गुलावी सहर जयपुर तुरेर दिल्ली र्फकने हतारसँगै पाकेटमारा र छलीको अधिक पिछाप्रति होसियारी अपनाउँदै थियौँ। दिल्लीस्थित नाट्रास संस्थाको सौजन्यमा हामी चार नेपालीलाई यो घुमफिरको साइत जुरेको थियो। आरामदायी पर्यटक बसद्वारा फिर्ने चाहनाप्रति निधारमा गाँठो पारेर असहमत प्रकट गर्दै थिए सारथी मखनलाल। हाम्रो सामूहिक इच्छासामु जोर-जोलुम नचलेर बाध्य भई पर्यटक बसको प्रतीक्षामा लागेँ। आतेजाते सम्पूर्ण खर्च उनको जिम्मा भएकाले सारथीकै पिछा गर्दै दौडियौँ हामी पनि।
हस्याङफस्याङ बुर्कुचिदा झोलाको तुना खुस्केर म अल्मलिएँ। हेक्कै नगरी अन्तरकुन्तर हुँदै साथीहरू अगाडि बढे। दर्जनौँ ठूला सहर जोड्ने व्यस्त स्टेसन पार्कको होसै भएन। गन्जागोल भीडभाडको जङ्गलतुल्य माहोलबाट लामो दूरीका सवारीले गन्तव्य रुट लिने र र्फकनेक्रमको व्यस्त माहोलप्रति साथीहरू कुना पसेछन्। पिरोलोको कारक तत्त्व न्यून आर्थिक अवस्था थियो तत्काल। पकेट टक्टकाएर सम्भव भएसम्मको सामान खरिद गरिएको थियो। गर्मीको मारले शरीर भवाएको थियो र विछोडको पीडाले दिमाग आक्रान्त थियो। घाम डुब्न आँटेको क्षणमा तनावग्रस्त दिमाग सेपी-सैपाल समुद्रसरह फनफनी नाच्यो।
घरी एक्लै भुतभुतिएँ, दिग्दारिएँ र भुनभुनाएँ आफ्नै दिमागसँग। विदेशी बिरानो बस्तीमा कौडीविहीन बनेर यसरी छलिँदाको अनुभवलाई जीवनमा आइपर्ने आकस्मिक आनन्द उत्सवकै रूपमा स्विकारँे। फलामे सिक्रीमा बाँधिएको दाससरह बनेर भौँतारिन सुरु गरेँ। हेक्कै नगरी छलिएर कुना पसेको साथीप्रति औँला ठडाउने अधिकारबाट म चुकिसकेको थिएँ। सावधानीपूर्वक पिछा गर्न नसक्नु आफ्नै लाचारी र लोसेपनको परिणाम थियो। ... देवकोटाले त्यसै भनेका छैनन् मुनामदनमा,
" सर्पको मुखमा विषको थैला इखको तीखो फल
मानिसभित्र झन् हुन्छ कालो मनमा हलाहल .. राजै मनमा ..."
डायरी टिपोटमा दिल्लीदेखि नै ममाथि साथीहरूद्वारा उपहासजन्य शब्द वाणको झरी वषर्ा भइरहन्थ्यो। त्यही अर्घेल्याइँको परिणति नै यसरी लघारिनुको संयोग बन्यो। आफू भने फूलको आँखामा फूलै संसार ...सबैप्रति सकारात्मक समदर्शिता ...। छलिएर तर्की-तर्की हल्का आँकलनको सिकार बनेका कटुवाक्य घटना मेरा लागि ब्रेकफास्ट बनिसकेका थिए। विदेशी भूमिमा दोष पाउनु, दोषी बन्नु र दपेटिनु मेरो जीवनको अतिरिक्त कमाइ थियो। छलिएर घिर्लिङघाट बनेको अपर्झट माहोलले नचाहँदा-नचाहँदै पनि एकाएक उत्तेजना फैलायो।
एक्लै रिसाउँदै झनक्क झन्किएँ। सनक्क-सनक्क सन्किएँ.. एकाएक झोलिएको पीडाबोध दिमागमा, त्यति म कराएँ, पश्चाताप र आत्मग्लानी गरँे। जति...। हुन पनि हो, एउटाले जति गुमाउँछ, प्राप्त गर्नेले अतिरिक्त त्यति नै कमाउँछ। आर्किमिडिजको पानी विस्थापित सिद्धान्त पनि त्यही नै हो। संसारभरि एक नेपाली अर्कोमाथि हल्का आँकलन गर्ने संस्कार बिगबिगी भएकाले यो विडम्बना सहजै स्विकारँे। दुःखमा हरेश नखानु, सुखमा बढी नउम्लिनुको अर्थ किंवदन्तीमा भाँैतारिँदै प्रहरी बिटमा जाहेर गर्न पुगेँ। हराउँदाको क्षण उज्यालो कुर्लुप्प निलेको कहालिलाग्दो लामो रातसरह बन्यो।
प्रहरी निरीक्षकको कस्तो सौम्य व्यवहार जयपुरमा । दुःखको आत्मज्ञान चिन्न सक्ने धन्य प्रहरी निरीक्षकको चमत्कारयुक्त मनोविज्ञान... । एक्लो छटपटीको घनचक्करमा रन्फनिएको दिमागमा त्यो आश्वासनले शीतलता छर्कियो। सारथी मखनलालको मोबाइलमा पटक-पटक फोन लगाउँदा शून्यतामात्र ...। झ्वाट्ट दिमागमा याद आयो, दिल्लीस्थित तालिम सहसंयोजक शिवरामको ...। डायरी पल्टाउँदै फोन लगाएँ।
