काठमाडौँ, फागुन २ गते। प्रगतिशील लेखक सङ्घ तथा अखिल नेपाल लेखक सङ्घका अध्यक्ष घनश्याम ढकालको पशुपतिस्थित आर्यघाटमा मङ्गलबार अन्येष्टि गरियो। क्रमभङ्ग द्वैमासिकका सम्पादकसमेत रहनुभएका ढकालको निधनमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दल र सङ्घसंस्थाले गहिरो शोक प्रकट गरेका छन्।
मङ्गलबार एकीकृत नेकपा -माओवादी) मुख्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ उपाध्यक्ष मोहन वैद्य 'किरण', अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, प्रगतिशील लेखक सङ्घका महासचिव तथा सांसद गोपाल ठाकुरलगायतले ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो। ढकालको निधनप्रति शोक मन्तव्य व्यक्त गर्दै अध्यक्ष प्रचण्डले ढकाल वामपन्थी आन्दोलनका एक प्रेरणादायी व्यक्तित्व भएको र उहाँको सपनालाई पूरा गर्न पार्टी प्रतिबद्ध छ भन्नुभयो।
जनयुद्धमा सहिद हुनुभएका विजय ढकालका पिता घनश्याम ढकालको मृत्युले पार्टीमा अपूरणीय क्षति पुगेको बताउँदै अध्यक्ष प्रचण्डले अधूरा कृतिलाई पार्टीले प्रकाशन गर्ने बताउनुभयो। यसैबीच, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रेस विज्ञप्ति प्रकाशित गर्दै स्वर्गीय ढकालप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले ढकाल प्र्रख्यात साहित्यकार मात्र नभएर वामपन्थी आन्दोलनका अगुवा भएको उल्लेख गर्दै नेपाल सरकारले उहाँको योगदानको कदर गर्ने जनाउनुभएको छ। साथै, प्रधानमन्त्रीले शोकाकुल परिवारमा समेदवना व्यक्त गर्नुभएको छ।
त्यसैगरी, एनेकपा -माओवादी)का अध्यक्ष प्रचण्डद्वारा जारी गरिएको विज्ञप्तिमा '२०३१ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध रहेका ढकाल सार्वहारा सांस्कृतिक आन्दोलनका प्रतिबद्ध इमानदार तथा सक्रिय अगुवा स्रष्टा एवं सङ्घर्षशील व्यक्तित्व भएको उल्लेख छ। यसैगरी, नेकपा -एमाले)का सचिव युवराज ज्ञवालीले पार्टीको तर्फबाट शोक वक्तव्य प्रकाशित गर्दै स्रष्टा ढकालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।
यस्तै, इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्यसचिव डा. ताराकान्त पाण्डेयले ढकालको अप्रत्याशित एवं असामयिक निधनले प्रतिष्ठानलाई स्तब्ध तुल्याएको बताउनुभएको छ। स्वर्गीय ढकालको सोमबार प्रदर्शनीमार्गमा मोटरसाइकलले ठक्कर दिँदा निधन भएको थियो।