम्राट नारायणगोपालले भनेझैँ जनजनको हृदयका लागि नै हुन जरुरी छ। तर, हिजोआज एउटा गीत गाउनु भनेको एउटा अल्बम निकाल्नु अनि एउटा चलेको टेलिभिजनका 'भीजे'लाई लिएर म्युजिक भिडिओ बनाउनु र एक वर्षको कन्ट्रयाक्टमा मञ्चस्थ हुनुमात्र भएको छ त्यसपछि त्यो गायक वा गायिकाको नामोनिशान हुँदैन। त्यो चाहे भीम तुलाधर होस् वा नवीन के भट्टराई, निलञ्जना भट्टाचार्य होस् वा सुनील उप्रेती, राजु लामा होस् वा इन्दिरा जोशी। पाँच वर्षपछि उनको नाम लियो भने श्रोता झुक्किनेछन्, यो खेलाडीको नाउँ हो कि गायकको भन्नै सक्दैनन्। यस द्विविधाबाट उठ्न अब एकपटक नेपाली सङ्गीतकर्मीले सच्चा हृदयले सङ्गीत सृजना गर्नुपर्छ।

त्यो सङ्गीत मन, वचन र कर्मले अनि हृदयले धुनबद्ध हुनुपर्छ जसले नेपालीपनको पहिचान दिन र समकालिकताको आभास दिन सक्नेछ। कवि डायलन थोमसले भनेझैँ, एउटा सुन्दर बिहानको कल्पना गर्ने बेला अब भइसकेको छ।

गीत अब भिडिओ 'प्रोजेक्ट' नभएर साँचो अर्थमा 'म्युजिक प्रोजेक्ट' हुन जरुरी छ।á

 

 
अन्य शीर्षक
.
.
सहज छैनन् अगाडिका बाटा
सशक्त कविको अवशान
रोग निदानमा 'रिमोट सेन्सिङ'
दुःख पाइयो, बढी जान्ने भएर
'टिकीटाका'मा जमेको स्पेन
.
जङ्गल नमासिकनैपनि आम्दानी
लौराले नापिन्छन् वर-वधु

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home