झ्यालको पर्दा उघारेर यताउति चियाउँदा हतार-हतारमा टुप्लुक्क झुल्किए उदासीन अनुहारमा सारथी मखनलाल प्रहरी प्राङ्गणमा। सायद दिल्लीबाटै शिवरामको पेचिलो हप्काइ पो थियो कि ? मखनलालको अर्घेल्याईं सचेत गराउने। प्रहरी निरीक्षकसँग नम्र शब्दले कुरो टुङ्ग्याएर मलाई डोर्याउँदै टाप कसेँ। दुःखको क्षणमा सहानुभूति राख्ने सुखमा धाप मार्नेभन्दा उत्तम साथी हो। मैले हात हल्लाएर प्रहरीबाट बिदा हुँदा ढक्क मुटु फुल्यो। ललाकलुलुक बनेको मेरो अर्थ अभावमा रातको बास गाँसको विश्वास ग्यारेन्टी दिएको प्रहरी निरीक्षक तत्कालीन एकान्तमय भ्रान्तिमा देव अवतार भगवान् थिए। दिल्लीका लागि छुट्ने सुर कसेको बसमा अकस्मात् मलाई देखेर ..... दाँत देखाए सहयात्री साथीले।
हल्का मूल्याङ्कन गल्तीले कस्सो विछोड दुर्घटना ननिम्तिएको भन्दै रहस्यलाई उदाङ््ग गरे पुनर्मिलनपछि। फोस्रो सौम्य हार्दिकता देखाउने मित्रको आवाज फिक्का बन्यो। महात्मा गान्धीको द. अपि|mका यात्राको निर्वासित अनुभव वृत्तान्त उनी हराउँदासरहको सङ्कटबाट छुट्कारा दिलाइदिने देव औतारी शिवराम ......। एउटा भाइको विपत विचल्लीमा त्यत्रो हर्षोल्लास ? धन्य नेपाली सङ्कीर्ण मनोदशा ?
सबैको जय होस्। मेरो कमजोर शिथिल ग्रहदशामाथि चाकाचुली मार्नेको जय होस्। चिसो मनको जय होस्। हुन त असामान्य विधारानी चिनारी समयअनुसार फरक हुन्छ। सज्जनले त सावधानीपूर्वक होसियारी अपनाउने मात्र हो। मभित्र एकाएक झुल्किएको निर्मल पवित्र ज्ञानको उदयले त्यस्ता विस्मयकारी सोचाइबाट मलाई टाढा पुर्यायो। एक्लो आवेश स्वयम् आत्मामै थेगियो। प्रहरी सम्पर्कमार्फत सुखद अवस्थामा फकर्ंदा संसारको आगोले लपेटेर जलेको मनमा राहतको मलमपट्टी बन्यो। दीप आफँै जलेर अन्धकार भगाउँछ- डुब्नेलाई सिन्कोको सहारासरह शिवरामको फोन सम्पर्क सदासयता बन्यो तत्काल।
प्रवासको बिपतमा घरवासको मानचित्रले आकर्षण गर्यो। बासनादार नेपाली मृतिकाको गन्ध जब मनभित्र हर्हरायो, सङ्कट दुःखमा जन्मभूमि, जन्म दिने माता एवम् पीयूस रस चुस्ने मृतिकाले कत्तिको चिमोट्दोरहेछ भन्ने होस खुल्यो। अरूको दुःखमा आगो ताप्ने चटकीबाट रमिते बनेर दुरासय सँाच्नेप्रति तीनछक पर्दै झस्किएँ म। एउटा भाइ बिपतमा जाकिँदा अर्कोलाई रमिताको जलेशासरह कस्तो ईश्वरको लीला पनि ?
अरूको निरापराधमा जानी-जानी दुर्गन्धको पाइन मैले कहिल्यै चढाइनँ। हल्का सम्झौतामा स्वाभिमानको शिर निहुराइनँ। आत्मविश्वासको चम्किलो धारमा अहङ्कारको जलपले
रङ्गाइनँ। आनन्ददायी क्षणिक उन्मादमा उम्लिएर कहिल्यै पोखिइनँ। सत्यतालाई कुल्चिने चुरिफुरीमा घातक परिणामको धृष्टता साँचिनँ। प्रवासमा केहीबेर म छलिनु भविष्यविहीन अन्धकारका छिर्केमिर्के टाटाले मलाई विरूप बनाउनु हो। सुरु विछोडमा हतासको आँधीबेहरीले एकाएक लपेट्दै झम्टियो। सही मार्गको पहिचान र सकारात्मक सोचप्रति दह्रो आत्मबल मभित्र तल्लीन थियो। यसैले क्रोध आवेगको ज्वाला दन्काउनु अर्थहीन समय थियो। समयको महत्त्व बुझेर नै आफूभित्रको धिपधिपे बत्तीलाई बडो जतनले सम्हाल्नुमै कल्याण देखेँ।
वास्तवमा दुःख, पीडा बोक्ने होइन, पोख्ने हो। हराउँदाको अभ्यस्त अनुभव संस्मरणीय अक्षरमा उजागर गर्नुमा महत्त्व थियो। जयपुर राजस्थानमा छलिएर बिचरा बनेको देखेर नै होला, दिल्ली र्फकंदा कर्मचारी मखनलालले आमनेसामने सिटसँगै दर्शाए आत्मीयता पनि। यस्ता विकृतिजन्य व्यवहारले कसैको भलो गर्दैन। म छलिएर जयपुरमा हराउँदा भोगेको पीडा अन्य नेपाली सहयात्रीलाई देश-देशान्तर घुमफिर गर्दा पुनः कहिल्यै पनि भोग्न नपरोस्।á